आजदेखि सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु

 चैत १५, २०७९ बुधबार ९:४३:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्राको तयारी भएको छ । हरेक वर्ष चैत शुक्ल अष्टमीदेखि दरबारमार्गमा रहेको तीनधारा पाठशालाबाट रथयात्रा शुरु हुन्छ ।

रथयात्राका लागि आज दिउँसो चार बजे काठमाण्डौको इन्द्रचोक नजिकै रहेको केलटोलको मन्दिरबाट देवताको मूर्ति खटमा राखेर दरबारमार्गमा रहेको तीनधारा पाठशाला अगाडि लगिनेछ । त्यसपछि मूर्तिलाई खटबाट निकालेर रथमा राखेर रथयात्रा शुरु हुनेछ ।

आज सेतो मच्छेन्द्रनाथको रथलाई तीनधारा पाठशालाबाट तानेर असनमा पुर्याइनेछ। असनमा आज राति राष्ट्रपति रामचन्द्र पौडेलले रथको दर्शन गरी प्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको छ । शहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा हुने गर्छ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहाल लगरेर अन्त्य गर्ने चलन छ । हरेक वर्ष यो जात्रा गरेपछि वर्षा र सहकाल हुने धार्मिक विश्वास छ । रथ दोस्रो दिन भोलि असनबाट वसन्तपुरमा रहेको कालभैरवअघि लगिन्छ । तेस्रो दिन वसन्तपुरबाट लगनसम्म तानेर जात्रा गर्ने परम्परा छ ।

त्यस्तै आज चोभारको आदीनाथ पनि भनिने आनन्दादी लाकेश्वरको जात्रा हुँदैछ । हरेक वर्ष चैते दशैँका दिन आनन्दादी लाकेश्वरको खटजात्रा हुने गर्दछ ।  चोभारको आनन्दादी लाकेश्वरको खटजात्राको लागि आज बिहान चोभारमा रहेको दोभानमा द्यः लायगु भनेर  देवतालाई कलशमा राखेर ल्याएको पुजारी सरोज शाक्यले बताउनु भयो ।

आज दिउँसो लोकेश्वरको मूर्तिलाई चोभारको विभिन्न ठाँउमा खटमा राखेर परिक्रमा गरिनेछ । सेतो मच्छेन्द्रनाथ र चोभारको आदीनाथको जात्रा सकिए पछि आँउदो २४ गते ललितपुरको रातो मच्छिन्द्रनाथलाई महास्नान गरिनेछ ।
 

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया