बालबालिका र युवाहरुमा नैतिक शिक्षाको खाँचो छ : सभामुख घिमिरे

 चैत ११, २०७९ शनिबार १३:७:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सभामुख देवराज घिमिरेले बालबालिका तथा युवाहरुलाई व्यावसायिक तथा नैतिक शिक्षाको खाँचो रहेको बताउनुभएको छ ।

शनिबार छैटौं एसिया प्रशान्त क्षेत्रीय म्यासेन्जर अफ पिस कार्यक्रमको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सभामुख घिमिरेले संसारभर नै बालबालिका तथा युवाहरुलाई व्यवसायिक तथा नैतिक शिक्षाको खाँचो रहेको र यो खाँचोलाई स्काउटले पूर्ति गर्नसक्ने बताउनु भयो । उहाँले सीमित देशका राज्यले मात्रै स्काउटको क्षेत्रमा लगानी गरिरहेको भन्दै सबै देशहरुले स्काउट क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । सभामुख घिमिरेले सुन्दर भविष्यको परिकल्पना गर्ने हो भने स्काउटको अभियानलाई सबैले सार्थक बनाउनुपर्ने बताउनु भयो । उहाँले स्काउटको अभियानमा नयाँ पुस्तालाई सानै उमेरदेखि सचेत गराउनु जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बालबालिका तथा युवावर्गलाई अनुशासित, स्वावलम्वी, चरित्रवान तुल्याइ सेवाभावको अभिवृद्धि गर्दै असल नागरिकको रुपमा देश विकास कार्यमा सहभागी गराउन नेपालमा १९५३ सालमा स्थापना भएको हो स्काउट । आज संसारभर नै बालबालिका तथा युवाहरुलाई व्यवसायिक तथा नैतिक शिक्षाको खाँचो छ । तर सीमित देशमा मात्रै राज्यले यस क्षेत्रलाई लगानी गरेको पाइन्छ ।

तर हामी संसारका सुन्दर भविष्यको परिकल्पना गर्ने हो भने अवश्य पनि त्याे अभियानमा हाम्रा नयाँ पुस्तालाई सानै उमेरदेखि सचेत गराउनु जरुरी छ । यसका लागि सबैभन्दा राम्रो माध्यम भनेको स्काउट अभियान बन्नसक्छ । स्काउटले बालबालिकाहरुको सर्वपक्षीय विकासको लागि विविध कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । जसमध्ये म्यासेन्जर अफ पिस (एमओपी) कार्यक्रम पनि विश्व स्काउट संगठनको महत्वपूर्ण कार्यक्रम हो । जुन विश्वभर नै शान्ति कायम गर्न र शान्तिका वकालत गर्न विश्वव्यापी सञ्जाल निर्माण गर्न केन्द्रित रहेको छ ।’

सभामुख घिमिरेले स्काउटले विविध कार्यक्रम सञ्चालन गरी बालबालिकाहरुको सर्वपक्षीय विकासको लागि काम गरिरहेको भन्दै आगामी दिनमा यस्ता कार्यहरुलाइ झनै बढाएँदै लैजानुपर्ने बताउनु भयो ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया