बाग्मती प्रदेश : केन्द्रको भागबन्डाकाे पर्खाइमा कांग्रेस, विश्वासको मत लिइहाल्ने दाउमा माओवादी

 चैत ९, २०७९ बिहिबार ९:९:६ | हरि हुमागाईं
unn.prixa.net

फाइल तस्बिर

मकवानपुर - बाग्मती प्रदेश सभामा सत्तारुढ गठबन्धनका दलहरुबीच आपसी समझदारी हुन सकेको छैन ।

बुधवारको प्रदेश सभा बैठमा बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिन हेटौँडामा नआएको कांग्रेसको आफ्नै दाउ छ । दुई दिनभित्रमा केन्द्रमा दलहरुको भागबन्डामा बाग्मती प्रदेश कांग्रेसले लिने सहमति गराएर ठूलो दलका हिसाबले आफू मुख्यमन्त्री बन्ने दाउमा कांग्रेसका संसदीय दलका नेताबहादुर सिंह लामा हुनुहुन्छ। 

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता तथा बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल पनि विश्वासको मत प्राप्त गरिसक्नुपर्ने एक महिनाको समयअघि नै विश्वासको मत लिएर सरकारको नेतृत्व निरन्तर गरिहाल्ने दाउमा हुनुहुन्छ । आउँदो १३ गतेसम्म विश्वासको मत लिइसक्नुपर्ने कानुनी प्रावधान भए पनि जम्मकट्टेलले हिजो बुधवार नै विश्वासको मत लिने तयारी गर्नु भएको थियो । तर, हिजो त्यो सम्भव भएन। 

कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा भने अहिलेसम्म बाग्मती प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्न नपाएकाले ठूलो दलका हिसाबले पनि आफूले नेतृत्व गर्न पाउनुपर्ने दाबी गर्नुहुन्छ । उहाँले भन्नुभयो–‘बाग्मती प्रदेश सरकारमा अघिल्लो कार्यकाल र यो कार्यकालको सुरुवातमा पनि कांग्रेसले नेतृत्व गर्न पाएको छैन । कांग्रेस यस प्रदेशका सबैभन्दा ठूलो दल भएकाले पनि हामीले नै सरकारको नेतृत्व गर्न पाउनुपर्छ ।’ तर, केन्द्रमा सत्तारुढ दलहरुका बीचमा भागबन्डा ढिलो हुने भएमा मुख्यमन्त्रीलाई विश्वासको मत दिन तयार रहेको लामाको भनाइ छ ।

एमालेले बुधवार विश्वासको मत दिने निश्चित भएको अवस्थामा सरकार छाड्ने तयारी गरेको थियो । कांग्रेसका सांसदहरु काठमाण्डौबाट हेटौँडा नआएपछि प्रदेश सभा बैठक सारेर विश्वासको मत लिने मिति पनि धकेलिएको छ । मुख्यमन्त्री जम्मकट्टेलले भोलि विश्वासको मत लिने योजना बनाए पनि एमालेले भने १२ गतेलाई बैठक राख्न लिखित प्रस्ताव गर्ने निर्णय गरेको छ । 

तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्मकट्टेलले दोस्रो पटक विश्वासको मत लिनुपर्ने अवस्था आएको हो । प्रदेशमा पुस २६ मा मन्त्रिपरिषद् गठन हुँदा एमाले, माओवादी केन्द्र र राप्रपाबीच बनेको समीकरण राष्ट्रपतिको चुनावसँगै भत्किएपछि राप्रपाले गएको फागुन १३ गते शनिवार सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो ।

सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र मुख्यमन्त्रीले संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । जस अनुसार मुख्यमन्त्री जम्मकट्टेलले चैत १३ गतेसम्ममा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ।

यसअघि मुख्यमन्त्री जम्मकट्टेलले प्रदेश सभाका दुई तिहाईभन्दा बढी सांसदको विश्वासको मत पाएका थिए । उनलाई ६ दलका १ सय ५ जना सांसदले विश्वासको मत दिएका थिए। गएकाे पुस २५ गते ५ दलका ७० जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका जम्मकट्टेललाई नेमकिपाका ३ जना सांसदले भने विश्वासको मत दिएका थिएनन्।

११० जना सांसद रहेको प्रदेश सभामा सामान्य बहुमतका लागि कम्तीमा ५६ जना सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशमा सबैभन्दा ठूलो दल कांग्रेसका ३६, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १२, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन्।

मुख्यमन्त्री जम्मकट्टेललाई सत्ता गठबन्धनका ३ वटा दलका ६७ सांसदको समर्थन प्राप्त हुने देखिन्छ। कांग्रेसका ३७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सांसदको समर्थन पाउने देखिन्छ । राप्रपाका १३, नेमकिपाका ३ र एमालेका २७ जना सांसद मुख्यमन्त्री जम्मकट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा रहने देखिन्छ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया