बाग्मती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिँदै, एमालेले सरकार छोड्दै

 चैत ८, २०७९ बुधबार ९:४३:५० | हरि हुमागाईं
unn.prixa.net

फाइल तस्बिर

मकवानपुर – बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदै हुनुहुन्छ । सरकारमा रहेको नेकपा एमालेले आजै सरकार छोड्ने तयारी गरेको छ ।

मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मत लिनुभन्दा अगाडि एमालेका चार जना मन्त्रीहरुले राजीनामा दिने तयारी गरिएको बुझिएको छ ।

आज दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकबाट मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम तय भए पनि केही ढिलो हुने सम्भावना छ । 

आजै विश्वासको मत लिने र आजै नेपाली कांग्रेसबाट एक जना भए पनि मन्त्री नियुक्त गर्ने तयारीसमेत भएको मुख्यमन्त्री जम्मकट्टेलले बताउनुभयो । 

मुख्यमन्त्रीलाई नेपाली कांग्रेस, एकिकृत समाजवादी, नेकपा माओवादी केन्द्र लगायतका दलहरुले विश्वासको मत दिनेछन् । सरकारको विपक्षमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी रहने छन् ।

बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले दाबी गर्दै आउनु भएको थियो ।

तर, मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिने तयारी गरेसँगै कांग्रेसले मुख्यमन्त्री पाउने सम्भावना कमजोर बनेको छ । बरु मन्त्री कसलाई पठाउने भन्ने छलफलमा कांग्रेस रहेको छ ।

नेपाली कांग्रेस बाग्मती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ र संसदीय दलका नेता लामा बीचमा मन्त्री कसलाई बनाउने भन्ने विवाद भएपछि संसदीय दलको बैठक नै काठमाण्डौमा केन्द्रीय नेताहरुको उपस्थितिमा राखेर मन्त्री तय गर्न लागिएको बुझिएको छ । 

तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले ६५ दिनमै दोस्रो पटक संसदबाट विश्वासको मत लिन लाग्नु भएको हो ।

गएको पुस २६ गते मन्त्रिपरिषद् गठन हुँदा एमाले, माओवादी केन्द्र र राप्रपाबीच बनेको समीकरण राष्ट्रपतिको चुनावसँगै भत्किएपछि राप्रपाले फागुन १३ गते शनिवार सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो ।

यसअघि मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभाका दुई तिहाइभन्दा बढी सांसदको विश्वासको मत पाउनु भएको थियो । उहाँलाई ६ दलका एक सय ५ जना सांसदले विश्वासको मत दिएका थिए ।

गएको पुस २५ गते पाँच दलका ७० जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेललाई नेमकिपाका तीन जना सांसदले भने विश्वासको मत दिएका थिएनन् ।

एक सय १० जना सांसद रहेको प्रदेश सभामा सामान्य बहुमतका लागि कम्तीमा ५६ जना सांसदको समर्थन आवश्यक पर्छ ।

प्रदेशमा सबैभन्दा ठूलो दल कांग्रेसका ३६, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १२, एकीकृत समाजवादीका सात, नेमकिपाका तीन र हाम्रो नेपाली पार्टीका दुई जना सांसद छन् ।

मुख्यमन्त्री जम्कट्टेललाई सत्ता गठबन्धनका तीन वटा दलका ६७ सांसदको समर्थन प्राप्त हुने देखिन्छ।

जम्कट्टेलले कांग्रेसका ३७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका सात र हाम्रो नेपाली पार्टीका दुई सांसदको समर्थन पाउने देखिन्छ ।

राप्रपाका १३, नेमकिपाका तीन र एमालेका २७ जना सांसद मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा रहने देखिन्छ ।
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया