जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि दलबहादुर र मञ्जूलाई

 बैशाख १३, २०८० बुधबार ७:५१:९ | नेत्र शाही
unn.prixa.net

जुम्ला – चौथो जुम्ला–रारा अल्ट्रा म्याराथन २०८० को उपाधि जुम्लाकै दलबहादुर कुँवर र मञ्जु रावतले जितेका छन् । ४९ किलोमिटर दुरीको जुम्ला–रारा म्याराथन दौडको उपाधि पुरुषतर्फ दलबहादुर र महिलातर्फ मञ्जूले जितेकाे हाे ।  

कुवँरले ४ घण्टा ५४ मिनेट १० सेकेण्डमा निर्धारित दुरी पार  गरी प्रथम भए भने ४ घण्टा ५७ मिनेट ५७ सेकेण्डमा पार गरी जुम्लाकै धीर बुढा दाेस्राे र ५ घण्टा ८ मिनेट ४१ सेकेण्डमा तोकिएको दुरी पार गरी शेरबहादुर बुढा तेस्राे भए । यस्तै ५ घण्टा २६ मिनेट ५५ सेकेण्डमा पार गरेर लाल चन्द्र रावल चौथो, ५ घण्टा ३३ मिनेट ८ सेकेन्डमा पार गरेर बहादुर रावतले पाचौँ स्थान प्राप्त गरे ।

महिलातर्फ पहिलाे भएकी मञ्जू रावतले निर्धारित दुरी  ६ घण्टा ६ मिनेट २३ सेकेण्डमा पार गरिन् । ६ घण्टा ५४ मिनेट २७ सेकेण्डमा दुरी पार गरेकी गंगा भण्डारी दाेस्राे र ७ घण्टा ५ मिनेट ४६ सेकेण्डमा पार गरी अनिता बुढा तेस्राे भइन् । ७ घण्टा ५५ मिनेट ३९ सेकेन्डमा उक्त दुरी पार गदै उमाकली बुढा चौथौँ र ७ घण्टा ५९ मिनेटमा पार गदै कुसाबुढा रोकायाले पाचौँ स्थान प्राप्त गरिन् । प्रतियोगिताको उपाधि जित्ने पुरुष, महिला सबै जना जुम्लाकै हुन् । 

४९ किमी जुम्ला–रारा अल्ट्रा म्याराथनमा महिला पुरुष दुवैतर्फका पहिलाे, दाेस्राे र तेस्राे हुने खेलाडीले क्रमशः नगद १ लाख , ७५ हजार, ५० हजार रुपैयाँ र चौथौँ र पाँचौँ हुने खेलाडीले २०/२० हजार नगदसहित प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् । म्याराथन प्रतियोगितामा भाग लिएका खेलाडीहरूले समुद्री सतहदेखि तीन हजार ६०० मिटर उचाइमा दौडेका हुन् । विजेताहरुलाई मंगलबार बिहान रारा तालको किनारमा औपचारिक कार्यक्रम गरि पुरस्कार प्रदान गरिने कर्णाली खेलकुद क्लबले जनाएकाे छ ।

कर्णालीको पर्यटन प्रवर्द्धनका साथै पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा टेवा पुग्ने उद्देश्यसहित हरेक वर्ष कर्णाली खेलकुद क्लबले म्याराथनको आयोजना गर्दै आएको छ ।
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया