काँक्रो खान गएकी बालिका गोली खाएर फर्किन्

 कात्तिक ११, २०७५ आइतबार १०:१७:११ | रासस
unn.prixa.net

जुम्ला – अदानचुली गाउँपालिका–४ बिगुठी हुम्लाकी १० वर्षीया बालिका रमिला बुमी गएकाे असोज पहिलो साता आफ्नै कोदोबारीमा लगाएको काँक्रो खान गएकी थिइन् । दुर्भाग्यवशः काँक्रो खान गएकी उनी मिनेटभरमै गोली खाएर फर्किन् ।

थाहा थिएन उनलाई, कोदोबारीमा पुग्दा त्यो घटना घट्छ भन्ने । दिदी सुस्मिता बुमीसँगै कोदोबारीमा काँक्रो लिन जाँदा उनी गोलीको पासोमा परेकी हुन् । कोदोबारीमा छिमेकीले स्याल फसाउनका लागि भनेर थापेको जर्जन पड्कँदा (चलाउँदा बन्दुक पड्केर कुनै पनि प्राणीलाई गोली लाग्ने गरी थापिएको पासो) रमिलाको दाँया घुँडाको मुनि तिघ्रामा लागेर हड्डी र नसा छिनाल्यो ।

“ब्वाङ्ग आवाज आउने बित्तकै ढलेँछु”, त्यो क्षणलाई सम्झँदै उनले भनिन्, “उठ्न खोज्दा खुट्टा टेक्न सकिएन ।” छाम्दा हड्डी भाँचिएको र मासुसमेत भ्वाङ परेको देखेर बेहोस भएको तीतो अनुभव बुमीले सुनाइन् । त्यो दुर्घटनामा परेकी उनलाई त्यहाँ उपचारको कुनै विकल्प थिएन । तत्काल रु तीन लाख ५० हजारमा हेलिकोप्टर चार्टर गरेर सुर्खेत पुर्‍याइएको रमिलाका मामा ज्योति गिरीले बताउनुभयो ।

“सुर्खेतमा समेत उपचार हुननसकेपछि जिप बुक गरेर भारतको लखनउ लग्यौँ”, गिरीले भन्नुभयो, “गोली लागेको ३६ घण्टा नाघेकाले खुट्टा मरिसकेको रहेछ ।” काट्नुको विकल्प नरहेको र शल्यक्रिया गरेर खुट्टा फाल्नुपरेको उहाँले दुःख प्रकट गर्नुभयो । बुमीको उपचार गर्न अहिलेसम्म रु सात लाख खर्चेको उहाँले जनाउनुभयो ।

लखनउमा खुट्टाको शल्यक्रिया गरेकी बुमीको यतिबेला भने ड्रेसिङ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा जुम्लामा भइहेको छ । सद्दे (सपाङ्ग) रमिला बुमीलाई छिमेकीको कमजोरीका कारण अपाङ्ग भएर अब सधैँका लागि वैशाखीको सहारामा बाँच्नुपर्ने बाध्यता आइलागेको छ ।

सानो गल्तीले गर्दा आज रमिला सधैँभरिका लागि अपाङ्ग भएकी छन् । त्यही घटनालाई लिएर आमा पवित्रा र बुबा जनक बुमीले जिल्ला प्रहरी कार्यालय जुम्लामा आफ्ना छिमेकीविरुद्ध जाहेरी निवेदन हालेको गिरीले बताउनुभयो । अञ्जानवशः ठूलो भूल भएको भन्दै छिमेकीले क्षमायाचना गरेको र रमिलाको जीवनभर स्वास्थ्य अवस्थामा आउने समस्या तथा अहिलेसम्म भएको सबै उपचार खर्च तिर्न छिमेकी मञ्जुर भएकाले कानूनी प्रक्रियाभन्दा मेलमिलाप गर्ने शर्तमा अघि बढ्ने सङ्केत उनका मामा, आमाबुबाले दिएका छन् ।

हुम्ला अदानचुली गाउँपालिकास्थित जनप्रिय आधारभूत विद्यालय कक्षा ५ मा अध्ययरत रमिला कक्षाका प्रथम विद्यार्थी हुन् । याे विद्यालयमा मेधावी छात्राका रूपमा नाम दर्ज गरेकी उनले आफ्नो एक महिनाको पढाइ छुटेकोमा चिन्ता गरिन् । पढेर असल मान्छे बन्ने र आमाबुबाको सहयोगी बन्ने सपना लिएकी रमिलालाई अब भने उल्टै सहयोगी आवश्यक हुने भएको छ ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया