मजदुरी छोडेर गाउँघरमै उद्यम : ‘पालेमा बाख्रा–पाठो, पर्दैन हिँड्न लामो बाटो’

 साउन १७, २०८० बुधबार २०:३१:४९ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – घरगाउँमा सिकर्मी र डकर्मी काममा कहलिएका व्यक्ति हुनुहुन्छ लमजुङकाे सुन्दरबजार नगरपालिका–६ ऐशेलुचौरका रेशमबहादुर मगर । उहाँले जीवनको लामो समय ‘हातमा भएको सीप र मनमा भएको ऊर्जा’ सिकर्मी र डकर्मी काममै खर्चनुभयो । घरगाउँमा कामका लागि रोजाइँमा पर्ने भएकाले पनि उहाँलाई काम र दामको कुनै कमी थिएन ।

ज्याला मजदुरीबाटै उहाँको गर्जो सजिलै टरेको थियो । तर विस्तारै घरगाउँमा काठपात र ढुङ्गामाटोको काम कम हुन थाल्यो । काम नपाएपछि कमाइ भएन । जीवन चलाउन सकसै भयो । 

पछिल्लो समय घरगाउँमा पनि पक्की घर बन्न थालेसँगै कामका लागि आफूहरूको माग हुन छाडेको रेशम बताउनुहुन्छ । ‘अहिले गाउँमै इँटा, सिमेन्टका घर बन्न थाले । काठपातको कामका साथै ढुङ्गा माटोको गारो लगाउने काम हुनै छाड्यो । घर बनाउने काममा पनि अन्यत्रबाट कम ज्यालामै काम गर्न मजदुरहरू आउन थाले । हामीहरूको माग हुनै छाड्यो । काम पाउनै गाह्रो भो’, उहाँले भन्नुभयो ।

मजदुरी छोडेर उद्यम

ढल्कँदो उमेर । तर परिवारप्रतिको जिम्मेवारी बढ्दो थियो । काम र कमाइ नभएपछि परिवारको गुजारा चलाउन रेशमले घरगाउँमै आफ्नै केही उद्यम गर्ने योजना बनाउनुभयो । विगतमा घरगाउँमै निर्वाहमुखी ढङ्गले गर्दै आएको बाख्रापालनलाई उहाँले व्यावसायिकरूपमा हाँक्ने सोच बनाउनुभयो । लगत्तै उहाँ व्यवसायिक बाख्रापालनमा लाग्नुभयाे ।

पाँच वटा स्थानीय खरी जातको बाख्राबाट उहाँले व्यवसाय शुरु गर्नुभयो । चार वर्षअघि ‘अञ्जन बाख्रा तथा बंगुर फार्म’ दर्ता गरी उहाँले व्यवसाय अघि बढाउनुभएको हो । अहिले उहाँको फार्ममा २० वटा माउ बाख्रा, पाँच वटा बोका र पाँच वटा पठ्याङ्ग्री छन् । बीचको केही समयमा उहाँको फार्ममा ७० वटासम्म बाख्रा थिए ।

‘काम पनि पाइन छाड्यो । उमेर घर्किँदे गयो । स्वास्थ्यमा पनि समस्या हुँदै गएपछि काठपात, ढुङ्गामाटोको काम गर्न गाह्रो भयो । त्यसैले बाख्रापालनमा लागेँ’, उहाँले भन्नुभयो । 

कमाइ राम्रो : घरखर्च चलाउन सजिलो

बाख्रापालन व्यवसाय उहाँलाई फापेको छ । यसै व्यवसायबाट राम्रो कमाइ भएको छ । घरखर्च चलाउन सजिलो भएको छ । ‘पहिले पनि राम्रै कमाइ हुन्थ्यो । अहिले तुलनात्मकरूपमा दुःख कम छ । कमाइ राम्रै छ । चुलाे बाल्न सजिलै भएको छ’, रेशमले भन्नुभयो ।

फार्ममा उत्पादित खसीबोका, पाठापाठी घरबाटै बिक्री हुने गरेको छ । उत्पादन स्थानीय सुन्दरबजारमै खपत हुने गरेको छ ।‘खसीबोका, पाठापाठी खरिदका लागि ‘गाहकी’ (ग्राहक) घरमै आउँछन् । बजारको कुनै समस्या छैन’, उहाँले भन्नुभयो ।

उहाँले खसीबोका प्रतिकेजी छ सय रुपैयाँ, पठ्याङ्ग्री प्रतिकेजी चार सय रुपैयाँमा बिक्री गर्दै आउनुभएको छ । फार्ममा वार्षिक तीन लाख रुपैयाँकाे हाराहारीमा आर्थिक कारोबार हुँदै आएको छ । ‘महिनाको २५/३० हजार रुपैयाँ कहीँ जादैँन । बाख्राको आहारामा पनि पैसा खर्च हुन्छ’, बाख्रा चराउनका लागि डाठीखोरी भीरमा जाँदै गर्दा बाटैमा भेटिनुभएका रेशमले भन्नुभयो ।

‘विदेश नजाऔँ, श्रम–पसिना देशमै बगाऔँ’

घरमै बाख्रपालनमा रम्नुभएका रेशमको दिनचर्या बाख्राकै कुँडोपानी, घाँसपात र हेरचाहमा बित्ने गर्छ । यसमा उहाँलाई श्रीमती देवी र दुई छोरा मनोज र अञ्जनले पनि सघाउनुहुन्छ । परिवारको साथमा बसेर कृषि उद्यम गर्न पाउँदा उहाँ खुशी हुनुहुन्छ । यस व्यवसायलाई थप विस्तार गर्दै लैजाउने उहाँको लक्ष्य छ ।

‘लोकल खरी’ जातको बाख्राका लागि यहाँको हावापानी उपयुक्त रहनुका साथै झरीमा समेत चर्न सक्ने भएकाले याे जातकाे बाख्राको सङ्ख्या बढाउँदै लैजाने उहाँको भनाइ छ । ‘आजससम्म राज्यबाट सहयोग पाएको छैन । राज्यबाट साथ, सहयोग मिलेमा यस व्यवसायलाई विस्तार गर्ने, लोकल खरी जातकै बाख्राको सङ्ख्या थप्दै लैजाने सोच छ’, उहाँले भन्नुभयो ।

चरनको व्यवस्था, घाँसपातको उचित व्यवस्थापन, व्यवस्थित खोरका साथै उन्नत जातका बाख्रा पाल्न सकेमा घरगाउँमै बसीबसी बाख्रा पालेरै सजिलै जीवन धान्न सकिने सम्भावना सुनाउनुहुन्छ उहाँ ।

‘कि लामो बाटो कि बाख्रा पाठो’ बुढापाकाको उखान स्मरण गर्दै रेशम विदेशिएका र विदेशिन खोज्ने युवाहरूलाई भन्नुहुन्छ, ‘सकेसम्म विदेश नजाऔँ । श्रम–पसिना देशकै माटोमा बगाऔँ । पालेमा बाख्रा पाठो, पर्दैन हिँड्न लामो बाटो ।’

अन्तिम अपडेट: फागुन १७, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया