मोटरसाइकल चोरीमा संलग्न प्रहरी पक्राउ

 बैशाख ६, २०८० बुधबार १३:१४:१ | दीपक भट्ट
unn.prixa.net

प्रतीकात्मक तस्बिर

रामेछाप – पार्किङ्ग गरिराखेको मोटरसाइकल चोरी गर्ने जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत प्रहरी जवान उपेन्द्रप्रसाद भण्डारी प्रकाउ परेका छन् । 

दोलखा जिल्ला मेलुङ्ग गाउँपालिकामा स्थायी घर भई हाल जिल्ला प्रहरी कार्यालय रामेछापमा सवारी चालकमा कार्यरत प्रहरी जवान भण्डारीले मन्थली नगरपालिका–१ का कपडा व्यवसायी रमेश नेपालीको पार्किङ्ग गरिराखेको बागमती प्रदेश ०२–०२८प ०९०७  नम्बरको मोटरसाइकल बैशाख १ गते नयाँ वर्षको दिन राति चोरी गरेका थिए । सदरमुकाम मन्थली बजारको सडक किनारमा पार्किङ्ग गरि राखेको मोटरसाइकल हराएपछि नेपालीले खोजबिनको लागि प्रहरीमा अनुरोध गरेका थिए । 

मोटरसाइकल धनी नेपालीको उजुरीको आधारमा खोजबिनमा लागेको रामेछाप प्रहरीले हराएको मोटरसाइकले मन्थली नगरपालिका–१ हाटेचौरमा एक घरको कोठाभित्र सबै पार्टपुर्जा झिकेको अवस्थामा फेला पारेको थियो । मोटरसाइकलको पाटपुर्जा मात्रै फेला पारेपछि प्रहरीले बजारको सिसिक्यामेराको फुटेज हेर्दा प्रहरी जवान भण्डारीले नै मोटरसाइकल चोरी गरेको देखिएपछि प्रहरी जवान भण्डारीलाई हिरासतमा लिई रामेछाप जिल्ला अदालतवाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिनुभयो । 

यसअघि पनि सदरमुकाम मन्थली र आसपासका क्षेत्रमा पटक–पटक मोरसाइकल चोरी भएका थिए । ती चोरीमा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय रामेछापले कुनै पनि व्यक्ति प्रक्राउ गर्न सकेको छैन । ती चोरीमा पनि प्रहरी जवान भण्डारीकै संलग्नता रहेको हुनसक्ने स्थानीयहरुले आशंका गर्न थालेका छन् ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया