अटोको ठक्करबाट बालिकाको ज्यान गएपछि फरार चालक २६ दिनपछि भारतबाट पक्राउ

 बैशाख १०, २०८० आइतबार २०:३१:१ | हेमराज शर्मा
unn.prixa.net

प्रतीकात्मक तस्बिर

दाङ – अटोको ठक्करबाट बालिकाको ज्यान गएपछि फरार रहेका घोराही उपमहानगरपालिका–१२ गुर्जेका अटो चालक सुवास सुनारलाई २६ दिनपछि भारतको हरियाणाबाट प्रहरीले पक्राउ गरेको छ ।

घोराही उपमहानगरपालिका–१२ गुर्जेकाे पक्की पुलमा नम्बर नखुलेको अटोले गएकाे चैत १६ गते ठक्कर दिँदा तुलसीपुर उपमहानगरपालिका–१७ की पाँच वर्षीया बालिका युविका बुढाथोकीको ज्यान गएकाे थियो । अटोको ठक्करबाट गम्भीर घाइते बालिकाको उपचारको क्रममा चैत २० गते भैरहवा मेडिकल कलेजमा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) राजनकुमार गौतमले जानकारी दिनुभयाे । 

‘प्रारम्भिक अनुसन्धानका क्रममा हरियो रङको अटोले ठक्कर दिएको भन्ने मात्र खुल्न आएको थियो, अरू केही खुलेको थिएन’, डीएसपी गौतमले भन्नुभयो, ‘प्रहरीले सूचना संयन्त्रको प्रयोगसँगै प्राविधिक माध्यम र सीडीआर एनलाइसेसका माध्यमबाट प्राप्त सूचनाको आधारमा सुवासलाई पक्राउ गर्न सफल भएका हौँ ।’ उहाँका अनुसार सुवासले चलाएको रा १ ह ७००३ नम्बरकाे अटोले ठक्कर दिँदा बालिका गम्भीर घाइते भएकी थिइन् । गम्भीर घाइते बालिकको उपचारका क्रममा चार दिनपछि ज्यान गएको थियो ।

डीएसपी गौतमका अनुसार घटना घटेको २४ दिनपछि वैशाख ८ गते प्रहरीले त्याे अटो लुकाएर राखेको अवस्थामा फेला पारि नियन्त्रणमा लिएको थियो । त्यसको दुई दिनपछि अटो चालक सुवासलाई भारतको हरियाणाबाट पक्राउ गरी ल्याउन सफल भएको प्रहरीले जनाएको छ । भारतको हरियाणामा रहेका सुवासलाई भारतीय प्रहरीसँगको सहकार्यमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले पक्राउ गरी ल्याउन सफल भएको डीएसपी गौतमले जानकारी दिनुभयाे ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया