वीर अस्पतालमा अनियमितता

 कात्तिक १२, २०७५ मंगलबार ५:४२:३८ | रासस

काठमाडौं - चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले कर्मचारीको दरबन्दीदेखि यन्त्र उपकरण खरीद प्रक्रियामा अनियमितता गरेको पाइएको छ । 
राष्ट्रिय सतर्कता केन्द्रले अनुगमनपछि सार्वजनिक गरेको छानबिन प्रतिवेदनमा कर्मचारीको दरबन्दी बढी राख्नाका साथै खरीद ऐन विपरीत मेशिन उपकरण खरीद गरेको पाइएको प्रवक्ता विष्णुबहादुर लामिछानेले जानकारी दिनुभयो ।

खरीद गुरुयोजना नबनाउने र वार्षिक खरीद योजनानुरुप समयमा खरीद प्रक्रिया अगाडि नबढाउँदा आवको अन्त्यतिर बजेट फ्रिज हुने भन्दै हतार हतारमा खरीद गर्ने गरिएको पाइएको प्रतिवेदनमा उल्लेख छ । अस्पताल सञ्चालनका लागि नियमित रुपमा आवश्यक पर्ने औषधि र सरसफाइलगायत अन्य सामग्री सोझै खरीद गर्ने प्रवृत्ति देखिएको छ । 

प्रतिवेदनमा प्रतिष्ठानका जिम्मेवार पदाधिकारीले वीर अस्पतालमा ९४ र ट्रमा सेन्टरमा एक सय जना स्वीकृतीविना दरबन्दी नियुक्त गरिएको पाइएको छ । पदपूर्तिका लागि सेवा आयोगले गर्ने कानूनी व्यवस्था भए पनि विसं २०७२ असोजदेखि आयोगबाट पदपूर्ति नभएको पाइएको छ । 

‘‘लामो समयसम्म वैधानिक बाटोबाट पदपूर्ति नगरिँदा एकातिर सेवा प्रवाहमा समस्या भएको देखिएको छ, अर्कोतर्फ कार्यरत कर्मचारीहरुको वृत्ति विकासमा समस्या देखिएको छ’’, प्रतिवेदनमा भनिएको छ, ‘‘नियमित प्रक्रियाबाट रीतपूर्वक पदपूर्ति नगरिकन करार र ज्यालादारीमा कुनै विधि प्रक्रियाको अवलम्बन नगरी स्वविवेकका आधारमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका जिम्मेवार पदाधिकारी नियुक्त भएको पाइएको छ ।’’ 

प्रतिवेदनमा यसरी नियुक्त भएका कर्मचारीको नियुक्त गर्ने पदाधिकारीबाट उनीहरुले खाएको तलबभत्ता र अन्य सुविधावापतको रकम असूल गर्न भनिएको छ । यन्त्र उपकरण खरीद गर्नका लागि खरीद एकाइ गठन गरे पनि एकाइमा विशेषज्ञ प्राविधिकभन्दा अहेब, नर्सिङ र प्रशासनतर्फका कर्मचारी बढी रहेका भेटिएको छ । खरीद एकाइमा वरिष्ठ चिकित्सकको अध्यक्षतामा खरीद महाशाखा गठन गर्न सुझाव दिइएको छ । 

अस्पतालले सार्वजनिक खरीद ऐन २०६३ र नियमावली २०६४ विपरीत सिटीस्क्यान मेशिन खरीद गरेको पाइएको छ । उक्त मेशिन खरीदमा लागत अनुमान तयार गर्दा तीन फर्मसँग दर माग गरिए पनि ती कम्पनीको आधिकारिकतासमेत नपाइएको प्रतिवेदनमा उल्लेख छ । यस्तै बाइम्ड इण्टरनेशनल र मेडिकल सोलुशनबाट खरीद गर्दा दर पेश गरेको पत्रमा दर पेश गर्ने आधिकारिक निकायको हस्ताक्षर नभएको पाइएको उल्लेख गरिएको छ । 

न्यून रकम कबोल गर्ने भन्दा बढी कबोल गर्ने बोलपत्रदाताको बोलपत्र स्वीकृत गर्ने पद्धतिसमेत छानबिनका क्रममा देखिएको केन्द्रका सूचना अधिकारी दालनाथ अर्यालले जानकारी दिनुभयो । प्रतिवेदनमा अस्पतालले आव २०७३÷०७४ मा खरीद गरिएका महत्वपूर्ण उपकरण खरीदका लागि लागत अनुमान तयार गर्दा उच्च मूल्य राखेको पाइएको उल्लेख गरिएको छ । 

प्रतिष्ठानले बोलपत्र नै नगरी टेम्पोग्राफी मेशिन रु ६ करोड ६६ लाख ६६ हजार ४३० मा खरीद गरेको र सोको वार्षिक मर्मत खर्च रु २३ लाख ५० हजार गरेको सम्झौता नियमविपरीत रहेको देखिएको छ । केन्द्रले तयार पारेको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान अयोगमा पठाइएको सूचना अधिकारी अर्यालले बताउनुभयो । वीर अस्पतालमा केन्द्रका उपसचिव यामप्रसाद भुसालको संयोजकत्वमा गत चैतदेखि असारसम्म छानबिन गरिएको थियो । 
 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया