राष्ट्र बैंकको ढुकुटीमा सुनका डल्लाको गन्थन मन्थन

 साउन ७, २०८० आइतबार १५:०:३२ | मिलन तिमिल्सिना
unn.prixa.net

'ब्रेक शु' भित्र उकुसमुकुस भएको केही दिनपछि ठूलो पोकोबाट बाहिर निस्केर राष्ट्र बैंकको ढुकुटीमा पुग्नेबित्तिकै सुनको डल्लोले लामो सास फेर्‍याे । टलक्क टल्केको पहेँलो ज्यान तन्काउँदै आफ्नै शैलीमा चमचम गर्न थाल्यो । सँगै रहेका अरू पहेँला डल्लाहरूले पनि त्यसै गरे । चमचम गर्दैगर्दा त्यहाँ पहिलेदेखि नै थन्किएर बसेका आफूजस्तै अरू निरस डल्लाहरूसँग उनीहरूको भेट भयो । त्यसपछि चमकधमक सकिएका पुराना र चमचम बाँकी नै रहेका नयाँ सुनका डल्लाहरूबीच बातचित शुरु भयो ।

ए तिमीहरू पनि हुल नै बाँधेर यतै आयौ ?

जहाजबाट ओरालेर ट्याक्सीमा हालिसकेका थिए । कहाँ कसको के मिलेन यता पोको पारेर ल्याए ।

सय/सय वटा डल्लाको ताँती एकैपटक विमानस्थलबाट कसरी निस्कन सक्यौ त ?

तिमीहरू ८८ किलो र ३३ किलोको हुल जसरी निस्केका थियौ, त्यसैगरी निस्कियौँ नि ।

भनेपछि ठूलाबडासँग 'सेटिङ' मिलाएर ।

त्यही त होला नि । हामीलाई त कहाँ राम्रोसँग हेर्न दिए र । कहिले के मा कोच्या छन्, कहिले के पोत्या छन् । यतै खाँदेका छन्, उतै घुसारेका छन् । राम्रोसँग टाउको उठाएर पनि हेर्न दिएनन् । अरू बेला त मान्छेले लगाएको शर्टको टाँक र पाइन्टको चेन देखिँदासमेत विमानस्थलको मेशिन टुइँय कराउँथ्यो । हामी निस्कँदा त न मेशिन करायो, न मेशिन वरपर बसेका सुरक्षाकर्मी नै । विमानस्थलमा रहेका सुरक्षाकर्मी र भन्सारका कर्मचारी मुखामुख गर्दै चुप लागेर बसे, बाहिर ट्याक्सीमा चढ्न लाग्दा अर्का राजस्वका कर्मचारीले च्याप्पै समाते । समात्नै खोजेको भए त जहाजबाट झर्नेबित्तिकै त्यतैकाले समात्न सक्थे, तर ट्याक्सीमा राखेपछि अर्काथरीले चाहिँ समाते । भन्सारवाला कर्मचारीले छाडे, राजस्ववाला कर्मचारीले समाते । विमानस्थल भित्रवाला प्रहरी चुप लागे, विमानस्थल बाहिरवाला प्रहरी कराए । 'सेटिङ' लाई 'सेट' गरेको धागो कुन मुसाले कहाँ चेट गर्‍याे कुन्नि, कर्‍यापकुरुप पारेर यता पो ल्याए भन्या ।

हामी पनि त्यसैगरी त आएका हौँ नि । कहाँ कहाँ न घुमाउन लैजालान्, के के थरी बनाएर कसकसका शरीरमा सजाउन पठाउलान् भनेर कोचिँदै, निसासिँदै फुरफुर हुँदै आइयो, अहिले यी यसरी अँध्यारा कुनामा आफ्नो चमकधमकलाई धुलो र मैलोले पुरिएर बस्नु परेको छ ।

ठिकै त भयो नि कसैको रूप सिँगार्न पनि परेन, कसैको दराज बिगार्न पनि परेन । न गहना बनाउनेले पगाल्न पायो, न ठटाउन । सरकारको ढुकुटीमा मज्जाले बस्न त पाइएको छ ।

कहाँ मज्जा हुन्छ र यहाँ पनि । कहिले सिक्का बनाउन भनेर पगाल्न लैजान्छन्, कहिले तौलन पर्‍याे भनेर छामछुम गर्छन् । हाम्रा कतिपय साथीलाई त यहाँ आउनुभन्दा पहिल्यै सुनको पित्त निकालेर केही न केहीको पित्तल बनाएर मिल्काए । 

भनेपछि हामीलाई पनि पित्तल बनाएर सामसुम पार्न बेर छैन । 

यो देशमा तस्करी गर्नेहरूको हालीमुहाली हुँदासम्म हामी पहिले सुन, त्यसपछि भनसुन गरेर पित्तल हुने सिलसिला चली नै रहन्छ साथी ।

हामीलाई यसरी घर न घाटको, थर न नामको त बनाउन पाइएन नि । तस्कर समातेर सोत्तर पार्नुपर्‍याे नि हैन र ?

तस्करको लस्कर छ, कसलाई मात्रै सोत्तर पारुन् ।

तस्करहरूको लस्करमा को को छन् त ? हामीलाई यताउता दौडाउने भरिया र विमानस्थलबाट सजिलै पास गराइदिने तल्लो तहका कर्मचारी ? 

यिनीहरू त तस्कर समातिए भनेर देखाउन मिल्ने डमीजस्ता, अर्थात् भनौँ बलीका बोका । साँच्चिकै दोषी भेट्ने हो भने त निकै माथिसम्म पुग्नुपर्छ । 

कहाँ विमानस्थलसम्म ?

हैन ।

त्यसो भए भन्सारसम्म ?

हैन ।

अध्यागमनसम्म ?

हैन ।

प्रहरीसम्म ?

त्यहाँमात्रै हैन ।

भनेपछि पहुँचवालासम्म । पहुँच नै नपुग्ने पहुँचवालासम्म को पुग्ने ?  

त्यहाँसम्म त तिनै पहुँचवालामात्रै पुग्न सक्छन् । जसले 'सेटिङ' मिलाएर तस्करी गर्छन्, तस्कर समातेको नाटक गरेर भरिया र तल्लो तहका कर्मचारीलाई मात्रै थुनाएर थामथुम पार्छन्, आफैँ तस्करीको 'सेटिङ' मिलाउँछन्, आफैँ तस्कर समात्नुपर्छ भनेर बुरुकबुरुक उफ्रन्छन् । यता मिलाउँछन्, उता सिलाउँछन्, सबै मिलेर जनतालाई जिल्याउँछन् ।

भनेपछि साथी तस्करको लस्कर सोत्तर हुनेवाला छैन ।

पञ्चायतकालदेखि शुरु भएको सुन तस्करको लस्कर अहिलेको स्वर्णकालमा झन् कसरी सोत्तर हुन सकोस् । अझै दोब्बर, चौबर हुन्छ साथी ।

तै पनि सुन तस्करीको मुख्य दोषी त खोज्नुपर्‍याे । को होला त तस्करीको नाइके ?

नेता, मन्त्री, प्रहरी, भन्सारका कर्मचारी, व्यापारी, भरिया ....?

हैन, सुन लगाउनेहरू चाहिँ हुन् मुख्य दोषी । कसैले नलगाउने, नखोज्ने हो भने सुनको महत्त्व यति धेरै हुन्थ्यो ? यसरी लुकाइछिपाइ कसैले तस्करी गर्थे ? त्यसैले चमचम परेको सुन लगाएर छमछम पर्दै हिँड्ने मान्छेहरू चाहिँ मुख्य दोषी हुन् ।

कसैले सुन र सुनका गहना नबनाउने हो भने मान्छेले लगाउँदै लगाउँदैन थिए नि । त्यसैले सुन लगाउनेहरू हैन, सुनका डल्ला र गहना बनाउनेहरू चाहिँ दोषी हुन् ।

लगाउने र बनाउने होइनन् साथी, सबैभन्दा ठूलो दोषी त हामी आफैँ हौँ । हामी नै नभइदिएको भए न मान्छेले खोज्थे, न यसको महत्त्व हुन्थ्यो, न त लुकाइछिपाइ तस्करी नै हुन्थ्यो । त्यसैले सुन तस्करीमा हामी सुनका डल्ला नै दोषी हौँ । एकअर्कालाई धारे हात लगाएर धिक्कार भनौँ र फेरि पित्तल बन्ने बाटो हेर्दै पहुँचवालालाई कुरेर बसौँ ।

अन्तिम अपडेट: फागुन १८, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया