मध्यपुर युथ एसोसिएशनले सुरु गर्यो ग्रासरुट फुटबल तालिम

 जेठ २७, २०८० शनिबार १५:५५:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मध्यपुर युथ एसोसिएशनले आयोजना गरेको ग्रासरुट फुटबल अभियानकाे उद्घाटन भएको छ । मध्यपुर थिमिमा रहेकाे एसोसिएशनको कार्यालयमा आज मध्यपुर नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले अभियान उद्घाटन गर्नुभएकाे हाे ।

एसोसिएशनका अध्यक्ष तथा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान उपेन्द्रमान सिंहले यो अभियान अन्तर्गत सुरुवातमा साप्ताहिक रुपमा आधारभूत फुटबल प्रशिक्षण दिने, लिग प्रतियोगिता सञ्चालन गर्ने र क्षमतावान् खेलाडीलाई एकेडेमीमै राखेर थप प्रशिक्षणको व्यवस्था मिलाइने जानकारी दिनुभयो । अहिले साप्ताहिक रुपमा हरेक शनिवार डेढ घण्टाका दरले फुटबल सिकाइने र अहिले ६ देखि १३ वर्षसम्मका १ सय १० जना बालबालिका रहेको एसोसिएशनले जनाएको छ ।

उनीहरुलाई उपेन्द्रमान सिंह, राष्ट्रिय रुपमा सर्वाधिक सफल एवम् ख्यातिप्राप्त प्रशिक्षक बालगोपाल महर्जन, राष्ट्रिय टिमका पूर्वकप्तान राकेश श्रेष्ठ, राष्ट्रिय टिमका पूर्व रक्षक तथा प्रशिक्षक राजेश मानन्धरसहित थप १२ जना प्रशिक्षकले प्रशिक्षण दिनुहुनेछ ।

प्रशिक्षण वर्षभरि नै सञ्चालन गर्ने लक्ष्य रहे पनि वर्षाका कारण २ महिना सञ्चालन गर्न कठिनाइ हुने देखिएको अध्यक्ष सिंहले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया