न्युजिल्याण्डमा चरा वर्ष उपाधि लजालु होइहो पेंगुइनले जित्यो
असोज १, २०८१ मंगलबार
‘काला चश्मा... मेयरले सिंहदरबारको फोहोर उठ्दैन भनेको सुन्थे, तपाई त उठिरहनुभएको छ त ?’ सिंहदरबार गेटबाट भित्र छिरेको एउटा नेतालाई अर्कोलाई व्यङ्ग्य गरे ।
‘के रे ! कसलाई फोहोर भनेको ? आफैँ डुङडुङ्ती गन्हाउँदै आउने अनि अर्कालाई फोहोर र सोहोर !’ अर्का नेता झनक्क रिसाए ।
नरिसाउनु न नेताजी त्यसरी । सँगै उभिएर ऐना हेर्याैँ भने तपाईँ र म हात्ती छाप चप्पल झैँ उस्तै–उस्तै त देखिन्छौँ नि !
तपाईँ होला फोहोरजस्तो, म चाहिँ हैन । यी मलाई हेर्नुस् यहाँ, चट्ट मिलाएर दौरासुरुवाल र कोट लगाएको छु । टाउकोमा चुच्चे टोपी, दाह्री खौरिएर मुलायम भएको गाला, खुट्टामा उस्तै टल्कने जुत्ता । एक पाइला हिँड्न पनि पर्दैन, जता गए पनि गाडीमा झण्डा हल्लाउँदै सररर हुइँकिन पाइन्छ । न फोहोर टेक्न परेको छ, न देख्न । मजस्तो सफा मान्छे कसरी फोहोर हुन्छ ? बरु तपाईँको लुगा र जुत्तामा चाहिँ फोहोर देखिन्छ । त्यसैले तपाईँ नै फोहोरजस्तो, तपाईँ नै फोहोर ।
मैले शरीरबाहिर देखिने फोहोरको कुरा गरेको हैन क्या नेताजी, पेटभित्रको ।
पेटभित्र पनि फोहोर छैन । बिहानै खलास गरेर निस्केको । अघि भर्खर खाएको खाना फोहोर बन्ने प्रक्रियामै पुगेको छैन होला । बाहिर पनि सफा छु, भित्र पनि सफा छु म त ।
मैले खलास नगरेर पेटभित्र फोहोर छ भन्या पनि हैन क्या ।
अनि भनेको चाहिँ के त ? काला चश्मे मेयरले फेसबुक स्टाटसमा लेखेझैँ सिधा भन्नु न ।
उनले पनि कहाँ सिधासिधा लेखेका छन् र ? उनले लेख्नै जानेनन् ।
किन जान्दैनन्, कामै फेसबुक स्टाटस मात्रै लेख्नेले ।
उनले सिंहदरबारमा फोहोर अब उठ्दैन भनेका छन् । भन्नुपर्ने चाहिँ सिंहदरबारमा फोहोर टुट्दैन हो ।
कसरी ?
ल, सुन्नुहोस् ! तपाईँ र मैले लुगा चट्ट मिलाएरै लगाएका छौँ । अनुहार चिरिच्याट्टै छ । तर मान्छेहरूले हामी नेतालाई कहिल्यै सफा देख्दैनन् । हुन पनि हो हामीमध्ये कोही त्यही फोहोर मिसिएको भ्रष्टाचारमा डुबेर डुङडुङ्ती गन्हाएका छौँ । कोही चाकरी, चाप्लुसी, जासुसी, ढिलासुस्ती, स्वार्थ र आसेपासेको जालोमा जेलिएर बिरुप भएका छौँ । यसरी फोहोरै फोहोरले बिरूप भएका हामी सिंहदरबार आइरहन्छौँ । जनताले पनि हामीलाई नै सिंहदरबार पठाइरहन्छन् । उनीहरूलाई लाग्दो हो, फोहोरीलाई गाउँमै राख्यो भन्यो गाउँ नै डुङडुङ्ती गन्हाउँछ । सिंहदरबार आइसकेपछि हाम्रो आँखा पहिले लोभ र स्वार्थको फोहोरमै गाडिन्छ । त्यो फोहोरभित्र हामी आफैँ, आफ्ना नातागोता र आसेपासे हुन्छन् । जनतासित गरेको वाचा त्यही फोहोरमा मिल्काउँछौँ । कतै सफा हुन लाग्यो भने त्यसलाई चलाएर फेरि फोहोर बनाउँछौँ । सङ्लो पानीलाई धमिलो बनाएर त्यहीँ माछा मार्दै रमाइलो गर्छाैँ । एक अर्कालाई गालीगलौज गरेर हिलो छ्यापाछ्याप गर्छाैँ । छिनमै जुध्छौँ, छिनमै मिल्छौँ । बिहान एउटासँग लपक्क, दिउँसो अर्कोसँग सपक्क, राति फेरि अर्कैसँग सुटुक्क गरेर छिनभरमै गठबन्धन फेर्छाैँ । मान्छेहरूले छिःछिः र दुरदुर गरेको पत्तो पाउँदैनौँ । देश र जनताका समस्यामा धेरथोर फोहोर घोलेर फोहोरमै रमाउँछौँ । फोहोरको आहालमा डुब्न नपाउँदा छटपटीले खपिनसक्नु हुने हामी फोहोरको डङ्गुर भएनौँ त ?
ओहो कति धेरै बोलेको तपाईँ ? यसरी आफ्नो पोल आफैँ खोल्छन् ? फोहोर फोहोर भनेर नचिच्याउनुहोस् है, अहिले त्यही कालो चश्मे बालेन डोजर लिएर फाल्न आउलान् ।
आउँदैनन् हो आउँदैनन् । बाग्मतीको किनार फराकिलो बनाउन भन्दै डोजर लिएर जान खोज्दा तपाईँ, हामीले नै हैन र बाटो छेक्न लगाएको ? हामीले सहयोग गरे पो उनले डोजर चलाउन सक्छन् । डोजर चलाएर उनले सबैथोक सके भने हामी चाहिँ के हेरेर बस्ने ? हामीले फेरि चुनाव जितेर सिंहदरबार ओहोरदोहोर गरिरहन परेन ? त्यसैले अब बालेनले गर्ने भनेको फेसबुकमा स्टाटस लेख्ने मात्रै हो । तपाईँ, हामी मञ्चमा उभिएर भाषण गर्ने, उनी घरमा चश्मा ढल्काएर फेसबुकमा लेख्ने ।
अनि तपाईँ, हामीलाई त सिसडोलमा लगेर डम्प गर्ने भनेका छन् नि ।
हामीलाई डम्प गर्ने ? सिसडोलमै जम्प गर्ने बानी परेकालाई डम्प गर्न सजिलो छ ? फोहोर उठाएर काठमाण्डौ सफा गर्न खोज्नेलाई सिसडोलमा झण्डा बोकेर जम्प गर्दै पछार्न के को आइतवार ? हामीलाई बेलाबेला सिसडोलमा जम्प गरेको देखेकाले नेतालाई जम्प गर्ने भनेर लेख्या होलान्, गल्तीले डम्प भएको होला ।
भनेपछि ती कालो चश्मेले हाम्रो केही बिगार गर्न सक्दैनन् ?
सक्दैनन् क्या सक्दैनन्..., ढुक्क हुनुहोस् ।
अनि सिंहदरबारमा अब फोहोर उठ्दैन भनेका छन् । भित्र छिर्नै नसकिने गरी फोहोरको डङ्गुर लाग्यो भने कसरी ओहोरदोहोर गर्ने ?
हरे कति पटक भन्नु त्यही कुरा । एउटा फिल्मको डाइलग सुन्नुभएको होला नि ‘खैनी हैन चुरोट’ । हो त्यस्तै सिंहदरबारमा फोहोर उठ्दैन हैन टुट्दैन ।
अनि सिसडोलमा डम्प ?
चुप... चुप हैन चुप्पा भन्याजस्तै सिसडोलमा डम्प हैन जम्प !
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।