कम्बोडियामा एमालेका नेता जाँदा कुप्रचार गरियो : महासचिव पोखरेल
मंसिर ७, २०८१ शुक्रबार
काठमाडौं – काठमाडौंको बसन्तपुर क्षेत्र पर्यटकको रोजाइको ठाउँ हो । यहाँ आन्तरिक तथा वाह्य पर्यटकहरुको बाक्लो चहलपहल हुन्छ । पर्यटकहरुलाई नगर भ्रमण गराउनको लागि भनेर यस क्षेत्रमा रिक्साहरु चल्ने गर्छन । कोही पर्यटक बोकेर गन्तव्यमा जाँदै गरेको देखिन्छ । कोही पर्यटकको प्रतिक्षामा पर्खिबसेका हुन्छन् ।
रिक्सा चढेर काठमाडौंको मनोरम दृश्यावलोकनमा रमाउन चाहने पर्यटकहरुले धानेको छ रिक्सावालाको दैनिकी । पर्यटक नआए त रिक्सा थन्क्याएर पशुपतिमा गए पनि भयो भन्नुहुन्छ रिक्साचालक मंगल तामाङ ।
काभ्रे नगरकोटका तामाङ ५० वर्षदेखि काठमाडैंमा रिक्सा चलाउँदै आउनुभएको छ । काठमाडौंमा श्रीमतीसँगै कोठाभाडा लिएर बस्नुभएको छ । छोराछोरी छैनन् । ‘रिक्सा चलाएर दैनिक हजार रुपैयाँ जतिको आम्दानी हुन्छ । कहिले राम्रो टिप पाइहाल्यो भने त दुई हजार पनि कमाई हुन्छ।’ उहाँले भन्नुभयो । तर कहिलेकाहीँ चाहिँ कमाई नै हुँदैन ।
तामाङ बिहानै ६ बजे रिक्सा लिएर वसन्तपुरमा पुग्नुहुन्छ । उहाँको अनुभवमा पर्यटकहरु बिहान घुम्न रुचाउँछन् । दिउँसोको जाम तथा धुलोधुवाँबाट आजित भएका पर्यटकहरु बिहानको खुल्ला वातावरणमा काठमाडौंको दृश्यावलोकन गर्न रमाउँछन् । यही मौका छोपेर पर्यटकलाई डुलाउन निस्कनुहुन्छ, तामाङ ।
तामाङ मात्र होइन, वसन्तपुर क्षेत्रमा रिक्सा चलाउने अरु पनि यसैगरी पर्यटकको आगमनलाई पर्खिरहेका हुन्छन् । रिक्सामा चढ्न आउने पर्यटकहरुले कसलाई रोज्छन् थाहा हुन्न । कसैले आफ्नोमा बस्नुस भनेर हानथाप गर्दैनन् । जसको अगाडि आएर पर्यटक उभिए, जसले कुरा गर्न जान्यो, उसैले छिटो पालो पाउने हो ।
यो क्षेत्रमा पुराना रिक्सा चालकदेखि भर्खरै आएका नयाँ रिक्सा चालकहरु पनि छन् । धादिङका राम केसी पनि विगत तीस वर्षदेखि वसन्तपुरमा रिक्सा चलाउँदै आउनुभएको छ । कुलेश्वर बस्दै आउनुभएका केसीले यही काम गरेर काठमाडौंमा चारजनाको परिवार पाल्दै आउनुभएको छ । दुई छोरीहरुलाई उच्च शिक्षासम्म पढाइसक्नुभएको छ ।
यसबीचमा कतिपटक कतिजना पर्यटकलाई रिक्सामा राखेर घुमाइयो भन्ने उहाँसँग कुनै हिसाब छैन ।
‘रिक्सा चढ्ने भनेको नै पर्यटकहरुले हो । नेपालीहरु त आक्कलझुक्कल मात्रै चढ्छन् ।’ रिक्साचालक दिप राई भन्नुहुन्छ, ‘वसन्तपुरबाट रत्नपार्कसम्म पुगेको डेढसयदेखि तीनसय रुपैयाँसम्म दिन्छन् । कसैले बार्गिनिङ गर्छन्, महंगो भन्छन्, कसैले थपेर पनि पैसा दिन्छन् ।’
पर्यटक भित्रिने समयमा बढी कमाई हुने गर्छ । अक्टोबरदेखि डिसेम्बर र मार्चदेखि जुनसम्म बढी पर्यटकहरु आउने हुँदा त्यतिबेला कमाइ राम्रो हुने रिक्साचालक बताउनुहुन्छ ।
शहरभित्रका साँघुरा गल्लीहरु जहाँ ट्याक्सी जान मिल्दैन, त्यहाँ जानका लागि रिक्सा नै उपयुक्त हुन्छ । रिक्सामा बसेर चारैतिरको दृश्यावलोकन गर्न पनि मिल्ने भएकाले पर्यटकको रोजाइमा यो साधन परेको हो भन्नुहुन्छ, रिक्सा चालक राम केसी ।
उहाँ भन्नुहुन्छ, ‘रिक्साले पर्यटन विस्तारमा सेवा पुर्याएको हुन्छ । पर्यटकहरु विस्तारै कुदाउन भनेर आग्रह गर्छन् ।, उनीहरुले हाम्रा सबै सम्पदाहरु नियालेर फोटो खिचेर लैजान्छन् ।’
अहिले ट्याक्सीको संख्या बढ्दै गएकोले अलि रिक्साको कमाई घटेकोे रिक्सा चालकहरु गुनासो गर्छन् । ट्याक्सी बढी भएर रिक्सा कमै चल्न थालेका हो कि भन्नुहुनछ, रिक्सा चालक केसी । त्यही भएर होला पहिलाको भन्दा अहिले खासै राम्रो कमाई छैन । पहिला ट्याक्सी कम थिए, जाम हुँदैन थियो । अहिले त जाममा पर्यो भने एउटै टिप गर्न पनि दुईचार घण्टा लागिदिन्छ । केसीले भन्नुभयो, ‘एकपटक टिप लाग्यो भने लाग्या लाग्यै हुन्छ । लागेन भने खालि पनि बस्नुपर्ने हुन्छ ।’
बिहान नौ बजेदेखि ११ बजेसम्म र साँझ ४ बजेदेखि ६ बजेसम्म मुख्य रोडमा जान मिल्दैन । ट्राफिक जाम बढ्ने भनेर ट्राफिक प्रहरीले यस्तो नियम लगाएको हो । तर यो नियमले आफ्नो व्यवसायमा समस्या भएको रिक्सा चालक गुनासो गर्छन् ।
यस्तै रिक्सा पार्किङ गर्नको लागि पनि समस्या हुने गरेको छ । ‘नगरपालिकाले बाहिर लगेर पार्किङ गर्नु भन्छ, तर पर्यटक नै नआउने ठाउँमा लगेर हामीले रिक्सा पार्किङ गरे कसरी सवारी मिल्छ ?’ केसीले भन्नुभयो ।
रिक्सा चलाउनेहरु कसैसँग आफ्नै रिक्सा छन् भने कसैले साहुको रिक्सा चलाइरहेका छन् । साहुलाई रिक्सा चलाएवापत दिनको पचासदेखि एकसय रुपैयाँसम्म भाडा दिनुपर्छ । एउटा रिक्सा किन्दा ७० हजार रुपैयाँ जति पर्छ । यसलाई महानगरपालिकामा दर्ता गरेर नम्बर पाएपछि मात्र चलाउन पाइन्छ ।
सधैं एउटै मौसम हुँदैन । विदेशी पर्यटक भए मात्र सवारी मिल्ने भएकाले आम्दानीको कुनै टुङ्गो छैन । कहिले हजार, दुईहजार रुपैयाँ पनि कमाई हुन्छ, कहिले एक रुपैयाँ पनि हुँदैन ।
रिक्सा चलाएरै ५० वर्ष कटाउनुभएका मंगल तामाङ पुराना दिनहरुलाई सम्झिंदै भन्नुहुन्छ, ‘त्यतिबेला पाँच रुपैयाँमा रिक्सा चलाइन्थ्यो । दिनमा एकसय जति कमाई भयो भने तीन दिन खान पुग्थ्यो । अहिले दिनको एकहजार कमाई भयो भने एकदिनमै ठिक्क हुन्छ ।’
५० वर्ष भयो रिक्सा चलाउन थालेको, १४ वर्षे कलिलो उमेरमा नै रिक्सा चलाउन थालेपछि अरु सीप सिक्ने मौका नै मिलेन । रिक्सा चलाएर नै जिन्दगी बित्यो । ६६ वर्षीय तामाङले भन्नुभयो, ‘अब त ज्यानले पनि साथ दिंदैन । दुई वर्ष चलाएर पशुपति जाने हो । उतै बस्नुपर्ला ।’ उहाँले मुस्कुराउँदै भन्नुभयो, ‘जिन्दगी पनि रिक्सा जस्तै हो । भाग्यमा भए सवारी मिल्छ, नत्र पैसा नै हुँदैन ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ।