‘रेडियोको भविष्य अझै उज्ज्वल छ, तर बदलिंदो परिवेशअनुसारको विषयवस्तु चाहिन्छ’

 वैशाख १६, २०८० शनिबार १३:२०:४५ | हेमराज शर्मा
unn.prixa.net

सूचना प्रविधिको विकास र सामाजिक सञ्जालको प्रयोग बढेसँगै हिजोआज रेडियो सुन्नेहरु घटेका छन् । आर्थिक संकटका कारण कतिपय रेडियो स्टेशनहरु बन्द छन् । कतिपय बन्द हुने अवस्थामा पुगेका छन् । तर रेडियोको प्रभावकारिता हराइसकेको छैन । बदलिंदो परिवेश र श्रोताको चाहनाअनुसारका विषयवस्तुलाई प्राथमिकता दिने हो भने अझै पनि रेडियोको भविष्य उज्ज्वल छ । प्रस्तुत छ, उज्यालोको सञ्चालक संस्था कम्यूनिकेसन कर्नरको २५ औँ वार्षिकोत्सवको अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग गरिएको संक्षिप्त कुराकानी :

जसरी पहिले रेडियोहरुको संख्या निरन्तर बढिरहेको थियो, अहिले बन्द हुने क्रम बढिरहेको छ । किन यस्तो भएको होला ?

यसमा दुई, तीन वटा कुरा कारण छन् जस्तो लाग्छ मलाई । एउटा त हिजो गाउँठाउँमा सूचना र जानकारी पुर्‍याउने रेडियो मात्रै भरपर्दो साधन थियो । तर अहिले अवस्था फेरिएको छ । सूचना र प्रविधिमा आएको विकाससँगै अरु माध्यम पनि विकास हुन थाले । हिजो जस्तो रेडियो सुन्नेहरु आज छैनन् । अब मानिससँग सूचनाका लागि धेरै प्रविधि विकास भएका छन् । 

दोस्रो कुरा बदलिंदो समयसँगै हामी व्यक्ति र संस्थाहरु पनि परिमार्जन हुन जरुरी छ । बलदिंलो समयसँगै आफूलाई बदल्नुपर्ने समाज विज्ञानको नियम पनि हो । यो कुरा हामीले गम्भीरताका साथ बुझ्नुपर्छ । संख्यात्मक रुपमा हामी धेरै खुल्यौं। तर क्वालिटीमा कति प्रतिस्पर्धा गर्न सक्यौं त ? रेडियो सञ्चालकहरुले समसामयिक विषयवस्तु, श्रोताको रुचि आवश्यकतामा कति ध्यान दिन सक्यौं ? हाम्रो विषयबस्तु कत्तिको समसामयिक रहे भन्ने कुरा हो । 

तेस्रो कुरा राज्यले बनाउनुपर्ने नीति नियम नबनेका पनि हुन सक्छन् । राज्यका जुन नीति नियम जुन बन्नुपर्थ्याे, त्यहाँ समस्या भएर पनि हुन सक्छन् । 

हिजो रेडियो चलाउने रहर र होडबाजी जस्तै थियो । हिजोका रहरलाई आज प्रतिस्पर्धामा उतार्नु पर्ने हो । बदलिंदो समयमा श्रोताको रुची र चाहनालाई ख्याल गरेर विषयवस्तु बनाउनेहरु बाँचिरहेका पनि छन । त्यसैले कस्ता विषयवस्तु दिंदा आफ्नो अस्तित्व कायम रहन सक्छ भन्ने कुरा रेडियोले बुझ्न आवश्यक छ ।

न्युन आर्थिक अवस्था भएर बन्द हुन लागेका एफएम रेडियोहरुलाई मर्ज गर्ने नीति ल्याउँदा के होला ?

हामीले त रेडियो नेपाल र नेपाल टेलिभिजनलाई मर्ज गर्नपर्छ भनेर कानुन बनाएर प्रतिनिधिसभामा पठाएका छौं । छलफल होला, संशोधन होला । यो गर्न नहुने भन्ने कुरा होइन । झन् राम्रो हुन्छ । उपकरण, दक्ष जनशक्ति सबै मर्ज हुन सक्दा गुणस्तर पनि बढ्न सक्छ । तर मर्ज गर्ने कुरा बाध्यात्मक होइन, यो स्वेच्छिक कुरा हो । आफ्नो रुची र क्षमता मिल्नेहरु मर्ज हुन्छौं भन्ने कुरा राम्रो हो ।

रेडियोले विषयवस्तु बनाउँछ, तर रेडियोको विषयवस्तु बेचेर अरुले नै नाफा कमाइरहेका छन् । यो रेडियो मात्रै हैन, विषयवस्तु तयार गर्ने सबै मिडियाको समस्या पनि हो । उत्पादक र प्रसारकको फरक अस्तित्व स्थापित हुँदै गर्दा उत्पादकहरुले उत्पादन गरेको सामाग्रीको मूल्य बजारले प्रसारणको प्रविधितर्फमात्रै पुर्‍याएको छ । सरकारले यो समस्या समाधानको लागि के पहल गर्छ ?

तपाईंले भन्नु भएजस्तै किसानले उत्पादन गर्छ, त्यसको फाइदा बिचौलियाले लिन्छ । उत्पादक किसान घाटामा र उपभोक्ता पनि घाटामा हुन्छन् । तर बिचौलियामा भने फाइदामा भनेजस्तै यो विषय पनि यस्तै हो जस्तो लाग्छ । काम गर्नेले मुनाफा लिनुपर्छ भन्ने हो । तर यो विषयमा धेरै छलफल हुँदैन । यो विषयमा ब्यापक छलफल गरी निष्कर्षमा पुग्न जरुरी छ ।

गणतन्त्र ल्याउँदा होस्, भूकम्प वा कोभिड जस्ता प्राकृतिक प्रकोपमा पनि रेडियोबाट धेरै सकारात्मक भूमिका निर्वाह भएको यहाँलाई अवगतै छ । तर एफएम रेडियोहरु बिस्तारै संकटतिर धकेलिएका देखिन्छन् । यसलाई उठाउन सरकारले नीति ल्याउन ढिलो भयो कि ?

दुई प्रकारबाट सोच्नुपर्छ यसलाई । राज्यले सम्वोधन गर्नुपर्ने कुरालाई नीति बनाएर दीर्घकालिन रुपमा सोच्न जरुरी छ अर्को सञ्चालकहरु स्वयंले पनि आफू कसरी अगाडि बढ्ने र टिक्ने भनेर बदलिंदो परिवेशअनुसार आफूलाई रुपान्तरण गर्नुपर्छ । रेडियोहरुले बिगतमा निकै मिहनेत गरे । नागरिकलाई सुसूचित गर्न निकै दुःख गरे । हामी त झन डोकोमा रेडियो बोकेर काम गरेका मान्छे हौं । हिजो राम्रो गरेका ती रेडियोहरु अस्तित्वको संकटमा छन् । जो राम्रो गर्दागर्दै पनि संकटमा छन् तिनीहरुका बारेमा गम्भीर ढंगले सोच्नुपर्ने भएको छ । 

अर्कोतिर रेडियो सञ्चालक र रेडियोकर्मीहरुले बदलिंदो परिवेश र श्रोताको चाहनाअनुसारको विषयवस्तु तयार पार्न आवश्यक छ । अहिले हिजोकोजस्तो अवस्था छैन । सूचना पाउनको लागि धेरै वैकल्पिक माध्यमहरु छन् । बदलिंदो समय र श्रोताको रुची चाहना बुझ्न सक्नेहरुलाई अझै पनि अवसर छ ।  

नेपालका रेडियो सञ्चालकहरुलाई तपाईंको सल्लाह के छ ? 

सूचना र प्रविधिमा आएको आएको परिवर्तन र श्रोताको रुचीलाई बुझ्न जरुरी छ । अबको प्रतिसपर्धा भनेको गुणस्तर र समयको माग अनुसारको विषयवस्तु नै हो जस्तो लाग्छ मलाई । लक्षित श्रोतालाई केन्द्रीत गरेर कार्यक्रम बनाऔँ, त्यसका लागि कस्ता विषय चाहिन्छ त्यसतर्फ ध्यान दिऔं । चलेका रेडियोले दिएका विषयवस्तु, उपकरण यी सवैको अध्ययन गरौं । अनि आफैं थाहा हुन्छ के कारण चलियो वा किन चलिएन भन्ने । समस्याको पहिचान आफैं गर्ने हो । समस्या आआफ्ना हुन सक्छन । यसलाई बुझेर अघि बढ्ने हो भने रेडियोको भविष्य अझै उज्ज्वल छ भन्ने मलाई लाग्छ । गाउँ ठाउँसम्म सूचना र जानकारीको लागि अझै पनि रेडियो प्रभावकारी माध्यम हो । तर रेडियोले दिने विषयवस्तु बदलिंदो परिवेश र श्रोताको चाहनाअनुसार हुनु जरुरी छ ।

अन्तिम अपडेट: असोज २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया