दुई पटकसम्म भाँचिएर अलपत्र परेको पुलको चार वर्षपछि निर्माण सुरु

 चैत ८, २०७९ बुधबार १७:१२:३१ | जनार्दन घिमिरे
unn.prixa.net

फाइल तस्बिर, गुल्मीकाे बढीघाट खाेलाकाे पुल भाँचिएकाे अवस्थामा

गुल्मी – गुल्मीको मुसिकोट नगरपालिकाकाे बढीघाट खोलामा निर्माणाधीन अवस्थामा भाँचिएर अलपत्र परेको पक्की पुलको निर्माण कार्य चार वर्षपछि पुनः सुरु भएकाे छ । मुसिकोट नगरपालिका ७ देखि मुसिकोट २, ३ र ४ वडालाई जोड्ने पक्की पुल निर्माणकै क्रममा दुई पटकसम्म भाँचिएपछि काम राेकिएर वर्षाैँसम्म अलपत्र परेको थियो । 

दुई पटकसम्म भाँचिएको पुल निर्माणका लागि तेस्राे पटकमा डिजाइन परिवर्तन गरी निर्माण गर्न लागिएको हो । पुरानो निर्माण कम्पनीसँग सम्झौता रद्द गरी जलप नेपाल प्रालीले पुल निर्माणको काम सुरु गरेको हो । स्विस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुन लागेको यस पुलको लागत दुई करोड ५० लाख रुपैयाँ रहेको छ । 

पुल निर्माणका लागि दुवैतिर जगकाे काम पूरा भइससकेको हुँदा अहिले पुल निर्माणस्थलसम्म पुग्न सडक विस्तारको काम भइरहेको निर्माण कम्पनीका प्रतिनिधि अनिष पौडेलले बताउनुभयो । आउँदाे असाेजसम्म पुल निर्माण सम्पन्न हुने पाैडेलकाे भनाइ छ ।

२०७६ सालकाे वैशाखमा पहिलाे पटक पुल निर्माणकाे काम अन्तिम चरणमा पुग्दै गर्दा खोलामा बाढी आएपछि पुलको टेका भासिँदा पुल भाँचिएको थियो । भाँचिएको पुलको दाेस्राे पटक निर्माण सुरु भएको एक वर्षपछि ढलानकै क्रममा टेका भाँचिएपछि फेरि भत्किएकाे थियाे । त्यति बेला पुल भाँचिदा इन्जिनियरसहित पाँच जना घाइते भएका थिए ।

दुई पटकसम्म भाँचिएको पुलको निर्माण कार्य तत्कालै सुरु गर्न नगरपालिकाले पटक–पटक सम्बन्धित निकायहरूमा ध्यानाकर्षण गराएपछि अहिले डिजाइन परिवर्तन गरी काम सुरु भएकाे मुसिकोट नगरपालिकाका मेयर जीवन खरेलले जानकारी दिनुभयाे । ताेकिएकै मितिमा काम सकिनेमा उहाँकाे विश्वस्त हुनुहुन्छ । प्राकृतिक प्रकोपका कारण लामो समय पुल निर्माण कार्य अलपत्र हुँदा नगरको विकासलाई पछाडि धकेलेको खरेलकाे भनाइ छ ।

अलपत्र परेको पुलको निर्माण कार्य सुरु भएपछि अहिले त्यस क्षेत्रका नागरिकमा खुसी थपिएको छ । पहिलो पटक पुल भत्किँदा निराश बनेका र दोस्राे पटक पनि पुनः भत्किएपछि झनै आशा मारेका स्थानीयका लागि तेस्राे पटकको निर्माण कार्यले गति लिन सुरु गरेपछि अब त पुल बन्छ कि भन्ने आशा पलाएको स्थानीय प्रेम शाक्यले बताउनुभयो  ।

मुसिकोट नगरपालिकाको बढीगाढ खोलामाथि निर्माण हुन लागेको ट्रस बोर्डर प्रविधिमा आधारित पुलको लम्बाई ५५ मिटर रहेको छ । याे पुल निर्माण भएसँगै मुसिकोट नगरपालिकालगायत छिमेकी बाग्लुङ जिल्लाका नागरिकलाई समेत सदरमुकाम तम्घास आउजाए गर्न सहज हुनेछ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया