नवलपुरको केरुङ्गे खोलामा निर्माणाधीन पुल अलपत्र : ठेकेदार सम्पर्क विहीन

 जेठ १०, २०८० बुधबार ९:१५:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको केरुङ्गे खोलामा निर्माणाधीन पुल अलपत्र परेको छ ।

कावासोती नगरपालिका वडा नम्बर ३ र ४ लाई जोड्ने गरी केरुङ्गे खोलामा निर्माणाधीन पुल अलपत्र पारेर ठेकेदार नै सम्पर्क विहीन भएको वडा–४ का अध्यक्ष नारायणप्रसाद लोहनीले बताउनुभयो ।

पुल निर्माणको काम २०७५ सालमा सुरु भएको थियो । २०७७ साल असारसम्म पुल निर्माणको काम सकिनुपर्ने थियो । अहिलेसम्म पुलको केही भाग मात्रै निर्माण भएको छ । बीच खण्डमा ढलानका लागि तयारी गरिएको छ ।

तर, वर्षा सुरु हुन लाग्दा समेत काम अघि नबढेका कारण बीचको खण्ड बाढीले बगाउने जोखिम रहेको वडा अध्यक्ष लोहनीले बताउनुभयो । आफूले पटक पटक फोन गर्दा ठेकेदार सम्पर्कमा नआएको उहाँको भनाइ छ ।

झण्डै १ सय ४० मिटर लम्बाइको पुल साढे १० करोड रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी एडभेन्चर कन्स्ट्रक्सन कम्पनीले ठेक्का पाएको थियो । तर पटक पटक म्याद थप गर्दा समेत निर्माणको कामले पूर्णता पाउन सकेको छैन । पछिल्लो पटक २०८० साल असारसम्म पुल निर्माण गर्नेगरी म्याद थप भएको छ ।

कावासोती नगरपालिका ३ र ४ लाई जोड्ने मात्रै नभएर हुप्सेकोट गाउँपालिकालाई सहजरुपमा सदरमुकाम कावासोती आउने सडक खण्डको पुल समेत भएकाले यसको निर्माणमा ढिलाइ हुँदा नागरिकले सास्ती खेप्नु परेको वडा अध्यक्ष लोहनीले बताउनुभयो ।

निर्माणाधीन पुल अलपत्र पारेर ठेकेदार बेपत्ता भएपछि कावासोती नगरपालिकाले जिल्ला प्रशासन कार्यालय नवलपुरलाई पत्राचार गरी ठेकेदारलाई झिकाइ आवश्यक कारबाही र निर्माणको काम बर्खा अघि नै सम्पन्न गराउन पहल गरिदिन भनेको छ । 

नगरपालिका मेयर विष्णुप्रसाद भुसालले प्रशासनलाई पत्राचार गरी ठेकेदार झिकाइ आवश्यक कारबाही र निर्माणको काम अघि बढाउनु आग्रह गर्नुभएको हो।

पुल निर्माण अलपत्र पारी ठेकेदार सम्पर्क विहीन भएको विषय उठेको र आफूले यसका विषयमा समन्वय गरिरहेको नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताउनुभयो ।

आज सडक डिभिजन कार्यालय भरतपुरसँग थप जानकारी लिने र त्यसपछि आवश्यक कदम चाल्ने प्रमुख जिल्ला अधिकारी लम्सालले बताउनुभएको छ ।

अन्तिम अपडेट: असार ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया