वर्ष २०७९ : ‘शिवानी’ चलचित्रको ५ वटा मात्रै टिकट बिक्री, 'कबड्डी–४' काे सबैभन्दा धेरै बिक्याे

 चैत ३०, २०७९ बिहीबार १३:४६:१२ | रासस
unn.prixa.net

काठमाण्डाै - चलचित्र विकास बोर्डको तथ्याङ्कअनुसार वर्ष २०७९ मा स्वदेशी ५२ र विदेशी ८३ गरी १ सय ३५ चलचित्र प्रदर्शन भएका छन् ।

यद्यपि बोर्डले एक सय ३२ चलचित्रको ग्रस कमाइ सार्वजनिक गरेको छ । वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन् । तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन । बोर्डको विवरणअनुसार ‘सिवानी’ चलचित्रको पाँच टिकट मात्र बिक्री भएको छ । त्यसबापतकाे चलचित्रको कमाइ पाँच सय २० रुपैयाँ भएको छ ।

‘रण’ नामक चलचित्रको ४२ वटा टिकट बिक्री हुुँदा तीन हजार पाँच सय ९६ रुपैयाँ ग्रस कमाइ भएको छ । चलचित्र ‘नरसिम्हा’ को ४९ टिकट बिक्री भएबापत चार हजार आठ सय ३२ रुपैयाँ, ‘चोर र पुलिस’ चलचित्रको एक सय चार वटा टिकट बिक्रीबाट १८ हजार सात सय २५ रुपैयाँ कमाइ भएको छ । 

त्यसैगरी ‘सरी मम’ चलचित्रको एक सय १२ टिकट बिक्री हुँदा २३  हजार सात सय ५२ रुपैयाँ, ‘आँधी तुफान’ चलचित्रको एक सय ४५ टिकट बिक्री भएबापत २८ हजार चार सय ३९ रुपैयाँ, ‘स्वार्ड आर्ट अनलाइन’ चलचित्रको तीन सय छ टिकट बिक्री भएबापत एक लाख ३० हजार ३० रुपैयाँको ग्रस कलेक्सन भएको छ। 

उल्लिखित चलचित्रमा नेपालीसँगै भोजपुरी र विदेशी चलचित्रसमेत छन् । यो वर्ष केही आश गरिएका चलचित्रले दर्शकसँगै बक्स अफिसमा निराश अङ्क ल्याएको छ । बेलायतमा तयार गरिएको चलचित्र ‘गोर्खा : बीनिथ द ब्रेभरी’ को तीन सय ९० टिकट मात्र बिक्री भएको छ । जसबाट चलचित्रले व्यापार एक लाख ४३ हजार तीन सय ७३ रुपैयाँको कमाइ गरेको छ। 

चलचित्र ‘षट्कोण’ ले पनि राम्रो व्यापार गर्न सकेन । कार्म, भोलाराज सापकोटालगायत कलाकारले अभिनय गर्नुभएको चलचित्रको पाँच सय ४८ टिकट मात्र बिक्री भयो । त्यस बापत चलचित्रको ग्रस कमाइ दुई लाख १७ हजार तीन सय २५ रुपैयाँ छ । साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको र गएकाे वैशाख २३ मा प्रदर्शन भएको चलचित्रलाई मिलन डि काप्रीले निर्देशन गर्नुभएको छ । 

सुवर्ण थापाले निर्देशन गर्नुभएको चलचित्र ‘म’ ले निकै कमजोर व्यापार गर्यो । चलचित्रसम्बन्धी अध्ययन गराउने कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुतिमा निराजन प्रधान, निशा अधिकारी, सविन श्रेष्ठ, रुविना थापा, नरेन खड्का, सरिता लामिछाने, सरोज खनाल, संजोग रसाइलीलगायत कलाकारले अभिनय गर्नुभएको चलचित्रको बोर्डले सार्वजनिक गरेको विवरणमा नौ सय ३७ टिकट बिक्री भएबापत दुई लाख ९० हजार आठ सय ४९ रुपैयाँको ग्रस कमाइ छ । 

गएकाे चैत १७ गते प्रदर्शन भएको चलचित्र ‘प्रेमा’ सार्वजनिक प्रचार सामग्रीको कारण चर्चामा थियो । गोविन्दसिंह भण्डारीले निर्देशन गर्नुभएको चलचित्रमा सुवेक्षा खड्का, सृष्टि श्रेष्ठ, अरुण क्षेत्रीलगायत कलाकारले अभिनय गर्नुभएको छ । यद्यपि चलचित्रको तीन सय ५१ टिकट मात्र बिक्री भयो । त्यसबापत चलचित्रको कमाइ एक लाख १० हजार सात सय ७३ रुपैयाँ छ ।

वर्ष २०७९ मा नेपाली चलचित्र ‘कबड्डी ४ : द फाइनल म्याच’ ले सर्वाधिक बढी कमाइ गर्ने रेकर्ड बनाएको छ । ‘कबड्डी’ कै शृङ्खलाको रूपमा अगाडि बढिरहेको ‘कबड्डी ४: द फाइनल म्याच’ लाई रामबाबु गुरुङले निर्देशन गर्नुभएको हो । बोर्डको विवरणअनुसार चलचित्र ‘कबड्डी ४ : द फाइनल म्याच’ को सात लाख ६६ हजार सात सय टिकट बिक्री भएबापत  २१ करोड ३८ लाख १३ हजार चार सय ६२ रुपैयाँ ग्रस व्यापार भएको छ । नेपाली चलचित्रमा यो अहिलेसम्मको सर्वाधिक कमाइ गर्ने चलचित्र हो । 

बाँसुरी फिल्मस्को प्रस्तुतिमा तयार भएको चलचित्रमा सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारीलगायतका कलाकारको अभिनय छ । 

अन्तिम अपडेट: असोज २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया