पदकवालालाई दनक !

 वैशाख ३, २०८० आइतबार १४:१३:२९ | मिलन तिमिल्सिना
unn.prixa.net

नेता र कर्मचारीले देश बरबाद बनाए भनेर एकथरी मान्छे एकोहोरो बर्बराउँछन् । सिंहदरबार र बानेश्वरतिर फर्केर धारे हात लगाउँछन् । व्यवसायी र ठेकेदार सेवा र कामभन्दा मेवा र दामतिर अल्झिए भनेर गनगन गर्छन् । कतिपय डाक्टर, वकिल, इन्जिनियर, सुरक्षाकर्मी र पत्रकारसमेत खत्तम छन् भनेर गाली गर्छन् । सबै मिलेर देश बिगारे भनेर पुर्पुरोमा हात लगाउँछन् । देश बनेन, विकास र समृद्धि गफमै सीमित भयो, अर्थतन्त्र तहसनहस बन्यो भनेर चिन्ता गर्छन् । तर जसले देश बिगार्‍याे भनेर मान्छेले धारे हात लगाइरहेका छन्, उनै मान्छे पालैपालो राष्ट्रपतिकोमा पुगेर ठूल्ठूला पदक र सम्मान थापिरहेका छन् । पदक र सम्मान थाप्न लायक केही औँलामा गन्न सकिनेबाहेक अरू सबैले अर्काको हातबाट धारे हात खाँदै आफ्नो हातबाट पालैपालो पदक थापिरहेकै छन् । 

देशभन्दा आफू, आफ्नो परिवार, नातागोता र आसेपासे बनाउनमै धेरै नेता व्यस्त छन् । देश बनाउने गफ लगाउनुबाहेक नेतासित काम गर्न फुर्सद छैन । कुर्सी र गुटगत स्वार्थबाहेक अन्त ध्यान छैन । कमिसन र भ्रष्टाचारको आहालमा डुबुल्किदै आनन्द छ । तर यो त सबै भन्ने कुरा न हो । भित्रभित्रै त नेताहरू देश भनेपछि मरिहत्ते गर्छन् । नागरिकको खुसीका लागि आफ्नो खुसी बिर्सिदिन्छन् । आफू नखाएर पनि नागरिकको भोको पेट भरिदिन्छन् । देशलाई यो हालतमा पुर्‍याउन उनीहरूको योगदान ठूलो छ । त्यसैले त हरेक वर्ष ठूला पदक पाउनेहरूको सूचीमा नेताहरूकै नाम अगाडि छ ।

दिनदिनै अख्तियारले कुनै न कुनै कर्मचारी घुस काण्डमा मुछिएको नाम सार्वजनिक गर्छ । पियनदेखि हाकिमसम्मलाई खुसी नबनाइकन अड्डा अदालतमा काम हुँदैन । एकैछिनमा हुने कामका लागि हप्ता, महिना दिनसम्म धाउनुपर्छ । घण्टौँ लाइनमा उभिनुपर्छ । थरीथरीका सास्ती र झन्झट खेप्नुपर्छ । यी त तपाईँले देखेभोगेको कुरामात्रै हो । हाम्रो देशका कर्मचारी दामलाई भन्दा कामलाई माया गर्छन् । मेवालाई भन्दा सेवालाई ध्यान दिन्छन् । सेवाग्राहीको काम फटाफट गर्छन् । अनावश्यकरूपमा सेवाग्राहीलाई दुःख र सास्ती दिँदैनन् । घुसलाई भुसजत्तिकै ठान्छन् र देखे नदेखेझैँ गरी आफ्नो काम गर्छन् । महिनावारी तलबमै चित्त बुझाउँछन् । हाकिमदेखि खरदार सुब्बासम्मले सेवा प्रवाहमा सुधार ल्याइसकेका छन् । त्यसैले त पदक र सम्मान पाउनेको सूचीमा धेरै नाम सरकारी कर्मचारीको छ ।

उपभोक्ताहरू भन्छन्– व्यवसायीको मनोमानीकै कारण बजारमा जथाभाबी मूल्य बढ्यो । खाद्यान्नमा कालोबजारी र गुणस्तरहीन सेवाले हैरान पार्‍याे । ठेकेदारले बेलैमा बाटोघाटो र पुल नबनाउँदा धुलो–हिलोले बसिनसक्नुभयो । बनेका सडक र पुल पनि उतिखेरै भत्किए, बिग्रिए । तर यी पनि बाहिर देखिने कुरामात्रै हुन् । व्यवसायी र ठेकेदार पनि पैसाभन्दा बढी गुणस्तरीय काममा मात्रै ध्यान दिन्छन् । देश र उपभोक्ताको हितमा मात्रै काम गर्छन् । त्यसैले त मानपदवी र पदक यिनै ठेकेदार र व्यवसायीका गलामा झुन्डिएका छन् ।

सबैले देखेजानेकै कुरा हो, निजी स्कुलमा पढाइभन्दा व्यापार बढी हुन्छ । किताब कापीमात्रै होइन, पोसाकसमेत बेचेर नाफा कमाउँछन् । विद्यार्थी भर्ना गर्दा अभिभावकको गोजी हेर्छन् । चर्पी प्रयोग गरेबापतको शुल्क लिन्छन् । निजी अस्पतालको त झन् कुरै नगरौँ । निजीमा उपचार गर्न जाँदा घरघडेरी बेच्नुपर्छ । अलिअलि निको भएर फर्कँदा घरको न घाटको हालत हुन्छ । सरकारी अस्पतालमा त सेवा लिनै महाभारत पर्छ । यो त भोग्नेलाई मात्रै थाहा भएको कुरा । असली कुरो त शिक्षक र डाक्टरहरूले समेत आफूलाई सुधार गरिसके । स्कुलमा मात्रै होइन, अस्पतालको सेवासमेत गरिब नागरिकको पहुँचसम्म पुगिसक्यो । त्यसैले त पदक पाउनेको सूचीमा डाक्टर, शिक्षक र प्राध्यापकको सङ्ख्या उल्लेखनीय छ ।

गैरसरकारी सङ्घ–संस्था, वकिल, पत्रकारलगायतसँग पनि मान्छेका धेरै गुनासो होलान् । देश बन्न नसक्नुमा उनीहरूको पनि दोष होला । त्यसैले त नेता, कर्मचारीकै हाराहारीमा उनीहरूलाई पनि पदक थाप्न भ्याइ नभ्याइ छ ।

देश भित्रभित्रै खोक्रो भइसक्यो, टाट पल्टिनमात्र बाँकी छ, नागरिकले दुःख पाए, पहुँचवालाले मनपरी गरे भन्नेहरू अबुझ हुन् । हरेक वर्ष पदक थाप्नेहरूको लाइनबाट थाहा हुन्छ, देश बनाउन सबैले ठूलो योगदान गरिरहेका छन् । औँलामा गन्न सकिने एक, दुई जनाले मात्र होइन धेरैले उत्कृष्ट काम गरिरहेका छन् । देशमा सबै कुरा ठिकठाकले चलिरहेको छ । नागरिक उहिल्यै सुखी भइसके, देश पहिल्यै समृद्ध भइसक्यो । जता फर्के पनि असल, इमानदार र मेहनती मान्छेमात्रै छन् । तर यी सबैको हातमा पदक पर्न बाँकी छ ।

तपाईँलाई पनि पदक थापेर देशलाई योगदान गर्नेहरूको लाइनमा उभिन मन छ ? त्यसो भए चिनेजानेका नेता, कर्मचारी र हाकिमहरूलाई नमस्कार गर्नुहोस् । पाउ मोल्नुहोस् । मजत्तिको उत्कृष्ट कोही छैन भनेर फारम भर्नुहोस् । लौ हजुर मेरो नाम पारिदिनुहोस् भनेर भनसुन गर्नुहोस् । यति गरेपछि अर्को पटक तपाईँको पनि पदक पक्का ।

अन्तिम अपडेट: असार ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया