स्याङ्जाको पेट्रोल पम्पलाई साढे ८ लाख रुपैयाँ जरिबाना, १९ सय लिटर पेट्रोल नष्ट गरियो

 चैत ८, २०७९ बुधबार १३:३७:५३ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – पेट्रोलमा मिसावट गरी बिक्री गरेको प्रमाणित भएपछि स्याङ्जा सदरमुकाम पुतलीबजार ३ मा रहेको नेपाल पेट्रोल्यूब सप्लायर्स प्रालिलाई जिल्ला प्रशासन कार्यालयले जरिबाना तिराएकाे छ । पेट्रोलमा मिसावट गरी बिक्री गर्ने सञ्चालक तथा कर्मचारीलाई प्रशासनले जरिबाना गरेकाे हाे ।

प्रशासनले मिसावट गरी पेट्रोल बिक्री गर्ने पम्पका सञ्चालक कृष्णप्रसाद शर्मा, जनकराज शर्मा, भगवती (रेग्मी) शर्मा र सम्झना शर्मा नेपाललाई जनही एक लाख ८० हजार र कर्मचारी सुवास क्षेत्रीलाई एक लाख गरी आठ लाख २० हजार रुपैयाँ जरिबाना तिराएकाे हो । यस्तै मिसावट गरी बेच्नका लागि राखिएकाे एक लाख नाै सय १८ लिटर पेट्रोल खाल्टो खनेर नष्ट गरिएको छ । अपराध पीडित राहत कोषका सञ्चालक चार जनाबाट जनही सात हजार दुई सय र कर्मचारी क्षेत्रीबाट चार हजार गरी ३२ हजार आठ सय रुपैयाँ जरिबाना गराइएकाे पनि जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ ।

ल्याब परीक्षणबाट पेट्रोल पम्पमा मिसावट गरी कमसल पेट्रोललाई असल र राम्रो पेट्रोल हो भनी झुक्याई बिक्री गरेकाले कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ को दफा ६ अनुसार नगद जरिबाना र पेट्रोल नष्ट गरिएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जानकारी दिनुभयो ।

पेट्रोल्यूब सप्लायर्सबाट पेट्रोल भरी चलाइएका गाडीमा 'स्टार्ट' नहुने समस्या देखिएपछि प्रशासनले गएकाे पुस २७ गते पम्प सिल गरेको थियो । पेट्रोल पम्प सिल गरेपछि पुस २८ गते नेपाल आयल निगम प्रादेशिक कार्यालय पोखराको टोलीले पेट्रोलको नमूना सङ्कलन गरी परीक्षणका लागि पठाएको थियो । ल्याब परीक्षणमा पेट्रोलमा हुनुपर्ने गुणस्तर कायम नभएको भन्ने व्यहोराको प्रतिवेदन प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालयले बिक्रीमा संलग्नलाई कानुन बमोजिमको कारबाही गरिएको प्रशासनको भनाइ छ । 

नेपाल आयल निगमबाट पेट्रोल भण्डारण र बिक्री गर्न पम्प उपयुक्त भएको प्रमाणित भएपछि एक/दुई दिनमा फेरि पम्प खुल्ने घिमिरेले बताउनुभयो । पेट्रोल पम्पको प्रारम्भिक परीक्षणबाट डिजलको अवस्था समान्य देखिएपछि डिजल भने त्यही समय बिक्री गर्न दिएको थियो । पेट्रोल्यूब सप्लायर्सले पेट्रोलमा नियतवश नभई झुक्किएर डिजल मिसिएको स्वीकार गरेको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया