पानीको संकट सुरु भइसकेको छ, समाधानको पहल स्थानीयस्तरबाटै हुनुपर्छ

 चैत ८, २०७९ बुधबार १२:२३:५५ | मधुकर उपाध्याय
unn.prixa.net

हामी पानीको संकटपूर्ण अवस्थामा जाँदैछौँ । गइसकेका छौँ भन्दा पनि हुन्छ । पानीको मूल सुकेर बस्तीहरु सरेका छन् । घरहरु विस्थापित भएका छन् । बालीनाली ध्वस्त भएका छन् । पानीको मूल सुकेको ठाउँमा गाउँ नै विस्थापित भएको छ । खासगरी पाँचथर, ताप्लेजुङका केही ठाउँमा मानिसहरु बसाईँ सरेर हिँडेका छन् । मुस्ताङको बसाईँ सराइको हामीले अन्तर्राष्ट्रियरुपमा छलफल गरिरहेका छौँ । हामीकहाँ पानीको संकट सुरु भइसकेको छ । तर, समुदायको मान्छेले जसरी ब्यहोरेका छन् नीतिगतरुपमा व्यवस्थापनको जिम्मा लिएका मान्छेले भने त्यसरी बुझ्न सकेका छैनन् ।

एक ठाउँको पानीलाई अर्को ठाउँमा धाराको पानीकोरुपमा लैजान थालेपछि हामीले विकल्पकोरुपमा प्रयोग गर्न थाल्यौँ । आफ्नो स्रोत बिग्रे पनि मूल सुके पनि विकल्प भन्ने भयो । तर, विकल्पले समस्या समाधान भएन । एउटा अमुक क्षेत्रको पानीको समस्या समाधान भएको देखिए पनि जुन ठाउँबाट पानी ल्याइन्छ त्यहाँको समस्या भने बढाएका छौँ हामीले । पानीको विकल्पभन्दा पनि भएको स्रोतलाई दीगोरुपमा कायम राख्ने हाम्रो प्रयास हुनुपर्थ्याे तर, त्यो भएन ।

अघिको उदाहरण दिइएका क्षेत्र पानी धेरै भएको क्षेत्र त होइन । तर, पछिल्लो समय चाँडै चाँडै परिवर्तन देखिन थाल्यो । तीन दशक अघिसम्म पनि पानीको मूल राम्रै थिए । कुवा, मूलले हाम्रो व्यवहार राम्रै चलेको थिए । तर, ती बिस्तारै सुक्दै गए । सुक्दै गएकोमा हाम्रो चासो भएन । पानी व्यवस्थापनका हाम्रा जति पनि कार्यक्रमहरु छन् त्यसले भएको ठाउँबाट पानी ल्याउनेमा नीति तथा कार्यक्रमहरु निर्देशित भए तर, मूलमा के भएको छ भन्नेमा कसैको चासो भएन । वातावरण विषयमा अध्यनन अध्यापन गर्ने संस्थाको पनि यो विषयमा चासो भएन ।

३०/३० वर्ष पानीको महत्वको बारेमा कुरा भयो । तर, पानीको मूल सुक्दै जाँदा मानिसलाई परेको प्रभाव, विस्थापित हुनु परेको, खेतीपाती नष्ट भएकोबारे चासो देखिएन । सफासुग्घरका चर्पी प्रयोग गर्न पानी नहुँदा पानीको संकटको कुरा त्यहीँबाट देखिएको थियो । तर, मूल सुकेको, पानी कम भएको हाम्रो कुनै पनि कार्यक्रम नीतिको चासोको विषय बनेको छैन । सन् २०१६ मा तथ्याङ्क विभागले एउटा जलवायु परिवर्तनले पानीमा के असर गर्यो भन्ने अध्ययन गरेको थियो । जसमा नेपालको पहाडी तथा उच्च पहाडी क्षेत्रको मूल कि सुकेको कि कम भएको भन्ने अध्ययनमा देखाएपछि अलकति चासो बढेको छ । तर, त्यसभन्दा अगाडि केही काम हुन सकेको छैन । 

स्थानीयस्तरमै समाधान

पानीको विषय भनेको स्थानीयस्तरमै समाधान गर्नुपर्ने विषय हो । हामीले त्यो गरेनौँ । काठमाण्डौमा पनि जनघनत्व बढेको, सरसफाइ बढेकोले यहाँको स्रोतले नपुगेपछि अन्यत्रको स्रोतबाट पानी ल्याउनुपर्ने कुरा आयो । तर, अन्यत्रबाट ल्याउँदा स्थानीय स्रोतको बेवास्ता हुने र त्यसमा पटक्कै ध्यान नजाने भयो । पहिले पहिले हामीकहाँ धेरै पोखरीहरु हुन्थे । धेरै ठाउँको नामाकरण नै पोखरीबाट भएका छन् । तर, पोखरीहरु मासिने क्रम भने विकासका कुरा अगाडि आएपछि २०१५/१६ सालदेखि भयो । पाइप जोडेर पानी घरमै आइसकेपछि पोखरी तथा मूलको बेवास्ता भयो किनकि भैँसी नुहाउन पनि आहालको जरुरत भएन पाइपले पानी हाल्दा भयो । त्यसपछि हाम्रो ध्यान स्थानीय स्रोतमा भएन।

वर्षा नै हाम्रो पानीको स्रोत हो । वर्षा भएपछि मूल पलाएर पानी आउने हो । वर्षा हुँदा विकेन्द्रितरुपमा थोपा थोपा पानी पर्छ । त्यसकारण यसको व्यवस्थापन पनि विकेन्द्रितरुपमा हुनुपर्छ भनेर मान्ने हो भने स्थानीय तहहरुमा नै गर्नुपर्यो । अबको २०/३० वर्षसम्म पनि पानीको संकट नहोस् भन्ने हो भने स्थानीय स्रोतहरुको अत्यधिक संरक्षण र परिचालन गर्ने नै हो । बाहिरबाटै ल्याएर परिपूर्ति गर्ने हो भने संकट झन बढ्छ, घट्दैन।

मूल संरक्षणको नाममा जहाँ पानी पलाएको छ त्यहाँ गएर सिमेन्ट लगाउने, फोहोर नजाओस भनेर तारबार लगाउनतिर हामी लाग्यौँ । पानी कहाँबाट आएको छ त्यसको दीगोपन कसरी हुन्छ भन्नेमा हाम्रो ध्यान पटक्कै गएन । स्थानीय, प्रदेश तथा सङ्घीय सरकार कसैले पनि यो विषयमा चासो, चिन्ता गरेको देखिएन । स्रोतमा पानी घटेको, मूल सुकेको विषयलाई हामीले कहिले पनि विषय नै मानेनौँ । यहाँ सुक्दा त्यहाँ र त्यहाँ सुक्दा अझ पर गयौँ । तर, किन सुक्यो भन्ने विषयमा भने हामी लागेनौँ ।

पाँचखाल उपत्यकामा रहेको झिगु खोलाले सिँचाइ, खेतपाती र तरकारी पनि प्रशस्त मात्रामा हुन्थ्यो । विगत २०/२५ वर्षदेखि त्यो खोला विस्तारै सुक्दै गएर अहिले पूरै सुकेको छ । वर्षामा पानी कम नपरे पनि खोलामा पानी किन सुक्यो भन्ने चासो भएन । अब मान्छेलाई यहाँ पानी सुके पनि रोशी अथवा दोलालघाटबाट ल्याउने भन्ने विकल्प होला । तर, खोला किन सुक्यो, खोला सुक्नुको अर्थ मूल त झन सुकिसकेको छ भन्ने विषयमा भने ध्यान गएन । यस विषयमा योजनाकारदेखि लिएर विज्ञसम्म गएर अध्ययन गरेका छन् । डकुमेन्ट्री बनेको छ । तर, गर्ने के भन्ने विषयमा हामी किन गएनौँ भन्दा हामी विकल्पतिर लाग्यौँ ।

पानीको स्रोत अथवा हामीले देख्ने ठाउँमा गएर पाइप जोड्दैमा, सिमेन्टको ट्याँकी बनाउँदैमा त्यसले केही फरक त पर्दैन तर, पानी त त्यहाँबाट नभएर विभिन्न अन्तरकुन्तरबाट आएको छ । ती अन्तरकुन्तरमा भने पानी आउने अवस्थामा के के परिवर्तन आयो यो कुरामा भने मुख्य जोड दिनुपर्छ । किन भित्रको पानी सुक्दै गयो भन्ने विषयमा चासो हुनुपर्ने हो । अहिले नेपालको पूर्वदेखि पश्चिमसम्म पहाडहरु सुकेको छ । खोक्रिएको छ । तराईमा पनि पहिले ३०/३५ फिटमा आउने पानी अहिले तीन/चार सय फिट तल गाइसक्यो भनेर पूर्वराष्ट्रपतिले भनेपछि चुरे संरक्षणको कुरा आएको थियो । त्यो पानी कहाँ गयो, हिजोको पानी आज कहाँ गयो भन्ने अध्ययनको वृहत विषय बनिसकेको छ ।

संयुक्त राष्ट्रसंघको छैटौँ लक्ष्यले सरसफाइ र शुद्ध पानीलाई जोड दिएको छ । यसका लागि छिटो छिटो काम गरेर सन् २०३० सम्म दीगो विकासको लक्ष्य हासिल गर्ने भन्ने छ । तर, हामी जुन हिसाबले काम गरिरहेका छौँ यस हिसाबले काम गरेर यो पूरा हुँदैन । स्रोत र निर्णयमा पहुँच नहुँदा विस्तारै पानीका कारण निमुखा गाउँलेहरु एउटा एउटा गर्दै बसाइँ सर्दैछन् किनकि घरमा दुई वटा बाख्रा पाल्नका लागि पनि पानी छैन । खाना पकाउन अनि केही लगाउन पानी छैन भन्ने ठाउँहरु थुप्रै भइसके हामीकहाँ ।

हाम्रा धेरै समुदाय मूल तथा साना सानो खोल्चीको पानीमा निर्भर छ । ग्रामीण खानेपानीदेखि सिँचाइ यस्तै पानीमा निर्भर छ । ठूला नदीहरुमा पानीको बहाव कम हुँदा विद्युत् उत्पादन वा सिँचाइमा असर गर्ला । तर, साना स्रोतहरुमा आएको पानीको कमीले पूर्वदेखि पश्चिमसम्मको समुदायलाई पानी नहुँदा हुने दुःखले गाँजिसकेको छ । हिजो खानेपानीको कुरा थियो अब सरसफाइ, गाईबस्तु सबैमा असर परेको छ । त्यति मात्र होइन मूलमा पानी सुक्नु भनेको प्रकृति नै सुक्नु हो । घाँसपात पनि सुक्यो । यसले चरिचरणमा फरक पर्यो । यसले वन्यजन्तुको संरक्षित क्षेत्रमा पनि पानी कम भएका कारण वन्यजन्तुले बर्दिया, चितवनमा पानी खान नपाएका कुरा पनि हामी पढिरहेका छौँ । पानीको कमी अब खानेपानीमा मात्र नभएर यसले छोएको सबै जल चराचर सबैलाई छोइसकेको छ ।

मूल सुक्नु वनजंगलको कमी मात्र होइन  

पहिले हामीलाई वनजंगल नभएका कारण पनीको स्रोत सुक्यो भन्ने लाग्थ्यो । तर, बसाईँ सराइ र सामुदायिक वनका कारण केही वन बढेका छन् । भुटानमा ६५ प्रतिशत जंगल छ त्यहाँ पनि मूल सुकेको छ । यसकारण वनजंगलको कमीले मात्र मूल सुक्ने भन्ने कुरा होइन रहेछ । तराईमा मूल सुक्नुको कारण चुरे भनिए पनि छिमेकी बिहार तथा उत्तर प्रदेशमा सुक्खाका कारण धेरै नै भूमिगत पानीको प्रयोग पनि एउटा कारण हुनसक्छ । यसमा अध्ययन आवश्यक होला । हिउँ नभएको उच्च पहाडी क्षेत्र धेरै नै सुक्खा भएको देखिन्छ । यसले भूमिगत जलमा वृहत परिवर्तन भइरहेको भन्ने देखिन्छ । हामीले भूमिगत पानीको अत्यधिक प्रयोग गर्यौँ, सडकलगायत विकास निर्माणका कुराले भएको पानीको मार्गमा परिवर्तन भयो । अर्थात् जुन ठाउँमा हिजो पानी रसाएर भित्र जान्थ्यो अब त्यसलाई हामी सिधा कलभर्टमा हाल्छौँ ।

हिजो छरिएर जाने पानी अब एकत्रित भएर जान थाल्यो । यसले जमिनमुनि जाने प्रक्रिया अबरुद्ध भयो । अर्को भनेको वर्षाको चरित्रमा पनि २०/२५ वर्षमा निकै फेरबदल भयो । वर्षामा पानी परे पनि दर्केर पानी आउने र साउने मूल पलाउने गरी पानी आएको छैन । साउने मूल नपलाएको झण्डै २०/२५ वर्ष भयो । पहाडभित्रको भूमिगत जल पूर्णरुपमा भरणपोषण हुने गरी पानी परेको छैन । पानीको चरित्रमा पनि परिवर्तन आएको छ । जमिनमुनिको पानी पुनर्भरण हुनेगरी पानी परेको छैन । आँत भर्ने गरीको पानी परेन । जति परेको त्यसलाई पनि विकास निर्माणले अन्यत्र पुर्यायो । भूमिगत जलको व्यापक उपयोगले पनि यसमा फरक परेको हुनसक्छ । पहाडमा पनि डिप बोरिङ गर्न थालेका छौँ यसले पनि जमिन मुनिको पानी कम हुँदै गयो । प्रकृतिको नियमलाई नबुझेर गरिएका हाम्रा मानव कृयाकलापहरु र वर्षामा आएको परिवर्तनले पानीको संकटलाई थप्दै लगेको छ ।

जलविद्युतले सुरुङ खनिसकेपछि पानीको मार्गमा परिवर्तन आएको हो । हिजो मूलबाट डाँडाको तलतिर पानी आउँथ्यो र खोलामा पुग्थ्यो । तर, अब अन्त लगिसकेपछि तल आउने मार्ग त छैन । पूर्वमा अहिले यति धेरै जलविद्युत् आयोजना बनेका छन् कि खोलामा पानी नै छैन । खोलाको मार्गमा पानी नै छैन । खोलको प्राकृतिक मार्गमा पानी बग्न दिएर विकास गरेको भए यो स्थिति अहिले चाँडो आउँदैन थियो होला । तर, हामीले अन्धाधुन्ध सानो सानो पानीको मूल मिचेर विकास गर्दा यसको पानीको मूल नै खल्बलियो र प्राकृतिकरुपमा कम हुन गयो ।

स्थानीय सरकारलाई मूल कहाँ थियो, कतै मिचियो वा सर्यो भन्ने ज्ञान छ । बाहिरबाट प्राविधिक गएर प्रतिवेदन बनाउनु आवश्यक नै छैन । स्थानीय रुपमा कहाँ पानी आउँछ भन्ने उहाँहरुलाई थाहा छ । कुनै पहिरोले बिग्रियो होला वा सर्ने जे जे भएको छ त्यो भए पनि सबै उहाँहरुलाई थाहा छ । कंक्रिट हाल्नुभन्दा पनि कहाँ कहाँ मूल थियो र किन सुक्यो भन्ने हेर्नु जरुरी छ स्थानीय सरकारहरुले । स्थानीय तहमा हुने विकासले स्थानीय तहका मूललाई के असर गर्छ भनेर हेर्न थालिहाल्नु पर्यो ।

यहाँ पानी बग्छ यसको स्रोत परिवर्तन गर्न पाइँदैन भन्ने बित्तिकै पुरानो स्रोतमा पानी आउन थालिहाल्छ । नत्र यहाँबाट सडक खन्ने भन्दा मूल मात्र होइन मूलमा पानी जाने बाटो पनि बन्द भएको छ । यसले गर्दा तल तलको मूलमा पनि पानी आउन सक्दैन ।अहिले स्रोतबाट अन्त पानी लैजाने मात्र नभइ ड्रिल गरेर भूमिगत पानी तान्न थालिएको छ । यदि त्यसले भूमिगत पानी सुकाइदियो भने माथिको पानी तल गएन भनेर चिन्ता गरिरहेको अवस्थामा भएको पनि तान्दा पानी त कहिले परिपूर्ण हुन्छ र । यस्तो कुरामा गम्भीर भएर हेर्नुपर्छ स्थानीय सरकारले । 

जलवायु परिवर्तनका कारण पानी एकै पटक ह्वार्रर धेरै पर्ने र भित्री भागसम्म नपुग्दा मूलसम्म पानी पुगेन भनिरहेकोमा अहिले हामीले केवल खानेपानीको मात्र चर्चा गरिरहेका छौँ तर यसैसँग जोडेर बाढी पहिरोलाई पनि हेर्नुपर्ने हुन्छ । अहिले हिउँदमा पानी नपरेको तथा जलवायु परिवर्तनको कुरा गर्दा हिन्दमहासागर एकदमै तातेको छ । त्यसले गर्दा जलवाष्प एकदमै उठेर आउने र धेरै पानी आउने हुन्छ । पानी नाप्दा उत्तिकै पानी परेको छ तर, ह्वार्रर पर्दा मुनि जान पाएन । अर्को कुरा ध्रुवीय क्षेत्रमा जलवायु परिवर्तनले झनै तापक्रम बढेको छ । यसले गर्दा साह्रो ठूलो क्षेत्रको हावाको हलचलमा परिवर्तन आएको छ जसले गर्दा पश्चिमी वायुका कारण हुने हाम्रो हिउँदै वर्षा कम भएको छ । यी दुई वटा कुरा जलवायु परिवर्तनको हिसाबले हामीलाई एकदमै अप्ठेरो पार्नसक्छ । यस पटकको हिउँदमा भएको यही हो ।

स्थानीय क्षति कम गर्नतिर लाग्नुपर्छ

जलवायु परिवर्तनका लागि कार्बन उत्सर्जन घटाउनु पर्यो । यसका लागि हाम्रो खासै योगदान नभएको हुनाले यसमा हाम्रा कारणले तात्विक असर पर्दैन । यसलाई विश्वव्यापीरुपमा घटाउनु पर्छ । तर, हाम्रो चासो भनेको केवल स्थानीय क्षतिहरु कसरी कम गर्ने भन्ने नै हो । सरकारी स्तरमा हेर्दा जलवायु परिवर्तनलाई घटाउने र अनुकुलनका लागि के गर्ने भन्ने खाकासम्म तयार भयो । तर अहिलेदेखि नै काम गर्न थाल्नुपर्‍याे । अब जेठदेखि पानी पर्न थालेपछि त्यसको असर हामीले कसरी घटाउने भन्नेतर्फ लागिहाल्नु पर्नेछ ।

बाढीले मानवीय क्षति तथा बालीनाली क्षति नभएको वर्ष त छैन । वर्षाको यो क्षति कम गर्न थाल्ने बित्तिकै हिउँदको समस्या पनि समाधान हुन्छ किनकि पानीको व्यवस्थापन हुन थाल्छ । बर्खामा पानी एकै पटक आउने हो तर, त्यही पानीलाई जर्गेना गर्ने हो भने हिउँदमा पनि जगेडा राख्न सकिन्छ । यसले बर्खाको क्षति पनि कम हुन्छ । हामी अहिले पनि आफ्नो काम नगरेर बाँकी विश्वको नक्कल गरिरहेका छौँ । हामीलाई अरु कुराले भन्दा पनि स्थानीय तहमा त्यहाँ आउने बाढी पहिरो बुझेर, पानीको मूल सुकेको कुरा बुझेर त्यस अनुकुलनका कार्यक्रमहरु गर्न सक्यौँ भने त्यसले हामीलाई एकै वर्षमा केही न केही नतिजा दिन थाल्छ । त्यो चाहिँ महत्त्वपूर्ण छ ।

डाँडामा अलिकति जंगलले घेरिएको क्षेत्रलाई जलाधार क्षेत्र भन्ने गरिएको छ । काठमाण्डौको कुरा गर्दा शिवपुरीलाई जलाधार क्षेत्र भन्ने गरिएको छ । त्यसमा सुुधार गर्नु जरुरी छ । जलाधार क्षेत्र भनेको जहाँ पानी पर्छ, पानी बगेर जता जान्छ पानी बगेर जाने क्षेत्रको लागि त्यो विन्दु नै जलाधार क्षेत्र हो । भन्नुको अर्थ चोभारको लागि जलाधार क्षेत्र काठमाण्डौ उपत्यका सबै भयो । किनकि काठमाण्डौमा जहाँ पानी परे पनि बगेर चोभारमा पुग्छ । जलाधारको कुरा गर्दा नदीमा पानी जहाँ जहाँबाट आइपुग्छ त्यो जलाधार क्षेत्र हो । त्यो वरपरको ठाउँ व्यवस्थापन गरेर त्यहाँ आउने पानीका नियन्त्रण वा व्यवस्थापनलाई जलाधार व्यवस्थापन भनिएको हो । यो वृहत विषय हो । हामीले माथि गरेका सबै कुरा जलाधार व्यवस्थापनका कुराहरु हुन् । 

(जलाधारविद् उपाध्यायसँगको कुराकानीमा आधारित)

अन्तिम अपडेट: बैशाख ४, २०८१

मधुकर उपाध्याय

उपाध्याय जलाधारविद् हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया