उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजीकरणक...
मंसिर १८, २०८१ मंगलबार
बजारमा सुन र गोलभेँडा एकैपटक गलेर लल्याकलुलुक हुन थाले । सुनमा पानी छर्किने समिति बन्ने भएपछि सुन स्वतः सुनपानी हुने भयो । सुनपानी छर्केपछि पक्राउ परेकाहरू शुद्ध हुने भए, नपरेकाहरूको सुन र सुनखानीबाट प्राप्त आम्दानी स्वतः चोखियो । त्यसैले सुनको चर्चै सेलाउन थाल्यो । गोलभेँडाको भाउमा लागेको आगोमा आकाशे पानी दर्कियो, पानीले निथ्रुक्क भएपछि बढेको गोलभेँडाको भाउ स्वात्तै घट्न थाल्यो । अब गोलभेँडाको ठाउँ प्याजले लिएको छ । पहिले गोलभेँडे गफ गर्ने मान्छेहरू अब प्याजे फुर्तीमा अल्झन थालेका छन् ।
खेतबारीमा काम गर्न छाडेर कोर्सबुक पल्टाउन बसेको मान्छे फेसबुकमा भुल्न थालेपछि गोलभेँडा र प्याजको मात्रै होइन, गुन्द्रुकको पनि भाउ बढ्छ । गर्ने हात कम, खाने मुख धेरै भएपछि हुने यही हो । अर्थशास्त्रको सामान्य नियम । अल्छी तिघ्रो, स्वादे जिब्रोको परिणाम !
खेतबारीमा पस्न अल्छी गर्ने, अनि जिब्रोले चाहिँ मिठो मिठो खोज्न थालेपछि गोलभेँडा पनि बढ्छ, भेडा पनि बढ्छ । प्याज पनि बढ्छ, ब्याज पनि बढ्छ, स्याज पनि बढ्छ । साउ पनि बढ्छ, भाउ पनि बढ्छ । धन्न अहिले सय रुपैयाँ तिरेर भए पनि प्याज सुँघ्न पाइएको छ । यस्तै हुने हो भने हजार रुपैयाँ तिर्छु भन्दा पनि एउटा डल्लो प्याज नपाइने स्थिति आउँछ ।
यति जाबो कुरा तपाईँलाई पनि थाहा छ, मलाई पनि । तर थाहा हुँदाहुँदै पनि हामीले फेसबुकमा पहिले गोलभेँडे गफ छाँट्यौँ, अहिले प्याजे फुर्ती लगाउन थालेका छौँ । पहिले प्याज काट्दा आँसु आउँथ्यो, अहिले प्याज किन्दा आँसु आउँछ भन्ने पाराका गफ त 'डेट एक्सपायर' नै भइसक्यो । प्याजको भाउले आकाश छुन छुन खोजेपछि झन् अरू नानाभाँतीका प्याजे रोइलो, गफ र उटपट्याङ कुरा उसैगरी छ्यापछ्याप्ती हुन थालेका छन् ।
अलि पहिले प्याजले आकाश छुँदा जुवाडेहरूले तासको खालमा नोटको सट्टा प्याजको बोट राख्थे । कतिले प्याजको बोरा अँगालो हालेर सुते । कोही प्याजको गहना लगाएर मस्किए । कसैले प्याज किनेर बैंकमा थन्काए । प्याज बोकेर हिँड्दा शान बढेको, घरमा झ्वाइँय प्याज फुराउँदा फुर्ती बढेको र बढी भएको प्याज बैंकमा लगेर थन्क्याएको फुर्ती पनि धेरैले लगाए ।
घरभित्रको भान्सामा मात्र होइन, घरबाहिर होटल, रेष्टुराँमा पनि प्याज फुराइभन्दा प्याजे फुर्ती बढिरहेको छ । मःम र चिकेन चिल्लीका पारखी भन्छन् – प्याजको भाउ बढ्दा फाइदा भएको छ । पहिले पहिले मःम र चिकेन चिल्लीमा मासुको सट्टा प्याज बढी हाल्थे । अहिले प्याज त बन्द नै भएछ ।
अनि उनीहरू फेरि फेसबुकमा रोइलो गर्छन् –भेँडे खुर्सानीको पनि भाउ बढाउनुपर्याे, चिकेन चिल्लीमा प्याजको सट्टा भेँडे खुर्सानी हाल्न थाले ।
पहिले गोलभेँडा र अहिले प्याजको भाउ बढेसँगै दर्शनशास्त्री र आदर्शवादीहरू पनि थपिएका छन् । खेतमा काम गर्नुपर्छ भनेर गाउँबाट शहर पसेको मान्छे अरूलाई अर्ति उपदेश दिन्छ– प्याजको भाउ बढ्यो भनेर किन रोइलो गर्नु, आफैँले खेतमा लगाए हुन्न ? सबैले आफूलाई पुग्नेगरी प्याज फलाए त भाउ बढोस् कि घटोस् बालै भएन नि !
अनि अर्को दर्शनशास्त्री फेसबुकमै छाँट्छ – प्याजको भाउ बढ्यो भनेर किन रुवाबासी ? प्याजविना भान्सा अड्किन्छ ? प्याज नखाए मरिन्छ ?
त्यसो हो भने त प्याज मात्रै होइन, दाल नखाए नि भान्सा अड्किँदैन नि । बेसार, अदुवा र मरमसला र आलु नखाए पनि मरिँदैन । माड हालेको भात मात्रै खाए पनि हुन्छ नि । अनि मोटरसाइकल र कार नचढे पनि फरक पर्दैन । काठमाण्डौ पस्नुको सट्टा गाउँमै बसे पनि मरिँदैन । अझ मोबाइल र फेसबुक नै नछोए पनि बाँचिन्छ ।
गोलभेँडा र प्याज नखाए के हुन्छ भन्नेलाई यस्तै जवाफ दिए चाहिँ के हुन्छ नि ?
जाँड–रक्सी नखाने मान्छे नै भेट्न मुस्किल पर्ने बेला प्याज नखाए के हुन्छ भन्न त भएन नि । गोलभेँडा नि खानुपर्छ, प्याज नि खानुपर्छ ।
फेसबुकमा प्याजको रोइलो गर्न छाडेर आफैँले खेतबारी या कौसीमा प्याज रोपे के हुन्छ ? हुन्थ्यो नि हुन त । तर फेसबुकमा गफ छाँट्न जस्तो काम गर्न सजिलो छैन नि हजुर ! त्यस्तो सजिलो भएको भए म पनि यहाँ प्याजे गफ छाँट्नुको सट्टा प्याजै लगाएर बस्थेँ नि ! तपाईँ पनि फेसबुकमा प्याजे गफ पढ्न छाडेर खेतमा पस्नुहुन्थ्यो नि, होइन र ?
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।