त्रिपालमुनि बस्दै आएका डोटीका भूकम्प प्रभावित चर्किएका घरमै फर्किए, त्रासले मूलढोका छेउमै ओछ्यान

 चैत २, २०७९ बिहिबार १०:१७:५६ | विमल बिष्ट
unn.prixa.net

डाेटी – पाँच महिनासम्म पालमुनि बसेका डोटीका भूकम्प प्रभावित चर्किएका घरमै फर्किन बाध्य भएका छन् । लामो समयसम्म पनि बसोवासका लागि कुनै विकल्प नबनेपछि उनीहरू चर्किएका घरमा नै फर्किन बाध्य भएका हुन् ।  

पूर्वीचौकी गाउँपालिका–३ माझगाउँका जंगबहादुर बोहराको घर भूकम्पका कारण चिराचिरा परेको छ । भूकम्पपछिका केही दिन पालमुनि बिताएको उहाँको परिवार अहिले त्यही घरमा जोखिम मोलेर बस्दै आएको छ । भूकम्पले त्रिपालमुनि चिसो रात बिताएका बोहरा परिवारजस्तै जिल्लाका अन्य भूकम्प पीडित अहिले पनि चर्किएको घरमा बस्न बाध्य भएका छन् ।

बाेहराले भन्नुभयो, ‘भूकम्प गएको एक/डेढ महिना घरभित्रै पस्न सकेनौँ, चिसा रात त्रिपालमुनि जसोतसो कटायौँ । चिसोका कारण बालबालिका, ज्येष्ठ नागरिक बिरामी हुन थाले । भूकम्प गएको पाँच महिना पुग्दा पनि त्रिपालबाहेकको कुनै विकल्प पाएनौँ र अहिले ज्यानको माया, डरत्रास त्यागेर चर्किएकै घरमा बस्न थालेका छौँ ।’

पूर्वीचौकी गाउँपालिका–३ कै पाडा गाउँ निवासी चन्द्रा बुढाको परिवार पनि त्रिपालको बास छाडेर अहिले भूकम्पले चिराचिरा पारेको जीर्ण घरमा बस्दै आएको छ । तीन/चार महिनासम्म त्रिपालमुनि बस्दा पनि अस्थायी टहराको समेत व्यवस्था हुन नसकेपछि त्रासैत्रासमा जीर्ण घरमा बस्नुपरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘भूकम्प आइहाल्यो भने भाग्न सजिलो होला भनेर घरको तल्लो तलामा ढोकामा सिरानी राखेर निदाउने गरेका छौँ ।’

डोटीमा गएको कात्तिक २२ र २३ गते गएको भूकम्पका कारण पाँच सयभन्दा धेरै घर पूर्णरूपमा क्षतिग्रस्त भएका थिए भने साढे चार हजार घर चर्किएका छन् । नेपाल रेडक्रसको तथ्याङ्कअनुसार सबैभन्दा बढी क्षति पूर्वीचौकी गाउँपालिकामा भएको छ । पूर्वीचौकीमा दुई हजार सात सयभन्दा बढी घरधुरी प्रभावित भएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले बताउनुभयो । तत्कालका लागि घरमा पूर्ण क्षति भएका र परिवार गुमाएकाका लागि टिनले बनेका अस्थायी टहरा निर्माण गरिए पनि पुनर्निर्माणको काम अगाडि बढ्न सकेको छैन ।

भूकम्प विज्ञले डोटी भूकम्पलाई खतराको घण्टीका रूपमा लिनुपर्ने बताउँदै आएका छन् । खानी तथा भूगर्भ विभागका पूर्वमहानिर्देशक सोमनाथ सापकोटाले पश्चिम नेपालमा लामो समयदेखि ठूलो भूकम्प नआएको र भारतीय प्लेटमा पर्ने सुदूरपश्चिम र आसपासको क्षेत्र भूकम्पको उच्च जोखिममा रहेको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया