बाग्मतीका नवनियुक्त ६ जना मन्त्रीले शपथ लिए

 जेठ ७, २०८० आइतबार १६:६:५८ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – बाग्मती प्रदेशका नवनियुक्त छ जना मन्त्रीले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ गराउनुभएकाे छ ।

आज आइतवार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपाली कांग्रेसबाट उत्तम जोशी, पुकार महर्जन, मसिना खड्का, रामकृष्ण चित्रकार तथा नेकपा (एकीकृत समाजवादी) को तर्फबाट डा. राजेन्द्रमान श्रेष्ठ र लक्ष्मण लम्साललाई मन्त्रीलाई समावेश गरेर मन्त्रिपरिषद् विस्तार गर्नुभएकाे थियाे ।

उत्तम जोशीले स्वास्थ्य, मसिना खड्काले वन तथा वातावरण, पुकार महर्जनले पर्यटन उद्योग तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । साथै डा. राजेन्द्रमान श्रेष्ठले कृषि तथा पशुपक्षी विकास, लक्ष्मण लम्सालले श्रम रोजगार तथा यातायात र रामकृष्ण चित्रकार विनाविभागीय मन्त्री नियुक्त हुनुभएको हो । 

लामो समयदेखि मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा प्रदेश सरकारको काममा बाधा पुगेको थियो । आज मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै अब भने कामले गति लिने भएको छ ।

यसअघि २०७९ साल पुस २५ मा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशका संसदीय दलका नेता जम्कट्टेल प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । तत्कालीन समयमा सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एमालका मन्त्रीहरू पनि सहभागी हुनुहुन्थ्यो । तर राप्रपा र एमाले सरकारबाट बाहिरिएपछि रिक्त पदमा नयाँ मन्त्री नियुक्त गरिएको हो ।

मुख्यमन्त्री जम्कट्टेलले गएकाे चैत १० गते विश्वासको मत प्राप्त गर्नुभएको थियो । विश्वासको मत प्राप्त गरेलगत्तै गएकाे चैत २६ मा नेपाली कांग्रेसबाट बहादुरसिंह लामा आर्थिक मामिला तथा कानुनमन्त्री र तीर्थ लामा ऊर्जा तथा जलस्रोतमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया