वाग्मती प्रदेशमा मन्त्रिपरिषद्ले कहिले पाउला पूर्णता ?

 चैत २९, २०७९ बुधबार ९:६:३९ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – वाग्मती प्रदेशमा मन्त्रीपरिषद्ले अझै पनि पूर्णता पाउन सकेको छैन । पाँच वटा मन्त्रालयको जिम्मेवारी अझै पनि प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले लिनुभएको छ ।

गएको चैत १० गते विश्वासको मत लिएको १६ दिन पछी बल्ल दुई जना मन्त्री नियुक्त गर्नुभएका मुख्यमन्त्री जम्मकट्टेलले अरु पाँच जना मन्त्री कहिले नियुक्त गर्ने भन्ने अन्यौलता पनि कायम छ । प्रदेशका पाँच वटा मन्त्रालयमा मुख्यमन्त्रीको बोर्ड झुण्डीएको छ । तर, काम तीव्र रुपमा अगाडि बढ्न सकेको छैन । कृषि तथा पशुपन्छी, वन तथा वातावरण, श्रम रोजगार, पर्यटन तथा उद्योग र स्वास्थ्य मन्त्रालय मुख्यमन्त्री मातहत छन् ।

मन्त्रिपरिषद् विस्तार नहुँदा मन्त्रालयका धेरै काम प्रभावित भएका छन् । लामो समयसम्म पनि प्रदेशका ५ वटा मन्त्रालयमा मन्त्री नियुक्त हुन सकेका छैनन्। मन्त्रालयमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको नाम छ तर, काम अगाडि बढ्न सकेको छैन । 

५ वटा मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्नु भएका जम्मकट्टेल पनि मन्त्रालय र मुख्यमन्त्री कार्यालयको काम गर्ने भन्दा पनि मन्त्रिपरिषद्लाई कसरी पूर्णता दिन सकिन्छ भन्ने सोचमा लाग्नुभएको छ । मन्त्री स्तरबाट हुनुपर्ने निर्णय हुन सकेको छैन । सबै भन्दा धेरै बजेट खर्च हुने यो अन्तिम चौमासिकमा काम अगाडी बढ्न नसक्दा थप समस्या भएको कर्मचारीहरु बताउँछन् । मन्त्री नआएकै कारण धेरै कामहरु रोकिएको र अगाढी बढाउन समस्या भइरहेको प्रदेश सरकारका एक सचिवले गुनासो गरेका छन् । 

नेपाली कांग्रेसले मन्त्रीको नाम टुङ्गो नलगाउँदा थप मन्त्री नियुक्तमा ढिलाई भएको छ । कांग्रेसको केन्द्रमा मन्त्री पठाउन किचलो भएसँगै वाग्मती प्रदेशमा पनि मन्त्रीका आकांक्षिहरु धेरै भएपछी मन्त्रीको नाम टुङ्गो लगाउनका लागि ढिलाई भएको हो । अब छिट्टै मन्त्रीको नाम टुङ्गो लगाएर पठाउने तयारी भएको नेपाली कांग्रेस वाग्मती प्रदेशका संसदीय दलका नेता तथा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले बताउनुभयो । 

केन्द्रको कारण प्रदेशमा पनि मन्त्रीहरुको टुङ्गो लगाउन समस्या भएको उहाँले बताउनुभयो । केन्द्रमा सत्ता गठबन्धनमा परिवर्तन भएसँगै वाग्मती प्रदेशमा भएको सत्ता समीकरणपछि थप मन्त्रीको नियुक्तमा ढिलाइ भएको छ । फेरिएको गठबन्धनमा रहेका दलबीच भागबण्डा नमिल्दा सरकार विस्तारमा केही दिन ढिलाइ हुने भएको छ । 

प्रदेशमा सत्ता साझेदार प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सरकार विस्तारमा भएको ढिलाइबारे एक–अर्काका कारण भन्दै आरोप लगाउँदै आएका छन् । 

गएको फागुन १३ गते राप्रपाले सरकार छाडेपछि राप्रपाले पाएको तीनवटा मन्त्रालय मुख्यमन्त्री जम्कट्टेलले नै सम्हाल्दै आउनुभएको छ । यस्तै शुक्रबार एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि एमालेले सत्ता भागबण्डामा पाएको मन्त्रालयको जिम्मेवारीसमेत पछिल्लो समय मुख्यमन्त्री जम्कट्टेल दुई मन्त्रालय कांग्रेसलाई दिए पनि अरूलाई दिनुभएको छैन । 

एमाले र राप्रपा सत्ताबाट बाहिरिएसँगै सत्तामा सहभागी भएको कांग्रेसमा मन्त्री हुनेको सङ्ख्या बढेपछि कांग्रेसलाई व्यवस्थापनमा समस्या भएको देखिएको छ । कांग्रेसभित्रको समूह र गुट मिलाउन समस्या भएपछि कांग्रेसले प्रदेश सभा सदस्यको सङ्ख्याका आधारमा मन्त्री पाउनुपर्ने भन्दै धेरै मन्त्रालयको दाबी गर्दै आएको छ । 

कांग्रेस वाग्मती प्रदेश संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले कांग्रेसले मन्त्री भागबण्डा गर्दा छ वटा पाउनुपर्ने दाबी गरेको जानकारी दिनुभयो । माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित चार, कांग्रेसले छवटा माग गरेको, नेकपा (एकीकृत समाजवादी)ले दुईवटा र हाम्रो नेपाली पार्टीले एउटा माग गरेअनुसार भागबण्डा गर्दा अहिले रहेको मन्त्रालय पुग्ने देखिँदैन ।

प्रदेशमा रहेको ११ वटा मन्त्रालयलाई भागबण्डाका लागि मन्त्रालय फुटाएर विवादमा आउने पक्षमा मुख्यमन्त्री जम्कट्टेल नदेखिएपछि सरकार विस्तारमा सकस भएको हो । मन्त्रालय भागबण्डामा सकस भएपछि सहमति निर्माण गर्न कार्यदल गठन गरिएको छ । कांग्रेस वाग्मती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले सरकार विस्तारलगायतका विषयमा सहमति निर्माण गर्न कार्यदल गठन गरिएको जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया