गदगद हुन मन छ भने जनगणनाको तथ्याङ्क पढ्नुहोस् !

 चैत १२, २०७९ आइतबार १४:४:५६ | मिलन तिमिल्सिना
unn.prixa.net

आफ्नो खल्ती र देशको ढुकुटी उस्तै उस्तै, रित्तोमा रित्तो । आम्दानीभन्दा खर्च दोब्बर । खाइरहेको जागिर कुनबेला खुस्कने हो पत्तो छैन । सुकिलोमुकिलो भएर काम गरिरहेको बानी, मैलोधैलो भएर खेतबारीमा काम गर्ने जाँगर पनि मरिसक्यो । देशलाई सिङ्गापुर जस्तै समृद्ध बनाउँछौँ भन्नेहरु आफैँ समृद्ध हुन सिंहदरबार र बालुवाटारको दौडधुप गरिरहेका बेला तपाईँहाम्रो पालो आउने कहिले–कहिले ? 

जता फर्के पनि निराशलाग्दो र अत्यासलाग्दो अवस्थाले दुःखी हुनुहुन्छ भने खुशी हुने उपाय खोज्नुहोस् । दुःखी हुने जति धेरै कारण छन्, त्यति नै उपायहरु खुशी प्राप्त गर्न पनि उपलब्ध छन् । दुःख र निराशामा बाँचिरहेका नागरिकलाई खुशी बनाउन सरकारले पनि बेलाबेला अफर र उपहार ल्याइरहेको हुन्छ । अहिले यसैगरी खुशी बनाउने तथ्याङ्क आएको छ । राष्ट्रिय जनगणनाको केही तथ्याङ्क पढ्दा तपाईँ सबै दुःख बिर्सेर गदगद हुनुहुन्छ ।

जनगणना गर्नुभन्दा पहिलेदेखि नै नेपालको जनसङ्ख्या तीन करोड भन्थे । तीन करोड जनसङ्ख्याको व्यवस्थापन कसरी गर्ने, के खुवाएर पाल्ने, कहाँ राख्ने, के गर्ने भनेर थरीथरीका चिन्ता सुनिन्थ्यो । तर जनसङ्ख्या त तीन करोड पुगेकै रहेनछ । जम्मा २ करोड ९१ लाख अथवा तीन करोड पुग्न अझै ९ लाख मान्छे पो चाहिने रहेछ । पोहोर माघमा जनसङ्ख्याको प्रारम्भिक तथ्याङ्क तीन करोडभन्दा धेरै कम देखिएको थियो, अहिले त त्यसमा पनि झण्डै २८ हजार घटेछ, अथवा घटेछन् । सोच्नोस् त, यो तथ्याङ्क अर्को वर्ष मिलाउँदा अझै घट्न सक्छ । मान्छेहरु सन्तान जन्माउन डराउन थाले । आफैँ बाँच्न गाह्रो छ, छोराछोरी कसरी पाल्ने ? सबैले यसैगरी सोच्ने हो भने अर्को १० वर्षसम्म पनि जनसङ्ख्या तीन करोड पुग्न मुश्किल पर्छ । अनि जनसङ्ख्या तीन करोड पुग्यो भनेर अहिलेसम्म भैरहेको र पछि पनि हुन सक्ने सबै चिन्ता हट्ने भयो ।

मान्छेहरु अहिले पनि महिलाहरुमाथि थिचोमिचो भयो भन्छन् । तर तथ्याङ्कले त महिलाहरु मिले भने पुरुषलाई थिचोमिचो गर्न सक्ने हैसियतमा रहेछन् । जनगणनाअनुसार पुरुषभन्दा महिला साढे ६ लाख धेरै छन् । सयमा २३ जना महिलाको नाममा घरजग्गा छ । झण्डै एक तिहाइ महिला परिवारको हर्ताकर्ता अर्थात घरमूली छन् । गर्भवती र सुत्केरी अवस्थामा ज्यान गुमाउने महिलाको सङ्ख्या घट्दै गएको तथ्याङ्क छ । अझै कतिपय ठाउँमा गर्भवती हुँदा उचित स्याहार नपाएर या सुत्केरी हुन नसकेर मर्नुपर्ने वास्तविकता होला । घरेलु हिंसा, बलात्कार, बेचविखन, दुर्व्यवहार सहन बाध्य भएका महिलाहरु पनि होलान् । अनि परिवारमा सधैँ पुरुषको थिचोमिचो सहेर बस्नुपर्ने अवस्था पनि होला । तर यी वास्तविकता बिर्सनुहोस्, तथ्याङ्क हेर्नुहोस् त महिलाको सङ्ख्या र सशक्तीकरण बढेको छ । 

जनगणनाको तथ्याङ्कअनुसार केटाकेटी भन्दा बुढाबुढी धेरै छन् । केटाकेटीको सङ्ख्या धेरै भएको भए कसरी हुर्काउने, बढाउने, पढाउने भन्ने चिन्ता हुन्थ्यो । तर चिन्ता लिनुपर्ने केटाकेटी नै कम रैछन् । बुढाबुढी धेरै हुँदा थप फाइदा भयो । बुढाबुढी भएपछि सरकारले भत्ता दिन्छ, छोराछोरीलाई बाबुआमा पाल्नुपर्ने चिन्ता हुँदैन । भत्ताले बसीबसी खान पाइन्छ । बस चढ्दा र ओखतीमुलो गर्न जाँदा छुट पाइन्छ । 

तथ्याङ्क केलाउँदा थाहा भो, नेपालमा गरीबभन्दा धनीको सङ्ख्या धेरै भैसकेको रहेछ । एक तिहाइभन्दा बढीले स्मार्टफोन चलाउँदा रहेछन् । स्मार्ट अर्थात् फेसबुक टिकटिक चलाउन मिल्ने फोन । फेसबुक र टिकटक चलाउन थालेपछि मान्छेले खान र सुत्न पनि बिर्सन्छ । यस्तो महँगीमा खानै बिर्सेपछि खर्च घट्छ । खर्च घट्नु भनेको पैसा हुनेहरुको सङ्ख्या थपिनु हो । राति सुत्दासमेत श्रीमान् यता फर्केर र श्रीमती उता फर्केर फेसबुक र टिकटकमा रमाउँदा जनसङ्ख्या वृद्धिदर कम हुन पुगेको छ । मोबाइलमा भुलेपछि दुःखपीर र चिन्ता पनि थाहा हुँदैन । त्यसैले जति धेरै स्मार्टफोन बोक्नेको सङ्ख्या बढ्यो, उति धेरै मान्छे खुशी हुने भए ।

बाटोमा भेटिनेजति सबै बेरोजगारजस्ता देखिन्छन् । काम पाइएन भनेर सबैले चिन्ता गर्छन् । कमाउन नसकेर विदेश जानेहरुको लर्को भेटिन्छ । बाहिर हेर्दा कमाउनेभन्दा कमाउन नसक्ने धेरै देखिए पनि तथ्याङ्कमा त आफैँ कमाउन सक्ने नेपाली दुई तिहाइ पो रहेछन् । कमाइ नै छैन, कसरी गुजारा गर्ने भनेर तपाईँ चिन्ता नगर्नु होला । किनभने, तपाईँजस्ता अल्छी त सैकडा एक तिहाइ मात्रै रहेछन् । बाँकी दुई तिहाइले त बेस्सरी कमाउँछन् । दुई तिहाइले कमाएपछि एक तिहाइ मान्छेलाई खान लाउन के को दु:ख । दुई तिहाइको कमाइले एक तिहाइलाई कामै नगरि मोज गर्न पुगि हाल्छ नि । त्यसैले कमाइ भएन भन्ने चिन्तै साफ !

देश धर्मनिरपेक्ष भएको उहिल्यै । अझै पनि जातजाति र धर्मको कुरा गर्नु बेकार छ । कुन धर्म र जातका मान्छे कति छन् भनेर थाहा भयो भने मान्छेले फेरि फलानो यो र ढिस्कानो त्यो भनेर वादविवाद गर्छन् । त्यसैले वादविवाद नहोस् भनेर सरकारले जनगणनाको प्रश्नमा समेटेर पनि जातजाति र धर्मको तथ्याङ्क भनेन । जातजाति र धर्मको लफडै सकियो ।

अर्को कुरा कालापानी, लिपुलेक र लिम्पियाधुराको कुरा भाषण र बहसमा मात्रै सुहाउँदो रहेछ । त्यहाँ बस्नेहरु नेपालकै नागरिक हुन् भनेर व्यवहार गर्न दल र सरकारले पनि नसक्ने रहेछन् । त्यहाँको ठाउँ समेटेर नक्सा चुच्चो पार्न मरिमेटेको पार्टीले पनि अधिवेशन र कार्यक्रम गर्न सकेन । त्यहाँका मान्छे चुनावमा पनि समेटिन सकेनन् । जनगणनामा समेटिने त कुरै भएन । नेपालको जनगणना भनेपछि नक्सामा चुच्चो भएको ठाउँको पनि तथ्याङ्क आउनुपर्ने हो, तर आएन । बेकारमा समेटेर भारतसँग अनकन्फर्टेबल हुनुभन्दा त चुप लागेर कम्फर्टेबल हुनुमै आनन्द छ । सरकारलाई कन्फर्टेबल भएर हाइसञ्चो भएपछि नागरिकलाई पनि हाइसञ्चो हुने नै भयो । 

यस्तै हाइसञ्चो मानेर चिन्तामुक्त हुने हो भने जनगणनाका अरु तथ्याङ्क पनि हेर्नुहोस् । हिँड्दा, बस्दा, खाँदा, सुत्दा, काम गर्दा दुःखैदुःख भोगे पनि तपाईंले तथ्याङ्कमा खुशी र उत्साह मात्रै भेट्नुहुन्छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया