पश्चिम तराईमा उखरमाउलो गर्मी, भैरहवाको अधिकतम तापक्रम ४३ दशमलव ३ डिग्री सेल्सियस

 असार १, २०८० शुक्रबार ७:२३:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पानी नपर्दा पश्चिम तराईमा उखरमाउलो गर्मी छ । एक हप्ताभन्दा लामो समयदेखि पश्चिम तराईमा तातो हावा 'लू' चलिरहेको छ । आज पनि 'लू' चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । लगातार एक हप्ताभन्दा लामो समयदेखि तातो हावा चल्दा पश्चिम तराईको जनजीवन प्रभावित भएको छ ।

मध्य र पूर्वी क्षेत्रमा मनसुन भित्रिएर पानी पर्न थाले पनि पश्चिमी क्षेत्रमा अझै मनसुन प्रवेश गरेको छैन । पश्चिमी क्षेत्रमा मनसुन प्रवेश गर्न समय लाग्ने मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो । मौसमविद्ले तीन दिनसम्मको मौसम पूर्वानुमान गर्दै आएका छन् । अबको तीन दिनसम्म पनि पश्चिमी क्षेत्रमा मनसुन सक्रिय हुने सम्भावना कम रहेको मौसमविद् लामिछानेले बताउनुभयो ।

पानी नपर्दा अधिकतम तापक्रम बढिरहेको छ । भैरहवाको अधिकतम तापक्रम ४३ दशमलव ३ डिग्री सेल्सियस पुगेको छ । यस्तै, सिमरा र नेपालगञ्जको  अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस छ । जनकपुरको अधिकतम तापक्रम ४० दशमलव ५ डिग्री सेल्सियस, धनगढीको ३९ दशमलव ७, दीपायलको ३९ दशमलव ५, वीरेन्द्रनगरको ३८ दशमलव ७ र दाङ घोराहीको अधिकतम तापक्रम ३८ दशमलव १ डिग्री सेल्सियस पुगेको छ ।

यस्तै, आज कोशी प्रदेश र काठमाण्डौसहित पहाडी क्षेत्रमा पानी पर्ने अनुमान गरिएको छ । मनसुनी  वायुको प्रभावका कारण कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँ तथा अन्य पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको मौसमविद् रोजन लामिछानेले बताउनुभयो । 

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया