खोटाङकाे हलेसी तुवाचुङमा जीपीएस जडान गरिएकाे एम्बुलेन्स सञ्चालनमा

 जेठ ३२, २०८० बिहीबार १२:५१:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

खोटाङ - खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले राष्ट्रिय एम्बुलेन्स निर्देशिका-२०७८ बमोजिम ‘ख’ वर्गको एम्बुलेन्स सेवा सुरु गरेको छ।

नगरभित्रका नागरिकलाई सहज तरिकाले स्वास्थ्य संस्थासम्म पुर्याउन र ल्याउनका लागि नगरपालिकाले निर्देशिकाले तोकेबमोजिमको एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।

सङ्घ र प्रदेश स्वास्थ्य मन्त्रालयले जीपीएस जडान गरेको एम्बुलेन्समा अनिवार्य एक जना आकस्मिक चिकित्सा प्राविधिक (इमरजेन्सी मेडिकल टेक्नेसिएन) रहने व्यवस्था मिलाइएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरेले बताउनु भएकाे छ । 

एम्बुलेन्स निर्देशिका बमोजिमको एम्बुलेन्समा आवश्यक उपकरण, अक्सिजन, औषधिसहितको प्राविधिकको व्यवस्था गरिएको छ । इमरजेन्सी मेडिकल टेक्नेसिएनको निगरानीमा बिरामीलाई अस्पताल लैजाने सुविधासहितको एम्बुलेन्स सेवा सुरु गरिएको नगरपालिकाले जनाएको छ । जिल्लामा प्रायजसाे एम्बुलेन्स निर्देशिका बमोजिमका छैनन् । 

अन्य बिरामीलाई शुल्क लागे पनि नगरभरिका गर्भवती र सुत्केरीलाई रेफर गरिएकाे अस्पतालसम्म निःशुल्क पुर्याउने व्यवस्था मिलाइएको छ । नगरका ११ वडामा रहेको बर्थिङ सेन्टरमा लगेको अवस्थामा रेफर भएका गर्भवती र सुत्केरीलाई रेफर अस्पतालसम्म निःशुल्क लैजाने व्यवस्था मिलाइएको हो ।

संरक्षकविहीन नगरवासी र अन्यत्रबाट आएर नगरमा अलपत्र परेका व्यक्तिलाई समेत एम्बुलेन्समार्फत् निःशुल्क नगर अस्पताल वा जिल्ला अस्पताल लैजाने स्वास्थ्य शाखा संयोजक घिमिरेले बताउनु भयाे । त्रि–धार्मिकस्थल हलेसीमा एक्लै आएकोबेला बिरामी परेका व्यक्तिलाई समेत निःशुल्क एम्बुलेन्स सेवा लक्षित गरिएको हो । जेठ २७ गतेदेखि सञ्चालनमा ल्याइएको एम्बुलेन्सबाट एक सुत्केरीसहित चार जनाले सेवा लिइसकेका छन्।

बाढी, पहिरो, दुर्घटना जस्ता विपत्तिको समयमा समेत प्रयोग गर्नेगरी एम्बुलेन्समा मन्त्रालयको जीपीएस ट्रयाकिङ सिस्टम राखिएको हो । जीपीएस ट्रयाकिङबाट एम्बुलेन्स रहेको ठाउँबारे थाहा हुने र विपत्तिका बेला नजिक पर्ने ठाउँमा पठाएर उपयोग गर्न मिल्नेगरी जीपीएस राखिएको हो । 

अन्तिम अपडेट: माघ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया