पूर्वक्रिकेटर गौचन भन्छन्– ‘धेरै उत्साहित नबनौँ, सम्हालिएर खेले सुखद नतिजा आउनेछ’

 चैत २, २०७९ बिहिबार ८:२७:१० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – पछिल्लो समय नेपाली राष्ट्रिय क्रिकेट टोलीले उत्कृष्ट नतिजा हात पारिरहेको छ । नेपालले पछिल्लो समय खेलेका ११ खेलमध्ये १० खेल जितेको छ भने एक खेलमा मात्रै हार बेहाेरेकाे छ । नेपालमा नै भएको आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्ड र नामिबियासँगको त्रिदेशीय एकदिवसीय शृङ्खला हाेस होस् वा यूएईमा भएको यूएई र पपुवा न्युगिनीसँगको खेल होस् । 

आज बिहीवार नेपालले लिग–२ काे अन्तिम खेलमा यूएईसँग खेल्दैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल जितेमा नेपालले टेस्ट राष्ट्रहरूसँग साेझै विश्व कप छनाेट खेल्न पाउनेछ । 

आजको खेलको बारेमा हामीले नेपाली राष्ट्रिय टिमका पूर्वखेलाडी शक्ति गौचनसँग यसै सन्दर्भमा केन्द्रित रहेर कुराकानी गरेका छौँ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा गौचनले नेपालले आजको खेलमा धेरै 'एक्साइटेड' हुनुपर्ने अवस्था नरहेको बताउनुभयो । उहाँले सम्हालिएको प्रदर्शन र विगतका खेलहरूलाई निरन्तरता दिए आज पनि नेपालले सुखद नतिजा निकाल्ने बताउनुभयो । उहाँले नेपाली टिम यति धेरै सफलताको शिखर चुम्न सक्नुमा प्रशिक्षक र खेलाडीहरूको मेहनतका साथै टाेलीमा पछिल्लो समय देखिएको एकता नै रहेको बताउनुभयो । उहाँले नेपालका खेलाडीहरूमा अनुभव पनि बढ्दै जाँदा नतिजा सोचेअनुसार नै आएको र प्रशिक्षक र कप्तानको योजना सफल बनिरहेको पनि बताउनुभयो । पूर्वक्रिकेटर गौचनले सुखद नतिजा निकाल्दै साेझै विश्व कप छनोट यात्रा तय गरेको अवस्थामा टी–२० पछिको सबैभन्दा यादगार क्षण हुने बताउनुभयो । 

पछिल्ला खेलमा नेपालले निकालेका सफलतालाई कसरी लिनुभएको छ ?

नेपाली टोलीले पछिल्लो समय पाएको सफलता निकै सकारात्मक छ । यसअघि पनि खेल त्यस्तो बिग्रिसकेको भने थिएन । त्यो बीचमा टोलीमा समावेश भएको केही खेलाडीमा अनुभवको कमी थियो । त्याे अवस्था हामी अनुकुल थिएन ।  केही उतारचढाव टोलीमा हुन्छन् । अहिले सम्हालिएको छ । आज हुने लिग–२ काे ३६ औँ खेलमा खेलाडीले धेरै अनुभव बटुलिसकेका छन् । पछिल्लाे ११ खेल खेल्दा १० खेलमा जित हात पार्न सफल भएको छ । आज यूएईसँग हुने लिगको अन्तिम खेल ऐतिहासिक हुनेछ ।

पछिल्लो समय नेपाली टोलिले प्राप्त गरेको सफलताको रहस्य के हुनसक्छ ?

अहिले टोली एक भएको छ । खेल्दा खेल्दा नयाँ खेलाडीले अनुभव बटुलिसकेका छन् । पछिल्लो १० खेलको नतिजाबाट खेलाडीमा अनुभव मिलेको देखियो । अहिलेको अवस्थामा नेपाली टोली नतिजा अनुकूल भइरहेको छ । अहिले जुन टोलीसँग खेले पनि नतिजा निक्लिन्छ भन्ने लागेको छ । यो अवस्था आउन खेलाडीको अथक मेहनत छ । खेलाडीले वर्षाैँदेखि हात पार्न गरेको मेहनत मैदानको खेलबाट देखिएको छ । सबै संयन्त्रबाट सही काम भएको अवस्थामा सफलता मिल्छ भन्ने यसबाट सन्देश मिलेको छ ।

यसअघि बलिङ पक्ष राम्रो भनिन्थ्यो तर अहिले अन्तिमसम्म पनि ब्याटिङ लाइन राम्रो देखिएको छ, पर्दापछाडिको रहस्य नयाँ प्रशिक्षक हुन् कि अन्य कुनै कारण पनि छन् ?

यो अवस्थामासम्म आइपुग्दा सबै विषय जोडिएका छन् । खेलाडीको मेहनत हुने नै भयो । अर्को भनेको अन्तर्राष्ट्रियस्तरमा ब्याटिङको अनुभव हो । कुनै पनि खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा मौका पाउनु नै सुधारका लागि अवसर हो । अहिले टिममा नयाँ जोस छ । नयाँ लक्ष्यका साथ टोली अगाडि बढिरहेको छ । टिमको एकमात्र लक्ष्य भनेको विश्व कप छनोटमा स्थान बनाउने रहेको छ । सँगै जोडिनुभएका प्रशिक्षक मोन्टी देसाई हुन् । उहाँसँग मैले ४/५ वटा भ्रमण गरेको छु । उहाँ ब्याटिङ प्रशिक्षक र कन्सल्टेन्टको रूपमा जोडिनुभएको थियो । त्यस क्रममा मैले धेरै नयाँ कुरा सिकेको छु । उहाँ निकै सजिले र सरल तरिकाले सिकाउने प्रशिक्षक हुनुहुन्छ । साथै उहाँले ठूला विषयलाई सहज तरिकाले सल्टाउनसक्ने क्षमता राख्नुहुन्छ । उहाँको यही खुबी नै अहिलेको टिममा परेको हो जस्तो लाग्छ । यस्तै–यस्तै विषयको सम्मिश्रणले गर्दा टोली लयमा देखिएको छ ।

नेपालले बिहीवार लिगकै अन्तिम खेल यूएईसँग खेल्दैछ, जुन निकै महत्त्वपूर्ण छ, यस खेलको अनुमान के छ ?

नेपालले बिहीवार यूएईसँग खेल्दै गर्दा म निकै उत्साहित छु । यो उत्साह मसहित सबै नेपालीलाई छ । उत्साहलाई खुसीयालीमा परिणत गर्न पाउँ भन्ने छ । सुखद नतिजा निकाल्दै छनोट यात्रा तय गरेको अवस्थामा टी–२० पछिको सबैभन्दा यादगार क्षण हुनेछ । यूएईसँगको खेलपछि नेपाली टोलीले समग्र नेपालीलाई खुसी अवश्य नै दिनेछ ।

टस कतिको महत्त्वपूर्ण हुनेछ ?

टस खासै महत्त्वपूर्ण हुँदैन । तर विकेटको हिसाबले महत्त्वपूर्ण हुनेछ । टस जिते राम्रो हुने हारे नराम्रो भन्ने हुँदैन । हामी जसरी भए पनि यो खेलमा सुखद नतिजा निकाल्ने हो । अहिलेको टोलीमा जोस र जाँगर छ । टोलीले लक्ष्य निर्धारण गरेको छ । जतिसक्दो राम्रो खेल्ने हो । योजनाबद्ध तरिकाले खेल्यौँ भने अवश्य नै नतिजा पोल्टामा पर्छ । रणनीतिअनुसार खेल्दा अपेक्षा गरिएको सफलता पाउनेछौँ ।

विपक्षी टोलीमाथि कस्तो रणनीति हुन्छ होला ?

कुनै पनि खेलमा विपक्षीसँग कस्तो खेल्ने भन्ने विषयमा टिम व्यवस्थापक, प्रशिक्षक र कप्तानले निर्धारण गरेको हुन्छ । बाहिर बसेर धेरै कुरामा टिप्पणी गर्न सक्छौँ । सबै विषयमा मूल्याङ्कन ड्रेसिङ रुममा भएको हुन्छ । अघिल्ला खेलमा प्राप्त नतिजाको आधारमा भन्नुपर्दा यूएईलाई अन्तिम खेलमा पराजित गर्न कठिन हुने छैन । सहज तरिकाले हामीले नतिजा निकाल्न सक्छौँ ।

समर्थक र खेलाडीलाई सुझाव के छ ?

जुन लयका साथ टोलीले खेलिरहेको छ त्यो लयलाई निरन्तरता दिन आग्रह गर्दछु । कप्तानले पनि राम्रो तरिकाले टोलीको नेतृत्व सम्हालिरहनुभएको छ । धेरै उत्साहित हुनेपर्ने अवस्था होइन । 'बल बाई बल' केन्द्रित रहेर खेल्दा नतिजा हाम्रै पक्षमा पर्छ । अघिल्ला खेलमा लिएको लयलाई निरन्तरता दिनु राम्रो हुन्छ ।

नोट : पूर्वक्रिकेटर गौचनसँग बुधवार गरिएकाे कुराकानीमा आधारित

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया