‘५३ हजार कर्मचारीकाे दरबन्दी छ, २ हजार कर्मचारीमात्रै पालिकाकाे राेजाइमा पर्ने गरेका छन्’

 चैत १५, २०७९ बुधबार १५:३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सङ्घीय सरकारसँग प्रदेश र पालिका सरकारको दोहोरो समन्वय हुन आवश्यक रहेको बताउनुभएको छ । 

बुधवार काठमाण्डाै महानगरपालिकाले आयोजना गरेको पहिलो न्यायिक समिति राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री माेदीले तीन तहका सरकारसँग समन्वयकारी भूमिका खेल्न दोहोरो समन्वय हुनुपर्ने बताउनुभएको हो । उहाँले प्रदेश र पालिकाकाे कामलाई प्रभावकारी बनाउन केन्द्र सरकारसँग दोहोरो समन्वय बनाउन आवश्यक रहेको बताउनुभयो ।

मन्त्री माेदीले देशमा ५३ हजार जना कर्मचारीको दरबन्दी भए पनि दुई हजार जना कर्मचारीमात्रै पालिकाकाे रोजाइमा पर्ने गरेको बताउनुभयो । उहाँले सात सय ५३ वटा पालिकामा दुई हजार जना कर्मचारी रोजाइमा रहेकाले ५१ हजार कर्मचारीलाई कहाँ पठाउने भन्दै पालिकासँग जवाफ माग्नुभयो । उहाँले रोजाइको अधिकृत पठाउन माग गर्दै मन्त्रालयमा मेयरहरूकाे नै दैनिक भिड लाग्ने गरेको गुनासाे गर्नुभयाे । 

उहाँले भन्नुभयो, ‘मन्त्रालयमा नगरपालिका र गाउँपालिकाका मेयरहरू आउनुहुन्छ । पालिकामा कार्यकारी प्रमुख पठाइदिन आग्रह गर्नुहुन्छ । मैले पठाइदिन्छु । पठाएको भोलिपल्ट एउटा समूह आएर त्याे हुँदैन भन्छ । त्यसलाई तुरुन्त हटाइदेउ भन्छ । फेरि अर्को समूह आएर त्यसलाई राख्नैपर्छ भन्छन् । देशमा ५३ हजार जना कर्मचारीकाे दरबन्दी छ, दुई हजार जना कर्मचारीमात्रै मन परेको खोज्ने हो भने बाँकी ५१ हजार कर्मचारी कहाँ जान्छन् ? ५१ हजार जना कर्मचारीलाई लगेर गाउँमा हलो जोताउन भएन । कुनै न कुनै ठाउँमा पठाउनु नै पर्छ । पालिका, प्रदेश र केन्द्र सरकारबीच समन्वय हुनुपर्छ ।’

मन्त्री मोदीले वर्तमान सरकारको पालामा नै सङ्घीय निजामती सेवा ऐन आउनेमा ढुक्क हुन आग्रह गर्नुभयो । उहाँले लामो समयदेखि रोकिएको सङ्घीय निजामती सेवा ऐन आफू मन्त्री भएर आएको दुई महिनामा नै प्रक्रिया अगाडि बढाएको दाबी गर्नुभयाे । उहाँले ऐन प्रक्रिया अगाडि बढेर अहिले कानुन र अर्थ मन्त्रालयमा स्वीकृतका लागि पठाएको बताउनुभयो । अब बस्ने प्रतिनिधि सभामा पेस गर्ने गरी ऐनको प्रक्रिया अगाडि बढाएको उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा बाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले केन्द्र, प्रदेश र पालिका तीनै तहको सरकार सङ्घीय संरचनाअनुसार काम गर्न सक्षम नदेखिएको बताउनुभयो । उहाँले सङ्घीयताअनुसार काम गर्न नसक्दा नागरिकले खोजेको जस्तो काम गर्न नसकिरहेको स्वीकार गर्नुभयो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया