पहिराेले मुहान र पाइप बगाएपछि बाग्लुङको रिघामा खानेपानीको अभाव

 साउन १२, २०८० शुक्रबार १७:३१:४५ | रासस
unn.prixa.net

फाइल तस्बिर

बाग्लुङ - निरन्तर वर्षाका कारण खसेको पहिराेले मुहान र पाइप बगाउँदा बाग्लुङको गलकोट नगरपालिका–११ रिघाको सिङ्गो गाउँमा खानेपानीको अभाव भएकाे छ । 

रिघा खानेपानी आयोजनाको मुहान माथिदेखि झरेको पहिराेले २५ मिटर पाइप लाइनसहित मुहानलाई क्षतविक्षत बनाएको गलकोट नगरपालिका–११ का वडाध्यक्ष डम्मबहादुर श्रीसले जानकारी दिनुभयो । खानेपानीको समस्या समाधान गर्न विसं २०६८ सालमा रिघा गाउँदेखि १८ किलोमिटर टाढा गलकोट नगरपालिका–१० पाण्डपवखानीमा रहेकाे मूलबाट पानी ल्याइएको थियो । चार दिनदेखि धारामा पानी नआउँदा छ सय घरका तीन हजार बढी नागरिकले खानेपानीको समस्या भोग्नुपरेको छ ।

'चार दिनभन्दा बढी भयो गाउँमा पानी आएको छैन, पानी नआउँदा स्थानीयवासीले समस्या भोग्नुपरेको छ, पहिराेले २५ मिटर जीआई पाइप बगाएको छ', मुहानमा पनि ठूलो क्षति पुर्याएको छ', वडाध्यक्ष श्रीसले भन्नुभयो,'गाउँलेलाई तत्कालका लागि खानेपानी समस्या समाधान गर्ने प्रयास गरेका छौँ, निरन्तर वर्षा भइरहेको हुँदा अहिलेसम्म पानी ल्याउन सकिएको छैन, अहिले अस्थायीरुपमा भए पनि पानी ल्याउने प्रयास भएको छ, बर्खा सकिए पछि दीर्घकालीनरूपमा समाधान गर्ने गरि काम गर्नुपर्छ ।'

रिघा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष ताराबहादुर पुनले चार दिनदेखि पानी नआउँदा सरसफाइ र घरायासी काम गर्न समस्या भएको बताउनुभयो । पहिराेले पाइप र मुहान बगाउँदा रिघा गाउँमा १२ वर्ष अगाडिको अवस्था आएको उहाँको भनाइ थियो। अहिले आकाशे पानीको भरमा स्थानीयवासीले गर्जो टार्ने गरेका छन् ।

अध्यक्ष पुनले भन्नुभयो,'गाउँमा पानीको दुःख भयो भनेर धेरै मेहनत गरी टाढाबाट पानी ल्यायौँ, पानी आएपछि गाउँलेले सुखको श्वास फेरेका थिए, अहिले फेरि समस्या आयो, अहिले कोहीले बासी पानी खान्छन्, कोहीले आकाशको पानी खान्छन्, बर्खामा धारा सुक्खा छन्, पुरानो मूलको पानी ल्याउने कोसिस पनि गरिरहेका छौँ ।'

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया