कर्णाली प्राविधिक शिक्षालयकाे छात्रावास जीर्ण, भवन भत्किने डर

 जेठ ४, २०८० बिहिबार २०:१८:३९ | नेत्र शाही
unn.prixa.net

कर्णाली प्राविधिक शिक्षालयको जीर्ण भवन । तस्बिर : नेत्र शाही/जुम्ला

जुम्ला – अहिले पालिका, प्रदेश र सङ्घीय गरी तीन वटा सरकार छन् । तर जुम्लाको कर्णाली प्राविधिक शिक्षालयको भौतिक संरचना जीर्ण बनेकोप्रति ध्यानाकर्षण हुन सकेको छैन । वि.संं २०३७ सालमा स्थापना भएको देशकै जेठो शिक्षालय अहिले तीन वटै सरकारको प्राथमिकतामा परेको छैन । 

शिक्षालय प्रमुख टेकेन्द्र थापाले विद्यार्थी बस्ने छात्रावास भत्किने अवस्थामा पुगेको बताउनुभयो । छात्रावास मर्मतका लागि कार्ययोजना अगाडि सारे पनि पर्याप्त बजेट व्यवस्थापन गर्न नसक्दा समस्या भएको प्रमुख थापाले गुनासो गर्नुभयो । जिल्लामा आउने सांसददेखि कर्णाली प्रदेशका मुख्यमन्त्रीसम्मलाई यहाँको समस्या राख्ने गरेको उहाँ बताउनुहुन्छ । 

यहाँ पढ्नका लागि विभिन्न जिल्लाबाट विद्यार्थी आउने गरेका छन् । पालिका र प्रदेश सरकार आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै पन्छिने गरेका शिक्षालय प्रशासनको गुनासो छ । कर्णालीको ज्युँदो इतिहास बोकेको शैक्षिक संस्थाको उन्नति र प्रगतिमा कसैको चासो नभएको सूचना तथा प्रविधि अधिकारी सागर रावतले बताउनुभयो । ‘यहाँ उत्पादित जनशक्तिले देशभर छरिएर सेवा दिइरहेका छन् । तर यो संस्थाबारे कसैको ध्यान पुगेन ।’ 

भवन भत्किने अवस्थामा

कर्णाली प्राविधिक शिक्षालयको भौतिक संरचना भत्किने अवस्थामा पुगेका छन् तर बजेट अभावले शिक्षालयको जीर्ण भवनको मर्मत हुन सकेको छैन । शिक्षालय प्रमुख थापाका अनुसार यहाँ ५४ वटा पुराना भवन रहेकोमा धरैजसो जीर्ण छन् । हजारौँ प्राविधिक जनशक्ति रोजगार बनाएको शिक्षालयको वरिपरि घेरबार पनि गरिएको छैन ।  

शिक्षालयमा अहिले ६ सय ७२ जना विद्यार्थी छन् । कुनै कारणले भवन भत्किएको अवस्थामा विद्यार्थी जोखिममा पर्ने उहाँले बताउनुभयो । 

४३ वर्ष पुराना संरचना मर्मत आवश्यक

४३ वर्ष पहिले बनेका भौतिक संरचना मर्मत हुन सकेको छैन । शिक्षालयको छाना चुहिने अवस्थामा पुगेको छ । गएको वर्ष प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा पाँच वटा भवन मर्मत भएको थियो । अन्य भवन मर्मतका लागि शिक्षालयले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा ३ करोड रुपैयाँको बजेट माग गरेको छ । त्यो भवनले कम्तीमा २५ देखि ३० जीर्ण भवन मर्मत हुने देखिन्छ ।

कर्णाली प्राविधिक शिक्षालय जुम्लाको चन्दननाथ नगरपालिकाको उत्तर भेगमा पर्ने घुघुत्तीमा रहेको छ । शिक्षालय छ सय ५२ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया