बाग्मतीका मुख्यमन्त्री अप्ठेरोमा : विश्वासको मत दिन कांग्रेसको सर्त, सरकार छोड्न एमालेको अर्को सर्त

 चैत ८, २०७९ बुधबार १७:४४:२६ | हरि हुमागाईं
unn.prixa.net

तस्बिर : रासस

मकवानपुर – बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राप्रपाले सरकार छोडेको एक महिना पुग्नभन्दा अगाडि नै विश्वासको मत लिएर ढुक्कसँग बस्ने योजना बनाउनुभएकाे थियाे । यही चैत १३ गते प्रदेश सरकारबाट राप्रपाले समर्थन फिर्ता लिएको एक महिना पुग्दै छ । तर त्यसभन्दा अगाडि नै मुख्यमन्त्री जम्कट्टेलले आफ्नो अनुकूलतामा विश्वासको मत लिने तयारी गरे पनि त्यो आज सफल हुन सकेन । प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने समयमा काठमाण्डौमा कांग्रेसले अर्को बैठक राखेर मुख्यमन्त्रीले तोकेको समयमा विश्वासको मत नदिने गरी रणनीति लिएको हो ।

प्रदेशका मुख्यमन्त्रीसँग प्याकेजमा सहमति गरेरमात्र विश्वासको मत दिने नेपाली कांग्रेसका संसदीय दलका नेता बहादुरसिंह लामाको तयारी छ । एमालेसँगको सहमतिमा साढे दुई वर्षमात्र मुख्यमन्त्री चलाउने सहमति गरेपछि अब कांग्रेसको सहकार्यमा पनि प्रदेश सरकार बन्दा त्यो सहमति कांग्रेससँग पनि हुनुपर्ने माग नेता लामाले राख्नुभएकाे छ । विना सहमति र सर्तमा, सहमति नभएसम्म मुख्यमन्त्री जम्कट्टेललाई विश्वासकाे मत नदिने कांग्रेस नेताहरू बताउँछन् ।

नेकपा एमालेले पनि माओवादी नेतृत्वको सरकार छोड्दा प्रदेश सभा बैठकमा सम्बोधन गरेरमात्र सरकार छोड्ने अर्को सर्त राखेको छ । राष्ट्रपति र उपराष्ट्रपति चुनावका लागि केन्द्रमा बनेको राजनीतिक समीकरणका आधारमा बाग्मती प्रदेश सरकारमा हेरफेरको तयारी भइरहँदा सत्तामै रहेको एमालेले सरकारबाट बाहिरिनका लागि सर्त अघि सारेको हो । बाग्मती प्रदेश सभा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले आफूहरू प्रदेश सरकारबाट हट्न तयार रहेको तर प्रदेश सभा बैठकमा आफ्ना धारणा राखेरमात्र बाहिरिने प्रस्ट पार्नुभयाे ।

‘हामी सरकारमै बसिरहने भन्ने होइन’, उहाँले भन्नुभयाे, ‘हामी राजीनामा दिन तयार छौँ तर प्रदेश सभा बैठकमा आफ्नो कुरा राख्न चाहन्छाैँ ।’ नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले भने मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सरकारबाट एमाले हटेपछि मात्र विश्वासको मतलगायतका प्रक्रिया अघि बढाउन दबाब दिएका छन् ।

एमालेले भने प्रदेश सभा बैठकमा आफ्नो कुरा राख्न पाउनुपर्ने, त्यसपछि मात्र सरकारबाट बाहिरिने सर्त राखेको हो । थपलियाले भन्नुभयाे, ‘प्रदेश सभा बैठक जहिले बोलाउँछन्, त्यही बेला हामी आफ्ना कुरा राखेर राजीनामा दिन्छौँ । प्रदेश सभा बैठक आजै बसेमा आजै राजीनामा दिन तयार छौँ ।’

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया