क्रिकेट विकास गर्ने होडबाजीमा व्यस्त क्रिकेटको बल नचिन्ने क्या झुर नेता !

 चैत ५, २०७९ आइतबार १५:४२:४९ | मिलन तिमिल्सिना
unn.prixa.net

‘म क्रिकेट मैदान पुग्दा पनौती लाग्यो भनेर उफ्रने प्रतिक्रियावादीहरू कुन दुलोमा पसे ? लोदर लाग्यो भनेर डराउने प्रतिगमनकारीहरू कहाँ भागे ? मविरुद्ध खुबै नाराबाजी र छेडखानी गर्थ्याै नि, थाहा पायौ कसले जित्यो ? नेपालले जित्यो । मेरै कारणले नेपालको जित भयो । मने खेल्नु अगाडि मैले खेलाडी कामरेडसँग हात मिलाएको थिएँ, मैले मिलाएको त्यही हातले छक्का र चौका ठोक्यो । म छक्कापञ्जा हान्दै सत्तामा रमाउने, खेलाडी कामरेडहरू छक्का र चौका हान्दै मैदानमा रमाउने । बडो आनन्द भइरहेको छ’, दुई हातका बुढीऔँला रगड्दै गरेका प्रचण्डको अनुहारमा एकाएक चमक देखियो ।

‘हैन ए प्रचण्डजी निकै खुसी देखिनुहुन्छ, के भयो ?’, कालोटोपी मिलाउँदै देउवा आइपुगे ।

‘म कहिले पो दुःखी छु र देउवाजी ? तपाईँ नहुँदा ओलीजी हुनुहुन्छ, ओलीजी नहुँदा तपाईँ हुनुहुन्छ । यता नभए उता, उता नभए यता गरेर फलिफाप भइरहेको छ, यसै पनि खुसी छु । आज चाहिँ अझ बढ्ता खुसी नेपालले क्रिकेट जितेकोमा छु क्या’, प्रचण्डले कुम हल्लाए ।

‘त्यही त क्रिकेटमा जित्यो भन्छन्, आफू त बुझ्दा पनि बुझ्दिनँ’, देउवाले टाउको कन्याए ।

‘बुझ्न त म पनि कहाँ बुझ्छु र ? सहयोगी कामरेडहरूले बिहानै क्रिकेट हेर्न जानुपर्छ, जित्ने छाँट छ, हाम्रो कारण जित्यो भन्न पाइन्छ, जाउँ भने । अनि उनीहरूलाई अघिपछि लगाएर क्रिकेट मैदान पुगेर खेलाडीसँग हात मिलाएको थिएँ, जितेछन् पनि कामरेडहरूले । हाम्रा पार्टीका कतिपय कामरेडहरूले त यो प्रचण्डकै जित हो भनेका छन् । केही प्रतिक्रियावादीहरूले प्रचण्ड पुगेर पनौती लाग्यो, नेपालले हार्ने भयो पनि भन्दै थिए रे । लास्टाँ त जित्यो नि, प्रतिक्रियावादीहरूको केही जोर चलेन, आखिर हाम्रै जित भयो’, प्रचण्डले जुँगा मुसार्न थाल्दा ओली आइपुगे । 

त्यो त मेरो शुभकामनाले जितेको हो कामरेड । तपाईँ मैदानमा पुग्नु अगाडि नै मैले फेसबुकमा शुभकामना दिएको थिएँ । मैदानमा डल्ला समाउनुअघि केटाहरूले मेरो स्टाटस पढे, उत्साहित भए, बाको कामना पूरा गर्नका लागि पनि जित्नुपर्छ भन्ने अठोट लिए । मलाई सम्झँदै डल्ला फाल्दै गरे । लास्टाँ जिते, नेपाली हो नि ।

‘ए ओलीजी पनि आउनुभयो । तपाईँहरू दुवै जना धेरै बढ्ता हुने होइन है । क्रिकेट नबुझे पनि, शुभकामना नदिए पनि नेपालले जित्नुमा तपाईँहरूको भन्दा बढी योगदान मेरो छ’, देउवाले फेरि टोपी मिलाए । 

कसरी ?

खेलाडीलाई जित्नका लागि सबैभन्दा बढी हौसला कसले दिए ? दर्शकले । अनि दर्शक कहाँ बसेर खेल हेर्दै थिए भन्ने त थाहा पाउनुभयो होला नि ? रुखमा । अनि रुख कसको भनेर मैले भनिरहनु नपर्ला । कांग्रेसकै रुखमा बसेर दर्शकले खेलाडीको हौसला बढाए, अनि नेपालले खेल जित्यो ।

‘गर्ने, भन्ने हनुमान पगरी गुथ्ने ढेडु । रुख चढ्दैमा खेल जितिन्छ ? बाँदरले कहिल्यै खेल जितेको छ ? नचाहिने कुरा गर्नुहुन्छ । रुखका कारण हैन, घामका कारण नेपालले खेल जित्यो’, ओली बोले ।

‘जहाँ जे कुरामा पनि ठट्टा सुहाउँदैन क्या ओलीजी । देउवाजीले भनेको पनि ठिकै हो, रुखमा चढेका दर्शकका कारण पनि खेलाडीको हौसला थपियो’, प्रचण्डले देउवालाई समर्थन गरे ।

‘अनि घाम नअस्ताएर उज्यालो भइरहेको भए रेफ्रीले खेल छिटो सकाउँथे ? पूरै खेल भएको भए के हुन्थ्यो ? नेपालले नजित्न पनि सक्थ्यो । त्यो दिन मैले घामलाई छिटै मधुरो बनाइदिएँ । घाम मधुरो भएपछि डल्लो देखिएन । रेफ्रीले खेल छिटो सकाइदिए । अनि त्यो डकवर्थ एन्ड लुइस कि के त्यस्तै नियमले नेपालले खेल जित्यो । हुन त छक्कापञ्जा मात्रै गर्नेहरूलाई छक्का र चौकाको यस्तो नियम के थाहा होओस् । अब अर्को चोटि चाहिँ अँध्यारो हुने बेलासम्म पनि घाम देखाइरहने मेरो योजना छ । पूरै खेलेर नेपालले जित्यो भन्न पाइयोस् न’, ओलीले रेल र पानीजहाजका भन्दा पनि दह्रा गफ हाने ।

नचाहिने कुरा गर्नुहुन्छ । मैले लाइट राख्न भनिसकेँ । अब अँध्यारोमा त्यही लाइटका कारण पनि खेल जितिन्छ । तपाईँका घाम त यसै पनि मधुरो भइसक्यो । तपाईँले मधुरो पार्नै पर्दैन । घामको रापताप देउवाजी र मैले नि सकिसक्यौँ, अझै घाम देखाएर फूर्ति लाउनुहुन्छ !

ए प्रचण्डजी चुप लाग्नुहोस् न एकछिन । ओलीजी पनि बढ्ता नबोल्नुस् । घाम र लाइटले खेल जितिँदैन बुझ्नुभयो । खेल जित्न दर्शककै साथ चाहिन्छ, अनि बढीभन्दा बढी दर्शक बस्नका लागि त्यत्तिकै सङ्ख्यामा रुख थप्नुपर्छ । त्यसैले क्रिकेट मैदान वरपर धेरैभन्दा धेरै रुख रोप्ने मेरो योजना छ ।

‘देउवाजीले रुख रोपेपछि हाँगा फैलाउने जिम्मा त मेरो हो नि । ठिक छ मने तपाईँ रुख रोप्नुहोस्, म दर्शकहरूलाई बसेर हुटिङ गर्न मिल्नेगरी हाँगा फैलाइदिन्छु’, रुखको भविष्य देखेका प्रचण्डले आफ्नो पनि योगदान थप्न चाहे ।

‘हुटिङ त्यसै हुन्छ ? म सबै दर्शकलाई पुग्नेगरी घण्टी बाँड्छु । घण्टी बजाउँदै, हुटिङ गर्दै गरेपछि खेल सजिलै जितिन्छ’, देउवा र प्रचण्डको आडभरोसा खोजिरहेका रविले क्रिकेट विकासमा पनि गठबन्धनसँग मिसिने प्रस्ताव गरे ।

‘तपाईँहरूका बकम्फुसे योजनाले क्रिकेट खेलाडी चाहिँ त्यस्तै हो, केटाकेटी चाहिँ रमाउँछन् । क्रिकेटका लागि चाहेअनुसारको उज्यालो र अँध्यारो चाहिन्छ भन्ने कुरा उहिले ऋषिमुनिहरूकै पालामा पत्ता लागेको हो । त्यो उज्यालो र अँध्यारो बनाउने भूमिका घामसँग मात्रै हुन्छ र त्यो घाम हाम्रो भएकाले हाम्रै पार्टीको कारण क्रिकेटको विकास हुन्छ’, ओलीले छाती फुलाए ।

घाम हैन, रुख ।

हैन घाम,

हैन रुख.............।

त्यही बेला नजिकै खेलिरहेका केटाकेटीले फालेको क्रिकेट बल आइपुग्यो ।

‘हैन के को डल्लो हो यो ?’ ओलीले यसो नियाले ।

‘बम त होइन ?’ देउवा तर्सिए ।

‘बम यस्तो हुँदैन देउवाजी, ठूलो खालको कागतीजस्तो छ’, प्रचण्डले अलि परबाट नियाले ।

बल खोज्दै आएका केटाकेटी अर्थ न बर्थका परिभाषा गर्दै आत्मरतिमा रमाइरहेका शीर्ष नेताका कुरा सुनेर मुसुक्क मुस्कुराए । बल टिपे, अनि ‘क्रिकेटको बल पनि नचिन्ने क्या झुर नेता’ भन्दै मैदानतिर दगुरे ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया