तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने ५ जना पक्राउ

 चैत ८, २०७९ बुधबार १५:५१:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रहरीले तिब्बती शरणार्थीहरूलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न गिरोहलाई पक्राउ परेको छ । प्रहरीले बुधवार काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो ।

काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले झापाका कृष्णबहादुर कटवाल, भक्तपुरका न्युल्केश श्रेष्ठ, मोरङका हिरालाल शिवाकोटी, तनहुँका लोब्साङ ठिन्ले र ललितपुरका विजय लामालाई पक्राउ गरेको हो । उनीहरूले झुट्टा लिखत तथा नक्कली सिफारिस तयार गरी गैरनेपाली व्यक्तिहरूको सक्कलै नेपाली नागरिकता बनाइदिने गरेको पाइएको कार्यालयका प्रहरी उपरीक्षक (एसपी) एवम् प्रवक्ता सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो ।

पक्राउ परेकामध्ये कटवाल १० वर्षदेखि लेखापढी व्यवसायमा संलग्न व्यक्ति रहेका प्रहरीले जनाएको छ । पक्राउ परेका नेपाली नागरिक न्युल्केश श्रेष्ठले प्रतिपटक १० हजार रुपैयाँका दरले भाडामा नक्कली बाबु बनेर पाँच जनाको नागरिकताका लागि सनाखत गरेको पाइएको छ । गिरोहले तिब्बती शरणार्थीको नागरिकता बनाउन प्रतिव्यक्ति तीनदेखि पाँच लाख रुपैयाँसम्म लिने गरेको पनि अनुसन्धानबाट खुलेको एसपी राठौरले जानकारी दिनुभयो ।

यो गिरोहले गएकाे ६ वर्षमा पाँच सय जनाभन्दा धेरै तिब्बतीलाई नागरिकता बनाइदिएको प्रहरीको अनुमान छ । तिब्बतीलाई नागरिकता बनाइदिएको आशङ्कामा जिल्ला प्रशासन कार्यालय काठमाण्डाैमा कार्यरत पूर्व तथा बहालवाला कर्मचारीहरूमाथि समेत अनुसन्धान भइरहेको राठौरले बताउनुभयो ।

यसैबीच प्रहरीले सट्टेबाजी गरेको आरोपमा छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दिलीपसिंह कठायत, भुपालराज न्यौपाने, नयनराज भण्डारी, वरुणकुमार सिंह, वासुदेव पाण्डे र शिवानी तामाङ रहेका छन् । उनीहरूले विभिन्न ३५ जनाको नाममा खोलिएको डिजिटल वालेटमा कुल ४१ करोड १५ लाख ८९ हजार दुई सय ७६ रुपैयाँ बराबरको सट्टेबाजी कारोबार गरेको प्रहरीको भनाइ छ । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया