१७ करोड रुपैयाँको कोकिनसहित २ भारतीय महिला पक्राउ

 चैत १६, २०७९ बिहिबार १८:५१:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रहरीले १७ करोड रुपैयाँ बराबरको झन्डै आठ किलाे काेकिनसहित दुई भारतीय महिलालाई पक्राउ गरेकाे छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत लैजान लागिएको कोकिन बरामद गरी भारत घर भएका भल्लालोमी र इस्थर ललिमपुईलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो । 

दुई जनाले फरक–फरक झोलामा फरक–फरक समयमा हवाई मार्ग हुँदै कोकिन निकासी गर्न लागेको पनि ब्युरोले जानकारी गराएको छ । उनीहरूले लगेजमा फल्सबटम बनाएर अवैध लागुऔषध कोकिन भारत लैजान लागेका थिए ।  विमानस्थल सुरक्षा कार्यालय र लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले इन्डिगो विमानबाट भारत जान लागेका बेला भाल्लालोमीको लगेज शङ्का लागि जाँच गर्ने क्रममा कोकिन फेला परेपछि विमानस्थलको प्रस्थान कक्षबाट उनलाई पक्राउ गरिएको हो । 

उनको लगेजभित्र चार वटा लेडिज ब्याग फेला परेको र ती ब्यागमा फल्सबटम बनाई भारतको नयाँ दिल्लीतर्फ तीन किलो कोकिन निकासी गर्न लागिएको फेला परेको थियो । उनको बयानका आधारमा ठमेलमा रहेकाे एक होटलमा अनुसन्धान गर्दा पाँच किलो कोकिनसहित ललिमपुईलाई पनि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । 

उनले पनि भारत निकासीका लागि तयारी अवस्थामा सुटकेसभित्र फल्सबटम बनाई कोकिन राखेका पाइएको छ । आज सार्वजनिक विवरणअनुसार दुवै जनामाथि लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम काठमाण्डाै जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको ब्युरोका प्रहरी उपरीक्षक जोशीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया