गाईपालनमा रमाउँदै लमजुङका दुर्गाबहादुर

 असार २३, २०८० शनिबार १८:४३:३८ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – उमेरले पाँच दशक नाघिसक्यो । उमेर ढल्कँदो छ । तर जोस–जाँगरमा कमी आएको छैन, लमजुङ राइनास नगरपालिका–६, स्याउलीका दुर्गाबहादुर तामाङको ।  घाम उदाएदेखि अस्ताएसम्म फार्ममा पालिएका गाईकै स्याहारमै व्यस्त हुनुहुन्छ, उहाँ । गाईकै स्याहार–सुसारमा दैनिकी बिताउन पाउँदा उहाँलाई रमाइलो लाग्छ । गाईपालनमा उहाँको चौध वर्षको अनुभव छ ।

‘गाईको गोठमा रमाएको पनि चौध वर्ष भइसक्यो । बिहान उठेदेखि राति नसुतेसम्म गाईकै रेखदेख, कुडोपानीमै समय बित्छ । यसमै मन रमेको छ,’ मुस्कुराउँदै उहाँले भन्नुभयो । विगतमा तरकारी खेती गर्नुभएका तामाङ २०६६ सालदेखि व्यावसायिक गाईपालनमा होमिनुभएको हो । तरकारी खेती गर्दैगर्दा मलको आवश्यकता पर्ने । मलको आवश्यकताले नै सुरुमा उहाँले गाईपालन गर्नुभएको हो ।

‘तरकारी खेतीमा लागियो । उत्पादित तरकारी सदरमुकाम (बेसीशहर) बजारसम्म पुर्याइयो । तरकारी खेतीका लागि मल आवश्यक पर्ने । सुरुमा मलकै लागि गाईपालन गरियो,’ उहाँले भन्नुभयो । मलसँगै दूध उत्पादन हुने र उत्पादित दूध बिक्रीबाट मनग्य आम्दानी भएसँगै उहाँले गाईपालनलाई व्यवस्थित रुपमै विस्तार गर्नुभएको हो ।

उहाँले अघि थप्नुभयो, ‘खेतीपातीका लागि मल पनि हुने । उत्पादित दूध बिक्रीबाट राम्रो कमाइ पनि हुने । सुरुमा मलका लागि पालिएको गाईपालन व्यवसायलाई थप विस्तार गरेँ । उत्पादन राम्रो भइरहेको छ । आम्दानी पनि मनबुझ्दो छ ।’

सजिलै बिक्री हुन्छ उत्पादन भएकाे दूध

‘शीतल गाई फार्म’ दर्ता गरी गाईपालनमा निरन्तर लाग्नुभएका किसान तामाङसँग दूध बिक्रीबाट मासिक लाखौँ कमाएको अनुभव छ । अहिले फार्ममा साना–ठूला गरी २० वटा गाई पालिएका छन् । अहिले दैनिक ४० लिटर हाराहारीमा दूध उत्पादन हुँदै आएको छ । 

‘अहिले दूध उत्पादन कम छ । दुहुनाभन्दा ब्याउने गाई धेरै छन् । गाई ब्याएपछि फेरि उत्पादन बढ्छ,’ उहाँले भन्नुभयो । उत्पादित दूध सजिलै खपत भएको छ । उत्पादित दूध प्रतिलिटर ७० रुपैयाँदेखि ९० रुपैयाँसम्म बिक्री हुँदै आएको छ ।

‘बजारको कुनै समस्या छैन । उत्पादन भएकाे जति बिकिरहेको छ । त्यसैले पनि यसै व्यवसायमा अहिलेसम्म टिकिरहेको छु,’ दुर्गाबहादुरले भन्नुभयो, ‘अहिले मासिक यस व्यवसायबाट ५०/६० हजार कमाइ भएको छ ।’

३६ रोपनी जग्गामा घाँस खेती

गाईपालनकै लागि उहाँले आफ्नोसँगै भाडाको समेत जग्गा गरी ३६ रोपनी क्षेत्रफल जमिनमा विभिन्न थरीका घाँस लगाउनुभएको छ । दाना, चोकरको मात्रै भर पर्दा किसानको लागत बढ्ने भएकाले आफूले पशु आहाराका लागि घाँस खेती गरेको उहाँले बताउनुभयो ।

‘दाना, चोकरको मात्रै भर पर्दा लागत बढ्छ । घाँस खुवाउन सकेमा उत्पादन पनि बढ्छ । लागत पनि तुलनात्मक रुपमा कम पर्न जान्छ । त्यसैले घाँस खेती गरिरहेको छु,’ उहाँले थप्नुभयो ।

दाना, चोकरको मूल्य बढी तिर्नुपर्ने किसानलाई मर्का परेको उहाँले दुखेसो पोख्नुभयो । ‘दाना, चोकर खरीदमा महँगो मूल्य तिर्नुपर्छ । किसानलाई मर्का छ,’ उहाँले भन्नुभयो, ‘पशुपालनका लागि घाँस खेती अनिवार्य हुन्छ । किसानले पुशपालन गर्दा घाँस खेतीलाई जोड दिनुपर्छ ।’

श्रम–पसिना बगाउनुपर्छ : कृषि उद्यमले जीवनमा खुशी छर्छ !

घरगाउँमै बसेर गाईपालन व्यवसायबाट राम्रो आर्जन गरी सजिलै गुजारा चलाउन सकिने सम्भावना रहेको उहाँ बताउनुहुन्छ ।

‘श्रम–पसिना त बगाउनुपर्यो । विदेश जाँदा लाग्ने खर्च, उता बगाउने पसिना देशकै माटोमा खर्चने, बगाउन सके देशकै माटोमै गरेको कृषि उद्यमले जीवनमा खुशी छर्नसक्छ । त्यो सम्भावना छ । सकेसम्म देशकै माटोमा उद्यम गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।

राइनास नगरपालिका क्षेत्रमा उहाँजस्तै अन्य थुप्रै किसानहरु पछिल्लो समय गाईपालनमा होमिएका छन् । राइनास नगरपालिकाले उत्पादनमा आधारित रहेर अनुदानको व्यवस्था गरेसँगै यस व्यवसायमा किसानको आकर्षणसँगै दूध उत्पादन पनि बढिरहेको राइनास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलले बताउनुभयो ।

यस्तै, लमजुङको मध्यनेपाल नगरपालिका, राइनास नगरपालिका, सुन्दरबजार नगरपालिका, बेसीशहर नगरपालिका लगायतका पालिकाहरुका विभिन्न ठाउँमा व्यावसायिक रुपमा गाईपालन भइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, लमजुङका प्रमुख डा. रुपेश श्रेष्ठले बताउनुभयो ।

‘लमजुङमा गाईपालनको उच्च सम्भावना छ । किसानको आकर्षण छ । किसानहरु गाईपालनमा जुटिरहेका छन् । उत्पादित दूधलाई विभिन्न परिकार बनाउन सकेमा, ब्राण्डिङ गर्न सकेमा किसानले झनै राम्रो आर्जन गर्न सक्ने डा. श्रेष्ठले बताउनुभयो । गाईपालनमा किसानलाई विज्ञ केन्द्रले सघाउँदै आएको उहाँले बताउनुभयो ।

अहिले भने ‘लम्पी स्किन’ सङ्क्रमणका कारण पुशपालक किसानलाई समस्या बनाएको विज्ञ केन्द्रले जनाएको छ ।

अन्तिम अपडेट: चैत २६, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया