ठेकेदारको ढिलासुस्तीका कारण पुलको ठेक्का तोडियो

 साउन ७, २०८० आइतबार २०:१९:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – ठेकेदारको ढिलासुस्तीका कारण मध्यपहाडी राजमार्गअन्तर्गत खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङ र लामीडाँडा जोड्ने पंखु खोला पुलको ठेक्का सम्झौता तोडिएको छ । 

ठेकेदार कम्पनी सिरुवा कन्ट्रक्सन प्रालिले पटक–पटक सम्झौता म्याद गुजार्दा पनि काम सम्पन्न नगरेका कारण पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय सित्खा रामेछापले पुलको ठेक्का सम्झौता तोडेको हो । सम्झौता म्याद नाघेको पाँच वर्षपछि कार्यालयले पुनः टेन्डर गर्ने गरी पंखु खोला पुलको ठेक्का अन्त्य गरेको जनाएको छ । ठेक्का तोडिएसँगै कन्सल्ट्यान्ट डिजाइनरले पुल निर्माणस्थल हेरेर फर्किएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालयले जनाएको छ । 

१५ मिटर लम्बाइ हुने पंखु खोला पुल दुई करोड २९ लाख रुपैयाँमा बनाउने गरी सिरुवा कन्ट्रक्सनले २०७२ असोज ७ गते ठेक्का सम्झौता गरेको थियो । २०७३ असोज ७ गतेसम्ममा सम्पन्न गर्ने गरी पहिलो ठेक्का लागेको पुलको अहिलेसम्म दुईतिरको पिलर ठड्याउने बाहेककाे प्रगति भएको छैन । पुल नहुँदा स्थानीय बर्खायाममा जोखिम मोलेर खोला तर्न बाध्य छन् । 

ठेकेदारले मध्यपहाडी राजमार्गको चखेवा भञ्ज्याङ–दिक्तेल सडक खण्डमा पर्ने पुलको पिलर उठाएर वर्षाैँसम्म पुल अलपत्र पारेपछि कार्यालयले ठेक्का तोड्नका लागि गएकाे मङ्सिर १८ गते सडक विभागलाई सिफारिस गरेको थियो । ठेक्का तोड्न सिफारिस भएपछि अत्तालिएका ठेकेदारले पुस २३ गतेदेखि कामलाई शुरु गराएजस्तो गरेका थिए तर पिलरको केही भाग ढलान थप गरेका ठेकेदार फागुन १९ गतेदेखि पुलको काम ठप्प पारेर सम्पर्कविहीन भएका थिए ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया