भ्रष्टाचारीको मुखै हेरिन्नँ, लुक ! भ्रष्टाचारको कुरै सुनिन्न चुप !

 बैशाख २४, २०८० आइतबार १४:५३:३६ | मिलन तिमिल्सिना
unn.prixa.net

तलतिरको लहरो तानेको चाल पाएपछि नेताजीले माथि पहरोतिर हेरे । पहरोको फेददेखि टुप्पोसम्म लहैरैलहरा जेलिएको छ । लहरामा आफू नभएर अर्को मात्रै जेलिएको भए र उ जेलिएको पहरो मात्रै खस्ने भए त ठिकै थियो । तर आफू र आफ्ना मान्छेदेखि विपक्षी र उसका मान्छेसम्म सबै त्यही लहरोमा जेलिएका छन् । तलको लहरा यसैगरी तानिन थाल्यो भने माथितिरका लहरामा अल्झेका सबै पहराबाट गुल्टिन्छन् । लहरोका भरथेगमा जो-जो अडिएका छन्, ती सबै पहरो बनेर खस्ने भएपछि सबै स्वाहा ! 

के-के न गर्छौँ भनेर कत्रा खत्रा सपना देख्ने मान्छेको यत्रो जमात जाबो एउटा त्यान्द्रो लहरा चुडिँदा स्वाहा भए भने देश कसले बनाउँछ ? लहरो तानिन थाल्यो भनेर मख्ख पर्दै पहरोतिर फर्केर ताली पिट्ने ठेट्नाहरुले देश धान्न सक्छन् ? कदापि सक्दैनन् । तर भने जस्तो कहाँ हुँदो रै'छ र ? देश धान्न खोज्ने विपक्षीको लहरो तान्दा आफैँ पहरोमा पर्ने भएपछि लहरो तान्न छाडेर पहरो खस्नबाट जोगिनै पर्ने बाध्यता आइलाग्यो । यही बाध्यता बुझेर नेताजीले विपक्षी नेताजीसँग बातचित गर्ने विचार गरे ।

हेलो नेताजी के छ हालखबर ?

हाल पनि ठिक छ, खबर पनि ठिक छ । अहिलेसम्म अर्को गठबन्धन गरिहाल्नुपर्ने अवस्था देखिँदैन । जनस्तरबाट स्याबासी र वाहीवाही बढेजस्तो लागेर आफ्नो काँधमा आफैँ धाप मारेर बसेको छु । बरु तपाईँलाई पो सञ्चो छैन जस्तो छ त, अनुहार पनि मलिनो देख्छु ।

तपाईँलाई पनि सञ्चो नहुनुपर्ने हो । बिसञ्चो हुनुपर्ने बेलामा पनि तपाईँको चुरीफुरी देखेर पो उदेक लागेको छ ।

मलाई के नपुग्दो छ र बिसञ्चो हुनलाई ? यताउता जानलाई झण्डावाल गाडी छँदैछ, झरी र घाममा हिँड्न परेको छैन । झण्डा हल्लाएर हिँड्न पाउँदासम्म खान लाउन दुःख भएन । टाउको साह्रो र भुँडी गिलो हुन लागेजस्तो भयो भने उपचारको लागि विदेश पुग्ने बाटो अझै खुलै छँदैछ । 

म गर्छु आग्राको कुरा, तपाईँ गर्नुहुन्छ गाग्राको कुरा । यति जाबो सुविधा त हामीलाई पनि छ नि । खानको लागि मुख बढी आँ गर्दा र लाउन भुँडी फुलाउँदा बिसञ्चो होलाजस्तो भयो । कहिले आफ्नो लागि, कहिले आफ्नाका लागि लामो हात गर्न खोज्दा लहरो तानिएर पहरो खस्न लागेको थाहा पाउनुभएन ?

ए, कुरा तेस्तो पो । हेर्नुस् नेताजी अहिलेको यो लहरोमा हामी तानिएका छैनौँ । तपाईँहरुका मान्छे, अर्का नेताजीका मान्छे पो तानिएको देख्छु । हाम्रा मान्छे तानिएका भए हामी अस्ति नै सडकमा उफ्रेर सबैलाई तर्साइसकेका हुन्थ्यौँ । त्यसमाथि अहिले डाडुपन्युँ हाम्रै हातमा छ, हामीले जे भन्यो त्यही हुन्छ । अनि आफ्नै खुट्टामा हामी किन बञ्चरो हान्थ्यौँ होला र । त्यसैले अहिले लहरो तानिँदा हाम्रो रौँ पनि हल्लिँदैन । लहरो सबै तानिएर पहरो खस्यो भने पनि तपाईँहरु पुरिनुहोला, हामीलाई केही हुँदैन । बरु हामी त लहरो अझै तान्ने पक्षमा छौँ ।

ए डाडुपन्युँ सधैँ आफ्नै हातमा हुन्छ भन्ने ठान्नुभएको छ ? डाडुपन्युँ समाउने पालो हाम्रो आउँदैन ? धेरै बुरुकबुरुक नगर्नुस् नेताजी, तपाईँका डाडुपन्युँ समाउने हात लुला भैसके । हामीले डाडुपन्युँ समाउन थाल्यौँ भने के होला ? उ त्यहाँ माथि हेर्नुहोस् त, त्यो लहरोमा को जेलिएको छ ? छेउको, माथिको, अलि परको, तलको लहरो पनि हेर्नुस् त । सबैतिर आफ्नै अनुहार देख्नुभयो होला नि ! हाम्रो हातमा डाडुपन्युँ भएको बेला हामीले त्यो लहरो तान्यौँ भने के होला तपाईँको हालत ! अहिले तपाईँहरुले लहरो तान्दा मलाई त हुनेवाला केही छैन, पहरो खसेर मेरा केही मान्छे पुरिएलान् । तपाईँको लहरो तानिएर पहरो खस्दा त सबैभन्दा पहिले तपाईँ पुरिनुहुन्छ, नेताजी । थाहा छ कि छैन ?

ओहो यतातिर त मैले हेरेकै पो थिइनँ । कुनैदिन डाडुपन्युँ तपाईँको हातमा पर्छ भन्ने हेक्का नै राखेको रहेनछु । अहिले तपाईँहरु जेलिएको लहरो धेरै तान्न थालियो भने त भोलिपर्सि तपाईँले हाम्रो लहरो बाँकी राख्नुहुन्न, हैन त ?

बाँकी राख्ने त कुरै भएन नि । त्यसैले नेताजी तपाईँको आलोपालोको सूत्र यसमा पनि काम लाग्छ । तपाईँको पालोमा तपाईँ चुप लाग्ने, हाम्रो पालामा हामी चुप लाग्ने ।

त्यो त हो नेताजी, तर भ्रष्टाचारको जरै उखेलेर फालिन्छ भ्रष्टाचारीलाई पाता फर्काइन्छ भनेर धेरै बुरुकबुरुक गरियो, भाषण ठोकियो ।

फेरि गर्ने नि बुरुकबुरुक । भाषण गर्न त कसले रोक्छ र ? भाषण गर्दैमा काम गर्नुपर्छ भन्ने छैन क्यारे । त्यस्ता भाषण तपाईँले कति गर्नुभयो, मैले कति गरेँ । फेरि गरिरहने हो ।

....

हैन तपाईँका पछिल्तिर छेल परेर बसेको मान्छे को हँ ? चिनेचिनेजस्तो लाग्छ त ।

खै, ए टापबहादुरजी यतै छेल परेर पो बस्या रहेछन् ।

अनि टापबहादुरजी भूमिगत भएको भन्ने पो सुनेको थिएँ त । 

अनि भूमिगत हुने भनेको माटोमुनी नै बस्ने हो र ? उबेला तपाईँ हामी भूमिगत हुँदा माटोमुनि बस्थ्यौँ ? अहिले चिल्ला कार र भव्य महलमा बस्न थालेपछि नेताजीले सबै बिर्सनुभयो जस्तो छ ।

ल ल सबैले देखिने र सुनिने गरी यसरी हिँड्ने र बोल्ने होइन । हामी त भ्रष्टाचारीको मुख नै हेर्दैनौँ, लुक, लुक !

हामी त झन् भ्रष्टाचार र भ्रष्टाचारीको कुरै सुन्न चाहँदैनौँ । त्यसैले तपाईँ पनि चुप, म पनि चुप !

अन्तिम अपडेट: चैत १३, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया