शिक्षक सरुवाकाे निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालत तुलसीपुरकाे आदेश

 बैशाख २०, २०८० बुधबार १९:३३:५५ | हेमराज शर्मा
unn.prixa.net

दाङ – उच्च अदालत तुलसीपुरले घोराही उपमहानगरपालिकाले गरेको शिक्षक सरुवा तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

उच्च अदालत तुलसीपुरका कायममुकाम मुख्य न्यायाधीश रणबहादुर बागचनको इजलासले उपमहानगरकाे निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएकाे हाे । ‘घोराही उपमहानगरपालिकाको शिक्षा ऐन २०७५ को दफा ३१ तथा शिक्षा नियमावली २०७६ को नियम २५ को व्यवस्था र २०७६ को नियम ४९ को सरुवासम्बन्धी व्यवस्थाको सन्दर्भमा विपक्षी घोराही उपमहानगरपालिकको शिक्षा समितिबाट २०७९ चैत ८ गते भएको निर्णय सुविधा सन्तुलनको दृष्टिले अहिले कार्यान्वयन नगरि यथास्थितिमा राख्न उपयुक्त देखिँदा प्रस्तुत रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म कार्यान्वयन नगर्न/नगराउन आदेश भएको छ’, आदेशमा भनिएकाे छ ।

यस मुद्दामा उच्च अदालतकी न्यायाधीश बबिता उप्रेति र न्यायाधीश राजुराम सिलवालको संयुक्त इजलासबाट फरक–फरक राय आएपछि आजसम्मका लागि मुद्दा सरेको थियो । आजको अन्तरिम आदेशले न्यायाधीश राजुराम सिलवालको धारणालाई सदर गरेको हाे ।

घोराही उपमहानगरले गएकाे चैत ८ गते एक सय एक जना शिक्षकको सरुवा गरेपछि पद्मोदय पब्लिक नमुना मावि भरतपुरका शिक्षक तर्कबहादुर बस्नेतसहितका शिक्षकले मुद्दा दर्ता गर्नुभएको थियो । नगरपालिकाले गरेको सरुवाको विरोधमा शिक्षक महासङ्घसहित पेसागत सङ्गठन चरणबद्ध आन्दोलनमा छन् ।

अन्तिम अपडेट: चैत १५, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया