बोलेको कुरा विवादमा पर्यो भने मैले भनेको होइन भन्ने सबैभन्दा गैरजिम्मेवार प्रवृत्ति हो

 असार २४, २०८० आइतबार ११:४९:४७ | डा. दिपेश घिमिरे
unn.prixa.net

हाम्रा राजनीतिक दलका शीर्ष नेताहरुले बोल्ने कुरा हेर्ने हो भने इतिहासदेखि नै ध्यान दिएको देखिँदैन । पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति पनि त्यसकै सिलसिला हो । सार्वभौम देशका नागरिकका हिसाबमा यो एकदमै खेदजनक कुरा छ । प्रधानमन्त्रीले जुन अभिव्यक्ति दिनु भएको छ, त्यसले उहाँमाथि मात्र होइन तपाईँ हाम्रो मानमर्दन गरेको छ । हामीले जुन सार्वभौमसत्ता सम्पन्न नागरिक भनेका छौँ त्यसमाथि मानमर्दन भएको छ । त्यसकारण यो खेदजन्य कुरा हो । 

हामीले इतिहासदेखि हेर्ने हो भने प्रधानमन्त्रीले नाम लिनु भएको शक्तिराष्ट्र, छिमेकी राष्ट्र छ त्यसका बारेमा पर्दा पछाडि देखिरहेका, भोगिरहेका र अनुभव गरिरहेका छौँ । सरदार भीमबहादुर पाँडेको त्यसबखतको नेपाल भन्ने पाँच भागको किताब छ त्यसमा हेर्ने हो भने पनि त्यस्ता धेरै सन्दर्भहरु त्यहाँ उल्लेख छन् । जुन राणाकालमा पनि थियो । त्यसबेला इष्टइण्डिया कम्पनीले त्यहाँ ब्रिटिशहरुले शासन गरिरहेको थियो । त्यो बेलादेखि २०८० साल आउँदासम्म हामीले अवस्था बदलिएको देख्दैनौँ । 

दोस्रो कुरा संसारमा सबै कुरा जिम्मेवार व्यक्तिले बोल्न मिल्दैन । जस्तो भएकै हो भने त्यसलाई नियन्त्रण गर्ने, त्यसलाई न्यूनीकरण गर्दै लगेर त्यो अवस्थाबाट देशलाई मुक्त गर्नुहुन्छ भन्ने हाम्रो विश्वास हो नेतृत्वमा पुर्याइसकेपछि । हाम्रो शरीरमा कति भनिरहने र कति कहिल्यै नबोल्ने कुरा छन् । तर, हामी बोकेर हिँडिरहेका छौँ । कति कुरा हामी देखाउँछौँ । कति कुरा हामी देखाउँदैनौँ । यसको मतलब सबै कुरा छ भने पनि यसलाई खुल्लमखुल्ला भन्दाखेरी यसले आधिकारिकता प्रदान गर्छ भोलिको दिनमा । त्यसैले यो आफैँमा खेदजन्य कुरा छ । 

यसअघि शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने बेलामा पनि प्रचण्डले भारतको लागि सहज सरकार बन्नुपर्छ भन्नु भएको थियो । अहिलेको अभिव्यक्ति र यसअघिको अभिव्यक्तिले र त्योभन्दा अगाडिको मालिकसँगै वार्ता गर्छु भनेको अभिव्यक्ति अनि तत्कालीन माओवादीका नेता बाबुराम भट्टराईले पनि यस्तै खालको अभिव्यक्ति दिनुभएको थियो । हरेक राजनीतिक पार्टीका नेताहरुले पनि यस्तो अभिव्यक्ति  दिनु भएको छ । अहिले उहाँले छ्याङ्गै दिनुभएको मात्रै हो । यसले नेपाली नागरिकको तर्फबाट हेर्ने हो भने राजनीतिकर्मीमाथि हाम्रा दर्जनौं प्रश्न छन् ।

यसमा मलाई जोड्न मन लागेको भनेको एउटा महत्त्वपूर्ण लेख छ ‘थ्योरी अफ एक्स कर्पोरेशन’ जसलाई मैले मेरो किताबमा पनि उल्लेख गरेको छु । त्यसमा पुँजीवादले दक्षिण एसियालाई आफूमा लिएको हो कि दक्षिण एसिया आफैँमा पुँजीवादमा समाहित भएको हो भन्ने छ । संसारको धेरै दृष्टिकोण पुँजीवादले लिँदै गयो भन्ने छ । तर, लेखकले यसमा दक्षिण एसियालाई यस्तो बाध्य बनाइयो कि आफैँ गएर समाहित भयो भन्ने छ । यसलाई तपाईँ सिक्किम वा क्रिमियामा लगेर हेर्नुस् । पछिल्लो समय जति पनि यस्ता कुराहरु भइरहेको छ यी सबै कुरा आफैँ ‘लोयल’ हुँदै हुँदै आत्मसमर्पण गरेको देखिन्छ । उहाँलाई अर्को देशको राजधानीमा नदौडिकन प्रधानमन्त्री नहुने स्थिति थियो भने नबन्दा के हुन्छ । राजनीतिक नेतृत्वको अडान नहुँदा यस्तो स्थिति आएको हो । 

यसको राजनीतिक असर चाहिँ निकै छोटो हुन्छ । किनभने संसद् चल्यो कि चलेन भन्ने हो । यसले राजनीतिक तहको लेनदेन हुन्छ र एउटा समाधान देला । यसको खास असर समाजमा देखिन्छ । समाजका अवयवहरुमा देखिन्छ । जस्तो एउटा माध्यमिक तहमा स्कुल गइरहेको एउटा विद्यार्थीले यो अभिव्यक्तिपछि के सोच्छ ? उहाँको यो अभिव्यक्ति हरेक समयमा टेलिभिजमा बजिरहेको छ, युट्युबमा बजिरहेकोछ, सामाजिक सञ्जालमा आइरहेको छ भने हामी के सोच्छौँ ? एउटा शिक्षक जो पढाइरहनु भएको छ उहाँले के सोच्नुहुन्छ । पछिल्लो समय एउटा कर्मचारी जो नेतृत्वमा जान पढिरहनु भएकोछ, मेहनत गरिरहनु भएको छ, संघर्ष गरिरहनु भएको छ उहाँले के सोच्नुहुन्छ ? उहाँकै पार्टीको भर्खरै सदस्यता लिएको एउटा युवा जो यो देशको नेतृत्व गर्छु भनेर सोचिरहनु भएको छ उहाँले के सोच्नुहुन्छ ?

यसको समग्र अर्थ के हो भने उहाँले भनेको कुरा जुन आत्मविश्वासका साथ भन्नु भएको छ कि कुनै देशको सत्तापक्ष मेरो पक्षमा पार्न धाउनु भएको भन्ने कुराले अघि समग्र उदाहरण दिएका सँगसँगै हामी आम नागरिकले के सोच्ने स्थिति हुन्छ भने मेरो राजनीतिक मेहनतले मात्रै म यो जिम्मेवार ठाउँमा पुग्न नसक्ने रहेछु । त्यसपछि हामी कोप्रति जिम्मेवार हुन्छौँ ? हाम्रो आउँदै गरेको नयाँ पुस्ता नागरिकप्रति जिम्मेवार हुन्छ वा पढ्दै गरेका नयाँ विद्यार्थी कोप्रति कसरी नेतृत्वमा पुग्न सकिन्छ भनेर सोच्छ र समग्र समाजले कसरी सोच्छ भन्दा त्यसले पार्ने असर चाहिँ एकदमै दूरगामी र डरलाग्दो हुन्छ भन्ने लाग्छ । 

यो जुन अभिव्यक्ति आयो यसको दुई वटा असर देखिन्छ । एउटा त जुन देशको बारेमा उहाँले बोल्नुभयो त्यो देश र हाम्रो देशको मित्रवत् सम्बन्धमै असर पर्छ । हामी सबै कुरा छान्न सक्छौँ छिमेकी छान्न सक्दैनौँ । छिमेकीसँग हामीले मिलेर बस्नुपर्ने अनि उसका केही कुरालाई सम्बोधन गर्दै हाम्रा, स्वार्थ चाहना र लक्ष्यलाई पूरा गर्नुपर्ने हुन्छ । यो अभिव्यक्तिपछि नयाँ आएका नेतृत्व उदाहरणका लागि बालेन शाहले दिनुभएको स्टाटस हेर्ने हो भने नयाँ पुस्ताले कसरी रिस पोखिरहेको छ देख्न सकिन्छ । यो अभिव्यक्ति मित्रवत् सम्बन्धमा नै असर गर्ने खालको छ । त्यसकारण यो खेदजन्य छ । हामी आग्रह, पूर्वाग्रह नराखि यो देशको जिम्मेवार प्रधानमन्त्रीलाई प्रश्न गरिरहेका छौँ । व्यक्तिगतरुपमा उहाँका स्वतन्त्रता छन् होला हामी त्यसमा धावा बोल्दैनौँ र बोल्न चाहँदैनौँ । तर, यो देशको प्रधानमन्त्री हामीले भने अनुसार यो देशको जिम्मेवार नागरिक हो जस्ले हाम्रो तर्फबाट यो देशमा शासन गरिरहनु भएको छ । हामीले भोट दिएकोले उहाँ त्यहाँ पुग्नुभएको हो भन्ने हामीलाई विश्वास छ त्यसकारण यसले त्यस किसिमको पनि असर पार्छ । यसले हाम्रो सम्बन्धलाई पनि खल्बल्याउँछ । अनि हाम्रा आन्तरिक अरु कुराहरुलाई पनि असर पार्छ भन्ने लाग्छ । 

नेताहरु जिम्मेवार छैनन्

हाम्रो नेताहरु जिम्मेवार छैनन् । हाम्रो नेताहरुले आफ्नो जिम्मेवारी के हो भन्ने बुझ्नै सकिरहेका छैनन् । हाम्रा नेताहरुमा अध्ययनशीलता छैन । उहाँहरुले के बोल्दा त्यसले समाजमा के असर पार्छ भन्ने अनुमान गर्न सक्नुहुन्न । १९६० को दशकमा सिंगापुरका नागरिकहरुले हामी संसारको सबैभन्दा धनीमध्येको देश हुनसक्छौँ भने । १९५६/५७ तिर मलेसियाले पनि बेवास्ता गरेको सानो टापु हो सिंगापुर । त्योबेलामा संयुक्त राष्ट्र संघले एउटा मिशन पठाएको थियो । मिशनको प्रमुखले त्यसबेला यो अँध्यारो कुनो हो यहाँ केही पनि सम्भावना छैन भने । त्यस्तो सम्भावना छैन भनेको ठाउँमा १०/१५ वर्षमै सिंगापुर संसारकै सबैभन्दा शक्तिशाली देश बन्यो । नेता भनेको त्यो हो । तर, हाम्रा नेताहरुमा अध्ययनशीलताको अभाव छ । हाम्रा नेताको बिहानदेखि बेलुकासम्मको काम हेर्नुहुन्छ भने उसले कार्यकर्ता भेट्ने बाहेक केही काम गर्दैन । अर्को भनेको हाम्रो राजनीतिक नेतृत्वमा यति ठूलो दम्भ छ कि मैले जति जानेको संसारमा कोही पनि छैन र मैले जे भन्छु अन्तिम सत्य त्यही हो भन्ने छ । त्यो फेरि वडा सदस्यदेखि प्रधानमन्त्रीसम्ममा देखिन्छ ।

समग्रमा नेताहरुले बोल्ने भनेको आफ्ना कार्यकर्तामाझ हो र आलोचक माझ बोल्न नपरेपछि आफ्ना कार्यकर्तालाई जे बोले पनि हुन्छ भन्ने छ । यो पछिल्लो अभिव्यक्ति एउटा उदाहरण मात्र हो । अरु नेताहरुको पनि यस्तो थुप्रै छ । नेताहरुले आफ्नो रिसलाई नियन्त्रण गर्न नसक्ने अवस्था छ । वास्तवमा नेताहरुले दुई वटा कुरा मात्र बुझ्नु भएको छ । त्यो भनेको ताली अनि गाली । नेताहरुले दुई वटा कुरा मात्र बुझ्नु भएको छ कि त देवता कि त राक्षस । उहाँहरुले दुई वटा कुरा मात्र बुझ्नुभएको छ कि त राम्रो कि नराम्रो ।

तर, संसार यसरी ध्रुवीकृत हुँदैन । संसारमा ताली र गालीको बीचमा सत्य हुन्छ । देवता र राक्षसको बीचमा मानव हुन्छ । राम्रो र नराम्रोको बीचमा सत्यता हुन्छ । दुई वटै कुराको हामी केही राम्रो छौँ केही नराम्रो छौँ । केही ठीक छौँ । केही बेठिक । त्यसको समग्रता हामी हौँ । नेताको पनि त्यही हो । तर, नेतालाई के लाग्छ भने आफूले दिएको अभिव्यक्तिमा ताली बजेपछि सबै मान्छेले मैले भनेको पत्याए भन्ने भ्रममा नेताहरु बाँचिरहनु भएको छ । यो भ्रम हो । यो भ्रम नेताहरुमा मात्र होइन कहिलेकाहीँ यो बुढ्यौलीको पनि एउटा उदाहरण हो । यसमा मैले जे गरेँ ठीक गरेँ भन्ने हुन्छ । त्यो मानवीय स्वभाव हो । यसो हेर्ने हो भने अलिकति जिम्मेवार भएर बोल्ने भनेको ५० वर्षमुनिका मात्र छन् होला जस्तो लाग्छ ।

हामी आफूभन्दा ठूलोलाई भेट्दा आदरस्वरुप नमस्कार गर्छौँ । त्यो भनेको हाम्रो मूल्य मान्यता हो । तर, हाम्रो राजनीतिक नेतृत्वमा भने त्यो मूल्य मान्यता छैन । त्यसको असर राजनीतिक नेतृत्वमा प्रशस्त देख्न सकिन्छ ।

सबैभन्दा महत्त्वपूर्ण कुरा हामी एउटा सभ्य समाजमा बस्छौँ र बसिरहेका छौँ भन्ने हो भने तपाईँले बोलेका, गरेका, हिँडेका, खाएका, अभिव्यक्त गरेका हरेक कुराको जिम्मेवारी तपाईँले लिनै पर्छ । टेलिभिजनको स्क्रिनमा हामीले उहाँको आवाज सुनिरहेका छौँ । टेलिभिजनमा, रेडियोमा हामी सुनिरहेका छौँ । उहाँ एकैछिनपछि उहाँ होइन भन्नुहुन्छ । उहाँ मात्र होइन समग्र राजनीतिक नेताहरुको अवस्था यस्तै छ कि आफूले बोलेको कुरा यदि विवादमा पर्यो भने यो मैले हुँदै होइन भनेर भन्ने जुन एउटा प्रवृत्ति छ यो सबैभन्दा गैरजिम्मेवार प्रवृत्ति हो ।

यस्तो अभिव्यक्ति विवादमा आएपछि संसारका धेरै देशका धेरै राजनीतिक नेताहरुले सदाका लागि आफ्नो राजनीति छोडेका छन् । वास्तवमा अहिले जुन अभिव्यक्तिहरु आउँछन् र फेरि त्यो पानीको फोका जस्तो फुटेर गइरहेको छ । तर, यदि हामी जिम्मेवार नेताको अपेक्षा राख्ने हो भने यसको जिम्मेवारी लिएर उहाँले राजनीति सदाको लागि छाड्नुपर्ने हुन्छ । हिजोको दिनमा पनि यस्तै अभिव्यक्तिका कारण पद छाडेको उदाहरण छन् । शेरबहादुर तामाङको उदाहरण हामीले दिन सक्छौँ । उहाँ बाध्य पारिनु भयो वा के भयो त्यसमा नजाउँ । उहाँले विवादमा आएपछि जिम्मेवारी लिनुपर्यो । आफ्नो भनाइ, अभिव्यक्तिको जिम्मेवारी सम्बन्धित व्यक्तिले लिनै पर्छ । त्यसलाई होइन भनेर बंग्याएर जुन किसिमले हामीले प्रवृत्ति स्थापित गरेका छौँ । यो भर्त्सनायोग्य छ ।

नेताहरु सुध्रनुपर्छ

खासमा हाम्रो समाजमा हामीलाई बाँध्ने नैतिक, धार्मिक मूल्य मान्यता खस्किँदै गइरहेको छ । कानुनले हामीलाई बाँध्न सकिरहेको छैन । कानुन बनाउने संसद्को अवस्था हेर्नुहुन्छ भने पाँच वर्षमा चार वटा पनि कानुन नबनाउने स्थिति देखिन्छ । त्यो पनि त्यति सक्रिय छैन । पुरानो मूल्य, मान्यताले जुन बाँधेको थियो त्यो बिस्तारै खस्कँदै गइरहेको छ । यसको असर राजनीतिक दलका नेतामा मात्र पर्दैन यसको असर समाजका सम्पूर्ण व्यक्ति तथा अङ्गमा पर्छ । यो खालको प्रवृत्ति हाम्रो आम नेपाली समाजमा छ । 

एउटा नागरिकले राम्रो कुरालाई कदर गरेन भनेर हामी एउटा भाष्य निर्माण गरिरहेका छौँ । त्यो पनि गलत हो । हामीले हाम्रो सीमा भत्कायौँ भने जस्ले जतिखेर पनि प्रश्न गर्न पाउनु पर्छ । मलाई राम्रो भनेनन् नराम्रो मात्र भने भन्ने कुरा आफैँमा उपयुक्त तरिका होइन नेपाली नागरिकलाई इङ्गित गर्नका लागि ।

अहिलेको नेतृत्वले बिदा गर्ने गरी प्रणाली बनाउनुपर्छ । म सिँगान पुछेर, कट्टु समाउँदै गर्दा जो मान्छे नेतृत्वमा हुनुहुन्थ्यो आज मेरो नाति त्यो समयमा पुग्ने बेलामा पनि उहाँहरु नेतृत्वमै हुनुहुन्छ । पुरानो पुस्ता भनेर उमेरलाई भन्न खोजिएको होइन । तर, पाँच पटक अनि तीन पटक प्रधानमन्त्री भएको पुस्ता बिदा हुनुपर्छ । दुई पटक वा तीन पटक नेतृत्व गरिसक्नु भएको छ भने एउटा प्रणाली बसाएर बिदा हुने नै हो ।

सुधारको पहिलो प्रस्थान बिन्दु नै त्यही हो । तर, अहिले त्यो स्थिति छैन । सबैभन्दा ठूलो कुरा नेताहरु जुन पायो त्यो ठाउँमा जानु भएन । नेतालाई हामीले भाषण गर्न, कविता सङ्ग्रह सार्वजनिक गर्न, रिबन काट्न पठाएका होइनौँ । यही बारेमा एउटा किताब लेख्ने हो भने ब्रह्माण्डका सबै मान्छे हाँस्छन् । नेताहरु जे-जे उद्घाटन गर्न जानु भएको छ, जे‍-जे कुरामा अभिव्यक्ति दिन जानु भएको छ संसारका धेरै मान्छेलाई यो कमेडी हो । यो रमाइलो हो । यो हास्य-टेलिशृङ्खला जस्तो हो । त्यसकारण यो आफैँमा गलत छ ।

नेताहरुले सबैभन्दा पहिला सुधार गर्नुपर्ने भनेको जे पायो त्यही ठाउँमा नजाने । तपाईँको त्यसमा विज्ञता हो कि होइन, त्यसमा गएर देशलाई फाइदा हुन्छ कि हुँदैन भन्ने ख्याल गर्नुपर्छ । तपाईँ यो देशको मन्त्री, प्रधानमन्त्री हुँदै गर्दा तपाईँ पार्टीको प्रतिनिधि होइन । यो देशको मन्त्री वा प्रधानमन्त्री हो । तपाईँ गएका ठाउँमा राखेका अभिव्यक्तिले देशलाई के फाइदा हुन्छ, नयाँ आउँदै गरेको पुस्ताले के सिक्ने तपाईँबाट भन्ने कुरा कहिले पनि बिर्सनु भएन । 

तेस्रो कुरा भनेको तपाईँले दिने भाषण, राख्ने अभिव्यक्ति, दृष्टिकोणका बारेमा आफैँ सचेत हुनुपर्यो । बोल्दै गर्दा भावनामा डुब्दै मान्छेलाई खुसी पार्ने नाममा जे पायो त्यही अभिव्यक्ति दिनु उपयुक्त छैन । प्रधानमन्त्रीको त विज्ञ टिम पनि हुन्छ । यो प्रधानमन्त्रीलाई मात्र प्रश्न होइन । प्रधानमन्त्रीको सचिवालयलाई झन् धेरै प्रश्न हो । जसलाई हामीले तिरेको करबाट पालिरहेका छौँ उहाँहरुले के हेरेर बस्नुभयो ? के बोल्ने र नबोल्ने, कहाँ जाने र नजानेमा सुझाव दिन सक्नुहुन्न भने के काम ? यो प्रश्न समग्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पनि हो । यो देशलाई जसले शासन गरिरहेको छ यसलाई प्रश्न हो । प्रधानमन्त्री कुन ठाउँमा जाने, के अभिव्यक्ति दिने नदिने भन्ने कुरा विचार पुर्याउनुपर्छ । 

प्रधानमन्त्री वा कुनै पनि जिम्मेवार दलको नेता, नेतृत्व यो समाजको आदर्श बन्न चाहनुहुन्छ भने आफ्नो अभिव्यक्तिको बारेमा संवेदनशील हुनुस् । जे बोल्नुहुन्छ त्यसको तपाईँले शतप्रतिशत जिम्मेवारी लिनुस् । जवाफदेहिता बहन गर्नुस् । 

हाम्रो सचिवालयमा जति पनि हुनुहुन्छ अथवा प्रधानमन्त्रीलाई आफ्नो दायित्वको बारेमा त्यति थाहा छ जस्तो लाग्दैन । वा थाहा हुँदाहुँदै पनि बुझ पचाइरहनु भएको छ । एउटा सानो कुरा मन्त्रीहरु कहिलेकाहीँ कार्यालयमा गएर छड्के गरिरहनु भएको हुन्छ । वास्तवमा उहाँहरुले छड्के गर्ने होइन । त्यो अवस्था रोक्नका लागि एउटा कार्यालयमा छड्के गरेर हुँदैन नि । ७७ जिल्लामा कति कार्यालय छन् त्यस्ता त्यसकारण त्यसको नीतिमा काम गर्ने हो । कानुनलाई परिमार्जन गर्ने हो । बनेका कानुन लागू गर्ने हो । स्टण्ट गर्न हिँड्दा त्यसले धेरै कुरा भद्रगोल बनाउँछ । यो सबै जिम्मेवार हुने एउटा अवस्था हो । तब मात्र स्थितिमा सुधार आउँछ ।

(डा.दिपेश घिमिरेसँगकाे कुराकानीमा आधारित)

अन्तिम अपडेट: जेठ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डा. दिपेश घिमिरे

डा. घिमिरे त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक एवं विश्लेषक हुनुहुन्छ ।
 

तपाईको प्रतिक्रिया