आज सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै : साइबर अपराध र सुरक्षामा चुनौती बढ्दै

 वैशाख १९, २०८० मंगलबार ८:२६:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै - आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदैछ । ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने नाराका साथ छैटौँ ‘आईसीटी डे’ मनाउन लागिएको हो । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार दिवसका अवसरमा सूचना प्रविधिको क्षेत्रमा योगदान दिएकालाई सम्मान गरिनेछ ।

सूचना प्रविधिको प्रयोगबाट हुने साइबर अपराध कसरी रोक्न सकिन्छ भनेर थप छलफल र अध्ययन गर्ने उहाँको भनाइ छ । नेपालमा कम्प्युटर एसोसिएशन नेपाल (क्यान) सन् १९९२ मा स्थापना भएको थियो, क्यान स्थापना भएको दिनलाई सूचना प्रविधि दिवसका रूपमा मनाउन थालिएको हो।

नेपालमा २०२८ सालमा कम्प्युटर भित्रिएको थियो । सरकारले सूचना प्रविधिको उपयोग गरी आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा रुपान्तरण गर्ने उद्देश्यका साथ डिजिटल नेपाल फ्रेमवर्क २०७६ कार्यान्वयनमा ल्याएको छ ।

सूचना तथा सञ्चार प्रविधिको विकास र विस्तारसँगै साइबर अपराध पनि बढ्दै गएको छ । ह्याकिङ, बौद्धिक सम्पत्ति चोरी, क्रेडिट कार्ड क्लोनिङ, फिसिङ, व्यक्तिको मानहानि, सफ्टवेयर पाइरेसी, झुटा इमेल, यौन उत्पीडन, साइबर बुलिङलगायतको जोखिम बढेको छ ।

ह्याकर र साइबर अपराधीले नेपालका सूचना तथा सञ्चार प्रविधि सम्बन्धी गतिविधिलाई नियालिरहे पनि रोकथाममा प्रभावकारी काम हुन सकेको छैन ।  केही समय अघि इजरायल र फ्रान्स लगायत देशबाट नेपालको सरकारी डाटा सेन्टरमा आक्रमण भएको थियो । त्यसैका कारण सरकारी वेबसाइटहरू केही समय बन्द भएका थिए भने अध्यागमन विभागमा समेत असर परेको थियो । केही वर्षपहिले पनि सरकारी डाटा सेन्टरमा साइबर आक्रमण भएर सरकारी वेबसाइटहरू बन्द भएका थिए ।

राज्यले नागरिकको डाटा सुरक्षा गर्न नसक्दा सरकारी सेवाहरूप्रतिको विश्वास गुम्दै गएको छ । यसैबीच, दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक क्षेत्रबाट प्रवाह हुने सेवा थप प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभएको छ । साथै उहाँले साइबर सुरक्षाको बढ्दो चुनौतीलाई ध्यानमा राखेर आवश्यक नीति नियम र संरचना बनाउने कामलाई सरकारले प्राथमिकता दिएको बताउनुभएको छ ।

यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दूरसञ्चार सेवालाई गुणस्तरीय र भरपर्दो बनाउन फोर–जी सेवा देशभर विस्तार गरिएको दाबी गर्नु भएको छ। 

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया