म्यानपावर भन्दा एजेण्टबाट ठगिने धेरै, ३० प्रतिशत उजुरीको मात्रै लाग्छ टुङ्गो

 चैत २७, २०७९ सोमबार १८:२५:२१ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगार विभागमा भेटिनुभएका नुवाकोटका सुरेश सिटौला निराश देखिनुहुन्थ्यो । वैदेशिक रोजगारीको लागि युरोपेली देश पोर्चुगल जान एजेण्टलाई बुझाएको पाँच लाख रुपैयाँ फिर्ता पाइन्छ कि भन्ने आशा बोकेर आइतबार उहाँ विभागमा आइपुग्नुभएको हो ।

एक वर्ष पहिले काठमाण्डौको चाबहिलमा बस्दा दोलखाका रविन खड्का भन्ने व्यक्तिसँग उहाँको चिनजान भयो । चिया पसलदेखि भएको चिनजान एकअर्काको कोठामा आउने जानेसम्म लम्बियो । त्यही क्रममा रविनले युरोपेली देशमा राम्रो जागिरको लोभ देखाए । यस्तो मौका पछि आउँदैन भन्दै ऋण काढेरै भए पनि पोर्चुगल जान हौस्याए । सुरेशले केही आफूले काम गरेर बचाएको रकम र केही घरबाट ऋण निकाल्न लगाएर पाँच लाख रुपैयाँ रविनको हातमा थमाइदिए । पैसा पाएको एक हप्तासम्म सुरेशसँगै मिठा गफ गरिरहे रविनले । तर अहिले ६ महिना हुन थाल्यो आफ्नो अनुहार नै देखाएका छैनन् । बीचमा एक पटक फोन गरेर भिसा आउन थाल्यो थप तीन लाख रुपैयाँ मिलाऊ है भनेका थिए ।  सुरेशले ‘म जान्न बरु पैसा फिर्ता देऊ’ भन्ने कुरा गरेपछि उनी सम्पर्कमै छैनन् । त्यही उजुरी लेखाउन रमेश वैदेशिक रोजगार विभाग पुग्नुभएको हो ।

गएको फागुनमा मात्रै रमेश जस्तै एजेण्टको पासोमा परेर ठगीने ९७ जनाले विभागमा उजुरी दर्ता गराएका छन् । विभागका अनुसार वैदेशिक रोजगारीमा जाने क्रम बढ्दा ठगी भयो भन्दै विभागमा आउने उजुरीको सङ्ख्या पनि बढ्दो छ । ठग्नेहरुमा पनि इजाजतपत्र लिएका म्यानपावर व्यवसायीबाट भन्दा सरकारले खारेज गरिसकेको गैरकानुनी एजेण्टहरु रहेको विभागले तथ्यांकले देखाउँछ । चालू आर्थिक वर्षको फागुनसम्म मात्रै वैदेशिक रोजगारी सम्बन्धी ठगीका ६ सय ८६ वटा व्यक्तिगत उजुरी विभागमा दर्ता भएका छन् । म्यानपावर कम्पनीसँग नजोडिएका वा वैदेशिक रोजगारको काम गर्न अनुमति नै नलिएका व्यक्तिहरुबाट भएको ठगीलाई विभागले व्यक्तिगत ठगीको रुपमा मुद्दा दर्ता गर्छ । यस्तै, वैदेशिक रोजगारीमा श्रमिक पठाउन विभागसँग इजाजत लिएका म्यानपावर कम्पनीबाट भएको ठगीलाई संस्थागत उजुरीको रुपमा लिने गरेको छ ।

म्यानपावरबाट भन्दा एजेण्टबाट ठगिने धेरै 

वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको फागुनसम्ममा संस्थागत तर्फ ४ सय ८५ वटा उजुरी परेका छन् । ७८ वटा उजुरीको फरफारक(मुद्दा टुङ्गो लागेको) भएको छ । त्यसमध्ये ७५ वटा उजुरीमा विभागले एक करोड ८ लाख १५ हजार २२२ रुपैयाँ क्षतिपूर्ति भराइसकेको अवस्था छ । यस्तै तीन वटा उजुरीको मिलापत्र गराएको विभागले जनाएको छ । संस्थागत तर्फ ३ सय ८५ उजुरी अझै प्रक्रियामा रहेका छन् । यी उजुरीउपर ७२ लाख ९७ हजार ३५ रुपैयाँ माग दाबी गरिएको छ ।

संस्थागत ठगीको तुलनामा व्यक्तिगत ठगीको संख्या बढी छ । अघिल्लो आर्थिक वर्षमा ६९५ वटा व्यक्तिगत उजुरी विभागमा दर्ता भएका थिए । यो क्रम घटेको छैन । चालू आर्थिक वर्षको फागुनसम्म मात्रै ६ सय ८६ वटा व्यक्तिगत ठगीका उजुरी विभागमा दर्ता भएका छन् । यी उजुरीउपर पाँच करोड ९५ लाख ८ हजार रुपैयाँ बिगो दाबी गरिएको विभागले जनाएको छ । 

विभागमा दर्ता भएका व्यक्तिगत उजुरीमध्ये विभागमै खटिएका प्रहरीले २६५ जनालाई पक्राउ गरिसकेको छ । यस्तै चालू आर्थिक वर्षमा एक सय ६ सहित अहिलेसम्म दुई सय २० जनासँग मिलापत्र गरिएको विभागले जनाएको छ । १६ करोड ८८ लाख ५२ हजार रुपैयाँ बराबरको रकम मिलापत्रमार्फत विभागले पीडितलाई दिलाएको छ । यस्तै चालु आर्थिक वर्षको फागुन महिनासम्ममा २३ करोड ९९ लाख ८६ हजार ७७१ रुपैयाँ बिगो दाबीसहित व्यक्तिगत उजुरीका एक सय ४७ मुद्दा विभागले अदालतमा दायर गरेको छ ।

यो त चालू आर्थिक वर्षको मात्रै व्यक्तिगत उजुरी र बिगो दाबीको कुरा भयो । अहिलेसम्म व्यक्तिगत ठगीका एक हजार ३८१ वटा उजुरी विभागमा दर्ता भएका छन् । यी उजुरीउपर एक अर्ब ६ करोड ३९ लाख ७० हजार रुपैयाँ बराबर रकम माग दाबी गरिएको विभागले जनाएकाे छ । 

निकै कम उजुरी फर्छ्याेट 

वैदेशिक रोजगारीसम्बन्धी उजुरी धेरै भए, मुद्दाको चाङ बढ्दै गयो तर ठगी गर्नेलाई पक्राउगर्न समस्या हुँदा उजुरी फर्छ्याेटमा समय लाग्न लागेपछि प्रहरी नायव उपरीक्षक डीएसपीको कमाण्डमा विभागमै प्रहरी टोली राखिएको छ । तत्कालै ठगी भएको स्थानमा पुगेर अपराधीलाई पक्राउ गर्न सकियोस्, ठगीका घटनामा थप अनुसन्धान गर्न सजिलो होस् भनेर नै विभागमै प्रहरी टोली राखिएको हो । तर पनि उजुरी फर्छ्याेटको अवस्था अझै पनि न्यून छ । 

अहिले विभागमा आएका वैदेशिक रोजगारी सम्बन्धी ठगीमध्ये निकै कम मात्र उजुरी फर्छ्याेट हुने गरेका छन् । वैदेशिक रोजगार विभागका निर्देशक कृष्णप्रसाद भुसालका अनुसार २८ देखि ३० प्रतिशत उजुरी मात्र फर्छ्याेट हुने गरेका छन् । उहाँका अनुसार अपराधीलाई समातेर कानुनी प्रक्रियासहित अगाडि बढ्न समय लाग्ने र ठगीने क्रम निरन्तर बढीरहँदा फर्छ्याेटको प्रतिशत कम देखिएको हो ।

अनुगमन र नियन्त्रण

वैदेशिक रोजगारीमा नेपालबाट जनशक्ति पठाउनको लागि अहिलेसम्म १५ सय २० वटा म्यानपावर कम्पनी वैदेशिक रोजगार विभागमा दर्ता भएका छन् । तिमध्ये धेरैको कारोबार बन्द भएका छन् भने कति खारेज भइसकेका छन् । चालू आर्थिक वर्षमा मात्रै ६ वटा इजाजत प्राप्त संस्थाको कारोबार बन्द गरेको छ । यस्तै केही खारेज भएका छन् ।

विभागले संस्थागत ठगी रोक्नको लागि आकस्मिक अनुगमन गर्ने, पारदर्शीतालाई बढाउन विद्युतीय प्रणालीको प्रयोग गर्ने लगायत काम गरिरहेको छ । यस्तै विभागले इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीको आकस्मिक तथा नियमित अनुगमन गर्ने गरेको विभागले जनाएको छ । संस्थागत ठगीका उजुरीमाथि पीडितको तर्फबाट प्रमाण पुगे क्षतिपूर्ति भराउन सजिलो हुन्छ । कम्पनीले विभागमा राखेको धरौटी रकमबाटै क्षतिपूर्ति दिलाउने गरी ऐनमै व्यवस्था छ । तर व्यक्तिगत ठगीमा भने क्षतिपूर्ति पाउन पीडितलाई सजिलो छैन ।

वैदेशिक रोजगार विभागले एजेण्टको व्यवस्थालाई खारेज गरेको चार वर्ष हुन थालिसक्यो ।त्योभन्दा पहिले म्यानपारल कम्पनीले एजेण्ट राख्ने प्रावधान थियो । तर त्यसले गर्दा वैदेशिक रोजगारीमा हुने ठगी बढेको भन्दै त्यो प्रावधान खारेज भएको थियो । अहिले एजेण्टलाई वैदेशिक रोजगार ऐनले अपराध मानेको छ । तर पनि यसबाट ठगिने क्रम रोकिएको छैन । व्यक्तिगत ठगी रोक्न चुनौती भएको विभागका निर्देशक कृष्णप्रसाद भुसाल बताउनुहुन्छ ।

‘पीडितहरुसँग प्रमाण हुँदैन, प्रमाण नहुँदाकारबाही प्रक्रिया अगाडि बढाउन सकिँदैन, यस्तै ठगी गर्ने आफ्नै नजिकको मान्छे भएकाले कतिपयले त उजुरी नै गर्दैनन्’, भुसाल भन्नुहुन्छ, ‘संस्थागत ठगी भए उनीहरुको धरौटीबाट त झिकेर दिन मिल्छ, व्यक्तिगत ठगी गर्नेहरु त ठगेर फरार भइसक्छन् सुरुमा पक्राउ गर्नुपर्यो अनि बल्ल कारबाही हुन्छ, त्यसैले यसमा लामो समय पनि लाग्न सक्छ ।’ यही कारणले गर्दा उजुरी फर्छ्याेटमा ढिलाइ हुने उहाँको भनाइ छ ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया