राइनास नगरपालिकाको अभियान : अतिथिलाई दुना–टपरीमा स्थानीय परिकार

 चैत २, २०७९ बिहिबार १८:३६:२५ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – गएको शनिवार राइनास नगरपालिको एघारौँ नगरसभा सञ्चालन गर्यो । नगरसभामा आएका प्रमुख अतिथि, विशेष अतिथि लगायत सबै उपस्थित भएकाहरुलाई स्थानीय महिलाहरुले उत्पादन गरेका दुना टपरी र नगरक्षेत्रमा उत्पादित कोदोको परिकार, गुन्द्रुककाे अचार खाजाको रुपमा दिइयो । साथै अतिथिहरुलाई मायाको चिनोस्वरुप स्थानीय महिलाहरुले उत्पादन गरेका विभिन्न हस्तकलाका सामग्री प्रदान गरियो।

उद्देश्य थियो, स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरण । अहिले यस नगरपालिकाले आफ्ना विभिन्न सभा, समारोह, कार्यक्रममा स्थानीय रुपमै उत्पादित सामग्रीका साथै परिकारको उपयोगलाई जोड दिएको छ।

स्थानीय रुपमा सहजै उपलब्ध श्रोत–साधनको उपयोग गरी उत्पादनसँग स्थानीयलाई जोड्नुका साथै बजारीकरणमा समेत राइनास नगरपालिका अभियानकै रुपमा अघि बढेकोमा खुशी जनाउँदै यसले स्थानीयलाई स्वरोजगार बनाउन थप टेवा पुर्याएको नगरसभाका प्रमुख अतिथि, नेपाली कांग्रेसका लमजुङका सभापति एवं गण्डकी प्रदेश सभा सदस्य डा. टकराज गुरुङले खुशी व्यक्त गर्नुभयो ।

हराउँदै दुना टपरी   

पछिल्लो समय पातको दुना टपरी बनाउने, उपयोग गर्ने प्रचलन हराउँदै गएको र स्थानीय उत्पादनको परिकारको उपयोगमा पनि कमी आएकोमा सभा, समारोहमा दुना टपरी र स्थानीय परिकारलाई प्राथमिकतामा राख्नु सराहनीय कार्य भएको उहाँले उल्लेख गर्नुभयो ।

प्लाष्टिकका भाँडाको बढ्दो प्रयोगसँगै दुना टपरीको प्रयोग हराउँदै गएको छ । प्लाष्टिकजन्य वस्तुको प्रयोगलाई घटाउँदै हराउँदै गएको दुना टपरीको प्रयोगलाई बढाउन आफूहरुले प्रयास थालिएको राइनास नगरपालिको जनाएको छ ।

स्थानीय रुपमा उत्पादित दुना टपरीका साथै स्थानीय उत्पादनका परिकारको बजारीकणमा पनि सहयोग मिल्न थालेपछि दुना टपरी उत्पादन, बिक्रीमा हौसिएर लागि परेका छन् । यसैबाट स्थानीयले राम्रो आर्जन गरिरहेका छन् ।              

पूजा–आजा, बिहे, व्रतबन्ध, श्राद्ध लगायतका कुनै पनि शुभकार्यमा सालको पातको दुना, टपरीको प्रयोग गर्ने प्रचलन छ, नेपाली समाजमा । तर पछिल्लो समय दुना, टपरीको प्रयोग सहरबजारमा मात्र नभइ गाउँघरबाटै हराउँदै गएको छ ।  

प्लाष्टिकका भाँडाको बढ्दो प्रयोगले दुना, टपरीको प्रयोग हराउँदै गएको हो ।

दुना टपरीको प्रयोग बढाउँदै राइनास

तर लमजुङको राइनास नगरपालिकाले दुना टपरीको प्रयोग बढाउँदै प्लाष्टिकका सामग्रीलाई विस्थापन गर्ने अभियानको सुरुवात गरेको छ ।

अहिले राइनासका होटल, खाजा पसल लगायत विभिन्न सभा, समारोह, कार्यक्रममा पातको दुना टपरीको प्रयोग र स्थानीय उत्पादनका परिकारलाई विशेष प्राथमकिता दिइएको राइनास नगरपालिकाका मेयर खड्गबहादुर गुरुङले बताउनुभयो । अहिले राइनासमा विभिन्न समूहले पातका दुना टपरी उत्पादन गरिरहेका छन् ।

स्थानीय सहकारी र आमा समूहमार्फत् नगरपालिकाले अनुदानमा दुना टपरी बनाउने मेसिन उपलब्ध गराएको छ । महिलाहरुले फुर्सदको समयलाई उपयोग गरी सालको पातको लाफा गाँसेर बिक्री गरी राम्रो आर्जन गरिररहेका मिलिजुली महिला कृषक समूह, हर्राबोटकी अध्यक्ष विष्णुमाया धितालले बताउनुभयो । उहाँका अनुसार यस समूहमा ७ सय ७१ महिना आवद्ध छन् ।

दुना टपरी गाँसेरै राम्रो आम्दानी

‘फुर्सदको समयमा पातको लाफा गाँसेर बिक्रीबाट महिला दिदीबहिनीहरुले राम्रो आर्जन गरिरहनुभएको छ । दुना टपरी, उत्पादन, सङ्कलन र बजारीकरणमा पालिकाले सघाएको छ । यसले हामीहरुमा थप ऊर्जा थपिएको छ,’ उहाँले भन्नुभयो ।

गाउँघरमा सहजै पाइने कच्चा पदार्थको उपयोग गरी स्थानीयलाई स्वरोजगार बनाइ आयस्तरमा वृद्धि गर्नुका साथै नेपाली मौलिकतासँग गाँसिएको दुना टपरीको उपयोग बढाउने लक्ष्य, उद्देश्यका अनुसार नै यस अभियान अघि बढाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलले बताउनुभयो ।

स्थानीय उत्पादनको परिकारका साथै परम्परागत दुना टपरी तथा कपडाको झोला प्रयोगमा ल्याइ स्थानीयको आय–आर्जनसँगै वातावरण प्रदूषणमा समेत कमी आउने भएकाले यस कार्यलाई निरन्तरता दिइने नगरपालिको जनाएको छ ।

यसका साथै उत्पादनमा आधारित अनुदानको व्यवस्था, सिपलाई व्यावसायिकतामा रुपान्तरण गर्दै स्थानीयलाई स्वरोजगार बनाउने अभियानमा पनि राइनास नगरपालिका लागि परेको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया