१४ वर्षपछि नेविसङ्घले रेसुङ्गामा विरासत फर्कायो

 चैत ६, २०७९ सोमबार १९:४३:५० | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापतिमा नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) का पुनाराम घिमिरे निर्वाचित हुनुभएको छ । सदरमुकाम तम्घासमा रहेकाे क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्तबाट सभापतिका उम्मेदवार बन्नुभएका नवीन अर्याललाई पराजित गर्दै घिमिरे निर्वाचित हुनुभएकाे हो । 

सभापतिमा निर्वाचित घिमिरेले ३ सय ९५ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी अर्यालले २ सय ६८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत यमबहादुर थापाले जानकारी दिनुभयाे ।  

त्यसैगरी सचिवमा नेविसङ्घका सुदीप खत्री, कोषाध्यक्षमा यमुना सेन मुना र सदस्यहरूमा अनिष पन्थी, अनुप सुनार, एलिशा पाण्डे, किरण थापा र कमल कुँवर निर्वाचित हुनुभएकाे छ । रेसुङ्गा क्याम्पसको स्ववियु चुनावमा अनेरास्ववियु र अखिल–क्रान्तिकारीबीच तालमेल हुँदा नेविसङ्घ एक्लै चुनावी प्रतिस्पर्धामा थियाे ।  

रेसुङ्गा बहुमुखी क्याम्पसमा अध्ययनरत ७ सय ६१ जना विद्यार्थीमध्ये ६ सय ७१ जना मतदान प्रक्रियामा सहभागी भएका थिए । स्ववियु चुनावमा नेविसङ्घले १४ वर्षपछि रेसुङ्गामा आफ्नो विरासत फर्काएको हो । २०६५ साल अघिसम्म नेविसङ्घकाे एकलौटी किल्ला भनिएको रेसुङ्गामा एमाले र माओवादी निकट विद्यार्थीहरूको संयुक्त प्यानलले त्यस वर्ष किल्ला भत्काएको थियो । रेसुङ्गामा नेविसङ्घले यसअघि यसअघि स्ववियुले २०७३ सालमा सम्पन्न स्ववियु चुनावमा रेसुङ्गामा अनेरास्ववियुले सभापतिसहित जितेको थियो । तर यस पटक गठबन्धन गर्दा पनि अनेरास्ववियु पराजित भएको हो ।

स्ववियु चुनावमा जित हासिल गरेपछि नेविसङ्घले सोमवार सदरमुकाम तम्घासमा बाजागाजा र अबिर जात्रासहित खुसी साटासाट गर्दै विजय र्‍याली मनाएका छन् ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया