२० वर्षदेखि काठमाण्डाैकाे फाेहाेर उठाइरहेका राजेन्द्र : ‘मातृभूमि सफा गर्न पाउँदा गर्व लाग्छ’

 बैशाख २७, २०८० बुधबार १८:२२:११ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाण्डौमा फोहोर थुप्रेको, फोहोर उठेको कुराहरु बेलाबेला समाचार बनिरहन्छन् । तर फोहोर उठाउनेका कथा/व्यथा भने फाेहाेरको थुप्रोमै हराउँछन् र ट्रकमा ‘लोड’ भएर सिसडोलमा झर्छन् । तिनै फोहोर उठाउनेका कथालाई मान्छेका कानसम्म पुर्‍याउन भनेर काठमाण्डौका गल्लीहरु डुल्दै गर्दा बागबजारको भित्री गल्लीमा भेटिनुभयो राजेन्द्र देउला ।

बिहान ९ बजे । बागबजारमा विभिन्न कक्षा लिन विद्यार्थीहरु यही बाटो भएर आउजाउ गरिरहन्छन् । बाटोमा थुप्रिएको फाेहाेरले कसैलाई अप्ठेरो नहोस् भन्दै राजेन्द्र र उहाँका साथी हतारहतार फोहोर उठाउँदै ट्रकमा ‘लोड’ गर्न व्यस्त देखिन्छन् ।

एक जनाले सडक छेउमा थुप्रिएको सबै फाेहाेर बेल्चाले सोहर्दै पालको टुक्रामा जम्मा गरे । राजेन्द्रले अर्का साथीको सहयोगमा त्यो सबै फोहोरलाई ट्रकमाथि हुर्याउनुभयो । 

काठमाण्डौको जोरपाटीका राजेन्द्रले यसरी फोहोर उठाउन थाल्नुभएको २० वर्ष भइसक्यो । बिहान साढे पाँच बजे नै उहाँ बागबजार आइपुग्नुहुन्छ । पौने ६ बजेदेखि सुरु हुन्छ काम । दिउँसो १२ बजेसम्म चल्छ । कहिले त ३/४ पनि बज्छ । उहाँको ड्युटी प्रायजसो यही क्षेत्रमा पर्छ । अघिल्लो दिनभरि यहाँका घर, होटल, पसल, कार्यालयबाट निस्केर जम्मा भएको फोहोरले बिहानै सहरलाई दुर्गन्धित बनाइरहेको हुन्छ । बाटोमा हिँड्न पनि नाक खुम्च्याउँछन् मान्छे । तर बाल्यकाल र जवानी फोहोरसँग खेलेरै बिताउनुभएका राजेन्द्रको नाकले फोहोरको गन्ध पचाइसक्यो । उहाँको दिनको सुरुवात नै फोहोरको थुप्रोमा हात घुसारेर हुन्छ ।

‘६ कक्षा पढ्दापढ्दै पढाइ छाडियो, घरमा आर्थिक समस्या थियो, त्यसपछि दाइहरुको पछि लागेर यही काम गर्न थालियो’, राजेन्द्र पुराना दिन सम्झिनुहुन्छ, ‘दाइहरु पनि यस्तै काम गर्नुहुन्थ्यो, सुरुसुरुमा त मलाई फोहोर काम गर्न सक्दैनस् भन्थे, पछि त बानी नै परिगयो नि ।’

झट्ट हेर्दा बब मार्लीको जस्तो ‘लुक्स’ । ‘ड्रेड लक स्टाइल’ कपाल । हातमा ट्याटु । बोलीमा मिठास । स्वभावमा अलि लजालु राजेन्द्र अहिले ३६ वर्षका हुनुभयो ।

देशमा राजतन्त्र छँदादेखि नै यहाँको फाेहाेरसँग नजिकको साइनो छ राजेन्द्रको । उहाँले वि.स. २०६० सालदेखि काम गरिरहनुभएको छ सरसफाइकर्मीको रुपमा । काठमाण्डौको बौद्धमा रहेको फूलबारी स्कुलमा उहाँले ६ कक्षासम्म पढ्नुभयो । घरमा आर्थिक समस्या भएपछि उहाँले पढाइ छाड्नुभयो । सरसफाइको काम गरिरहनुभएका दाइहरुसँगै पछि लाग्नुभयो । फोहोरका खातहरुमा पस्न थाल्नुभयो । घरघरमा पुगेर फोहोर उठाउन थाल्नुभयो । देशमा गणतन्त्र आएको, नयाँ संविधान जारी भएको पनि यही फाेहाेरको थुप्रोमै सुन्नुभयो । अहिले पनि देशमा भइरहेको विकास, मानिसहरुको जीवनमा आएको परिवर्तन यही फाेहाेरको थुप्रोमै भेटाउनुहुन्छ राजेन्द्रले ।

‘अहिले मानिसहरुले पहिले भन्दा फरक खानेकुरा खान्छन्, पहिले प्लास्टिकभित्रको खानेकुरा कमै खान्थे होला, अहिलेकोजस्तो धेरै हुँदैनथ्यो, अहिले त हरियोपरियो भन्दा बढी त्यही छ’, यस्तै उहाँलाई रक्सीको चलन पनि बढेको हो कि भन्ने लाग्छ, ‘बियर रक्सीका बोतल पनि कति धेरै हुन् !’ 

यति हुँदा पनि पहिले भन्दा अहिले नागरिकमा फाेहाेर व्यवस्थापनबारे चेतना बढेको हो कि भन्ने लाग्छ उहाँलाई । पहिले झ्यालबाटै सडकमा फोहोर फाल्थे । एकपटक त त्यसरी फालेको फोहोर उहाँकै शरीरमा पनि परेको थियो । तर अहिले धेरै वर्ष भइसक्यो राजेन्द्रले यस्तो दृश्य नदेखेको । नभोगेको । 

‘त्यतिबेला मानिसहरु बुझ्दैनथे, बाटोमै फोहोर फाल्थे, सफा गर्न गाह्रो हुन्थ्यो, अहिले घरघरमा राख्छन्, पहिलेभन्दा काम गर्न सजिलै छ’, आफ्नो पेसाप्रतिको खुशी यसरी पनि मिल्छ राजेन्द्रलाई । 

देशमा धेरै कुरा बदलिए । मान्छेमा चेतना आयो । जीवनशैली बदलिँदै गयो । सहरमा घरहरु थपिँदै गए । जनसंख्या बढ्दै गयो । महँगी पनि आकाशिँदै गयाे । तर २० वर्षको यति लामो अन्तरालमा उहाँको पारिश्रमिकमा भने खासै बढोत्तरी भएन । त्यतिखेर ८/९ हजार रुपैयाँ थियो । अहिले बढेर १२ हजार रुपैयाँ पुगेको छ । यो कुरा सम्झिँदा भने राजेन्द्रको मन कटक्क दुख्छ ।

‘पुग्दैन यो कमाइले’

सरसफाइकर्मीकै कारण सफा हुन्छ नगर । नाक थुनेर हिँड्नुपर्ने अवस्थाको अन्त्य हुन्छ । तर यस्तो अवस्था बनाउन महत्वपूर्ण भूमिका खेल्ने सरसफाइकर्मी भने सधैँ पर्दापछाडि नै हुन्छन् । न कसैले उनीहरुको कामको चिन्ता गर्छ, न पारिश्रमकको मत्लब । 

‘बरु कसरी गर्न सकेको यो काम भन्छन्, राम्रोसँग फोहोर उठाउ है भन्ने आदेश दिन्छन् हाम्रो तलबको मत्लब त कसलाई हुन्छ र ?’, राजेन्द्रले हातको पञ्जा खोलेर टाउकोमा परेको फोहोर टिप्दै भन्नुभयो, ‘काम अनुसारको दाम भएन के ।’ 

राजेन्द्र एक निजी कम्पनी (राजेन्द्रकै आग्रहमा कम्पनीको नाम नखुलाइएको) मार्फत काठमाण्डौ महानगरको सरसफाइकर्मीको रुपमा कार्यरत हुनुहुन्छ । त्यो कम्पनीले उहाँलाई महिनाको १२ हजार रुपैयाँ तलब दिन्छ । दैनिक ७/८ घण्टा खट्नुपर्छ । उहाँ काम गर्ने कम्पनीका सरसफाइकर्मीको सबैको यति नै तलब छ । तर कुनै कम्पनीमा भने बिहान ६ देखि साँझ ६ बजेसम्म खट्नुपर्ने भएमा १८ हजार रुपैयाँ जति दिने गरेको राजेन्द्रको भनाइ छ । 

यति रुपैयाँले जीवन धान्न गाह्रो छ उहाँलाई । तलब बाहेक अन्य सुविधा पनि केही छैन । सरकारले तोकेको न्युनतम सेवासुविधा पनि नपाएको गुनासो गर्नुहुन्छ राजेन्द्र । काठमाण्डौ महानगरले निजी कम्पनीहरुलाई अनुगमन पनि नगर्दा आफूहरुको समस्याबारे कसैको ध्यान पनि नगएको उहाँ बताउनुहुन्छ । 

‘महानगरले नियमित अनुगमन गरेमा सरकारले तोकेबमोजिम तलब त पाइन्थ्यो होला नि, तर गर्दैन’, उहाँ भन्नुहुन्छ, ‘बरु यति बजेसम्म जसरी भए पनि सफा गर्नुपर्यो, राम्रो हुनुपर्यो भनेर आदेश चाइँ दिइरहन्छ ।’ 

बुवाआमाका नौमध्ये आठौँ सन्तान राजेन्द्र । दाजुभाइ पाँच जना । दिदी बिहनी चार जना । सबैको बिहे भइसक्यो । दाजुभाउजूहरु पनि दैनिक ज्याला मजदुरी गरेर जीविका चलाउनुहुन्छ । राजेन्द्रले भने बिहे गर्नुभएको छैन । यतिको कमाइले आफ्नै ज्यान धान्न नसकिरहेको बेला दुई ज्यानलाई कसरी पाल्ने भन्ने कुराले उहाँले बिहेलाई पन्छ्याउँदै आउनुभएको छ ।

‘आफ्नै ठेगान छैन, बिहे गरेर के गर्ने ?’, राजेन्द्रले गम्भीर मुद्रामा भन्नुभयो ।

हुन पनि काठमाण्डौजस्तो महंगो ठाउँमा १२ हजार रुपैयाँले के के गर्न पुग्छ र । धन्न फोहोरसँगै आउने फलाम, प्लास्टिक लगायत बेच्न मिल्ने कुराहरु कवाडीमा बेचेर खाजाखर्च जोहो हुन्छ । राजेन्द्र भन्नुहुन्छ, ‘त्यहीभएर टिकिरहेका छौँ ।’ 

जोखिम धेरै छ

फाेहाेरसँगको काम जोखिम हुन्छ । संक्रमण फैलिने फाेहाेरबाटै हो । काँचका टुक्रादेखि प्रयोग भएका सुई, बच्चाको गु, रगतका फाटा, खिया लागेका फलाम सबै फोहोरमै लपेटिएर आउँछन् । यी सबैलाई धुन्नुपर्छ सरसफाइकर्मीले । 

विभिन्न संक्रमण र चोटपटकबाट बच्न राजेन्द्र तथा उहाँका साथीहरुले प्रयोग गर्ने भनेको हातमा पन्जा र मुखमा मास्क नै हो । कुनै कम्पनीले बुट दिन्छन्, कुनैले दिँदैनन् । राजेन्द्रले अहिलेसम्म कम्पनीबाट बुट पाउनुभएको छैन । 

यसरी काम गरिरहँदा स्वास्थ्यदेखि सबैकुरामा असर पर्छ । सास फेर्न गाह्रो हुन्छ । छाती, टाउको दुख्ने भइरहन्छ । हातखुट्टा काटिनु त सामान्य जस्तै भएको छ । वर्षमा पाँच छ चोटी रुघाखोकी लागिरहन्छ । राम्रो उपचारको व्यवस्था पनि हुँदैन ।  

‘सानोतिनो रोग लागेमा त कम्पनीले नै पनि उपचार गरिदिन्छ । तर ठूलो रोग लागेमा कम्पनीले पनि खर्च आधा आधा गरौँ भन्छ’, राजेन्द्र भन्नुहुन्छ, ‘त्यसैले ठूलै रोग लाग्छ कि भन्ने डरैडरमा बाच्नुपर्छ ।’ 

यस्तै, सरसफाइकर्मीलाई कहिले कुकुरले लखेट्छन् । तर यो समस्याको समाधान भने राजेन्द्रले खोजिसक्नुभएको छ । त्यस्तोबेला उहाँले गोजीमा बिस्कुट बोकेर राख्नुहुन्छ । भुक्न थाल्यो कि बिस्कुट दिनुहुन्छ । कहिलेकाहीँ फोहोरमा आएको मासु दिनुहुन्छ । अनि कुकुर पुच्छर हल्लाउँदै आउँछन् । 

बेलाबेला कोठमाण्डौको फाेहाेर थुपार्ने ठाउँ सिसडोलबासीले विरोध गर्छन् । काठमाण्डौमा जताततै फोहोरको खात लाग्छ । त्यस्तोबेला झन् संक्रमणको जोखिम बढी हुन्छ । यस्तै विरोध गरिरहेको बेला फोहोर झार्न सिसडोल जानुपरे आक्रमणमा पो परिन्छ कि भन्ने धकधकी पनि मनमा लागिरहन्छ । भन्नुहुन्छ, ‘हतियार लिएर आएका हुन्छन्, उस्तै परिहाल्यो भने मारिदिन्छ नि ।’ 

राजेन्द्रले भूकम्प र कोरोना दुवै संकटको समयमा फोहोर उठाउनुभयो । भूकम्पपछि फोहोरमा सिसाका टुक्रा बढी मात्रामा हुँदा त्यतिबेला धेरै पटक हात काटियो । कवाडी सामान बेच्न पाउँदा थोरै कमाइ पनि भयो । तर कोरोना महामारीमा भने गुजारा चलाउनै गाह्रो भयो । कोरोनाको बेला हप्तामा एक दुई दिन खटिनुपथ्र्यो । त्यस्तो जोखिममा पनि उहाँ काममा जानुभयो । तर आधा तलबमा काम गर्नुपर्दा गुजारा चलाउनै गाह्रो भयो ।  महामारीमा त्यसरी काम गरेकोमा प्रोत्साहनस्वरुप थप पैसा दिनुपर्नेमा उल्टै आधा तलबमा काम गर्नुपर्दाको क्षण सम्झिँदा उहाँलाई अहिले पनि नरमाइलो लाग्छ । 

यस्तै, बिरामी पर्दा वा घरमा काम हुँदा अफिसबाट छुट्टी पाइन निकै गाह्रो हुन्छ । छुट्टी बसे पनि अफिसले तलबबाट काट्छ । त्यस्तो अवस्थामा साथीहरु आपसमा मिलाएर काम गर्नुहुन्छ । कहिले कसैलाई अप्ठेरो पर्छ, कहिले कसैलाई । साथीहरु बुझ्ने भएकाले बिदा बस्न सजिलो भएको उहाँ बताउनुहुन्छ ।  

‘अफिसले त बिदा बसे पनि स्यालरीबाट पैसा काट्छ । पैला पैला साथीभाइ मिल्दैन थिए, अप्ठेरो हुन्थ्यो । अहिले सबै मिल्छन्, बिदा बस्न खासै समस्या छैन ।’

सरकारले निजी तथा अनौपचारिक क्षेत्रका श्रमिकहरुले यस्ता समस्या झेल्नु नपरोस्, उनीहरुले पनि राम्रो पारिश्रमिक र आर्थिक सुरक्षा पाउन् भनेर सामाजिक सुरक्षा कोषमा समेट्ने भनेर भन्दै आएको वर्षौँ भइसक्यो । तर यसको बारेमा केही थाहा छैन राजेन्द्रलाई ।

‘हाम्रोमा सेवासुविधा केही पनि हुँदैन, कुनै कम्पनीमा पनि छैन होला सायद सञ्चय कोष, भए पनि थोरैमा होला ।’

मानिसमा आएको चेतनाले गर्दा सरसफाइको काम गर्न अहिले सजिलो लागे पनि सेवासुविधा तथा पारिश्रमिकको हिसाबले पहिले नै ठिक थियो भन्ने लाग्छ राजेन्द्रलाई । उहाँकी आमा पनि महानगरमा कुचीकार (सडकमा झाडु लगाउने) हुनुहुन्थ्यो । महानगरकै कर्मचारी । रिटायर्ड हुँदा एकमुस्ट रकम पाउनुभएको थियो । यस्तै राजेन्द्रका बुवा काठमाण्डौकै गोकर्ण जंगलमा राजाले खटाइएका सिकारी हुनुहुन्थ्यो । राजाको सवारी भएको बेला चरा मारेर स्वाद चखाउने काम गर्नुहुन्थ्यो । बुवाआमा दुवै जनाको सेवा सुविधा राम्रै थियो । त्यतिबेला यही कामको लागि सरकारी कर्मचारीको सेवासुविधा र अहिले आफूले भोगिरहेको अवस्थाबारे राजेन्द्रलाई आवाज उठाउन मन छ । आफ्नो तलब लगायत सेवासुविधाको बारेमा महानगरको गेटमै पुगेर जोरजोरले कराउन मन छ । तर उहाँले आजसम्म यस्तो आँट गर्न सक्नुभएको छैन ।

‘बालेनलाई भेट्न मन छ’  

वि.स.२०६० सालसम्म काठमाण्डौको फोहोर टेकुको डम्पिङ साइटमा फालिन्थ्यो । त्यतिबेला बिहान तीन चार घण्टा खटिए पुग्थ्यो । दिनमा अन्त ज्यालादारी काम गर्न गइन्थ्यो । यस्तो हुँदा कमाइका बाटा पनि थपिन्थे । कमाइ राम्रो हुन्थ्यो । तर बिस्तारै काठमाणडौको जनसंख्या बढ्दै गयो । २०६२/०६३ सालदेखि काठमाण्डौको फोहोर लगेर सिसडोलमा थुपार्न थालियो । त्यहिबेला निजी क्षेत्रबाट काम गरिरहेका सरसफाइकर्मीलाई लिएर स्थाइ नियुक्ती दिएको थियो महानगरले । राजेन्द्रले पनि महानगरमा स्थाइ हुन पाइन्छ कि भनेर निकै दौडधुप गर्नुभयो । फारम भर्नुभयो । महानगरमा लाइनमा बसेर फारम बुझाउनुभयो । तर उहाँको नाम निस्केन । 

उहाँ ती दिन सम्झिनुहुन्छ, ‘पावर लाग्यो, पैसा खुवाएर नियुक्त भए भन्ने हल्ला चलिसकेको थियो, आफ्नो चिनेको मान्छे भएकाहरु स्थाइ भए, मेरै साथी पनि स्थाइ भयो ।’ 

आफ्नो अधिकारको लागि आवाज उठाउन पनि जान्नुभएको छैन उहाँले । मनमा त सोच्नुहुन्छ कहिलेकाहीँ । तर कसरी गर्ने केही मेसो पाउनुहुन्न । आवाज उठाइहाले पनि कसैले सुनिदेला र केही गरिदेला भन्ने विश्वास पनि लाग्दैन । आफू अनपढ भएकाले पनि आफ्नो कुरा कसैले नसुन्ने हुन् कि भन्ने डर लाग्छ उहाँलाई । तर महानगरका मेयर बालेन्द्र शाह ‘बालेन’ले यो कुरा थाहा पाए केही गरिदिन्छन् कि भन्ने आशा छ उहाँमा । 

‘सरसफाइको कुरा कि त महानगरले आफ्नै कर्मचारी खटाएर, सेवा सुविधा दिएर राख्नुपर्छ नत्र निजी क्षेत्रको पनि नियमित अनुगमन गरेर सरकारले तोकेको सेवासुविधा र मापदण्डअनुसार चलाउनुपर्छ’ राजेन्द्र भन्नुहुन्छ, ‘मेयर बालेनलाई भेटेर यही कुरा भन्न मन छ ।’ 

काठमाण्डौ महानगरसँग आफ्नै चार सय जना जति सरसफाइकर्मी छन् । तर निजी कम्पनीमार्फत कति छन् र कति निजी कम्पनीले काम गरिरहेका छन् आफूलाई थाहा नभएको महानगरको भनाइ छ । 

‘अहिले नयाँ चुनिएर आएपछि (मेयरको रुपमा बालेन्द्र आएपछि भन्न खोजेको) हामीले कुनै कम्पनीलाई पनि जिम्मा दिएका छैनौँ, पहिलेकाले दिए होलान्, हामीलाई थाहा छैन’ काठमाण्डौ महानगरका प्रवक्ता नवीन मानन्धरले भन्नुभयो ।

वर्षौँदेखि काठमाण्डौमा सरसफाइको काम गर्दै आएकाहरु महानगरले आफूहरुलाई पनि स्थाइ कर्मचारीको रुपमा राखोस् भन्ने त चाहन्छन् नै । तर महानगरसँग यसबारे न प्रष्ट योजना छ, न कुनै गृहकार्य । 

निजी क्षेत्रमा काम गरिरहेका सरसफाइकर्मीलाई महानगरले नियुक्त गर्ने विषयमा केही काम भइरहेको छ कि भने प्रश्नमा पनि प्रवक्ता मानन्धरले आफूलाई केही थाहा नभएको भन्दै फोन राख्नुभयो । 

‘मेरो पेसाप्रति गर्व लाग्छ’

अहिले पनि कामलाई सानो ठूलो भनेर दाँज्ने मानिसहरुको जमात ठूलो छ । कतिले अझै पनि सरकारफाइको कामलाई छिछि र घिनलाग्दो कामको रुपमा लिन्छन् । तर पछिल्लो समय मानिसहरुमा यसबारे सोचाइ बदलिएको पाउनुभएको छ राजेन्द्रले । 

‘पहिलेजस्तो छिछि अहिले गर्दैनन्, हामीसँग गर्ने व्यवहार पनि धेरै चेन्ज भएको छ’, राजेन्द्र भन्नुहुन्छ, ‘पहिले सिधै तँ भन्थे, अहिले कमसेकम तिमी, तपाईं पनि भन्छन्, खुशी लाग्छ ।’

राजेन्द्र निकै फुर्तिका साथ काम गर्नुहुन्छ । उहाँको बीस वर्षको अनुभव उहाँको काम गराइमा पनि झल्किन्छ । फोहोरको थुप्रोबाट कुहिने, नकुहिने, कवाडीमा बेच्न लायक सामान छुट्याउन बेरै लाग्दैन । कहिलेकाहीँ कवाडीमा राम्रै भाउ पाइने सामान पनि फाेहाेरको थुप्रोमा भेटिन्छन् । यस्तोबेला त हराएको खुशी भेटिएजस्तो हुन्छ राजेन्द्रलाई । यस्तै सडक, चोक, गल्लीको फाेहाेर गाडीमा भरेर फर्किँदा पछाडि देखिने सफा दृश्यले मनमा बेग्लै खुशीको सञ्चार गर्छ । खुशीको यही तार समाउँदै उहाँले काठमाण्डौ सफाइको  बीस वर्षे यात्रा गरिसक्नुभयो । त्यसैले पारिश्रमिक र सेवासुविधाबाहेक आफूले गर्दै आएको पेसाप्रति उहाँ निकै सन्तुष्ट हुनुहुन्छ । 

‘मलाई एकदम राम्रो लाग्छ । सरकारले हामीलाई राम्रो सुविधा दिएको भए त मलाई यो जस्तो पेसा अरु लाग्दैन’, छातीमा हात राख्दै गहिरो स्वरमा राजेन्द्रले भन्नुभयो, ‘आफ्नो मातृभूमिलाई सफा गर्न पाएको छु नि । अरुले फोहोर गरे पनि । यसैमा गर्व लाग्छ ।’

अन्तिम अपडेट: जेठ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया