का‌ंग्रेसले नेकपालाई पनि उछिन्यो, चियापानमा एक लाखलाई निम्ता

 कात्तिक १५, २०७५ बिहीबार १८:६:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं –  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विजया दशमी, दिपावली, नेपाल संवत, छठलगायत पर्वका अवसरमा शुक्रबार चियापान कार्यक्रमको आयोजना गर्दैछ । 

चियापान कार्यक्रममा विभिन्न क्षेत्रका करिब एक लाख व्यक्तित्वलाई निमन्त्रण गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । कांग्रेसले शुक्रबार काठमाडौं उपत्यकाको केन्द्रीय कार्यालयमा र बाँकी ७४ जिल्लामा चियापान कार्यक्रम आयोजना गरेको जनाएको छ । 

२०३३ सालमा जननायक विपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि प्रत्येक वर्ष कांग्रेसले जलपान समारोह गरी शुभकामना आदानप्रदान गर्दै आएको छ । 

कांग्रेसले यस वर्ष पनि निरन्तरता दिँदै यही कात्तिक १६ गते अपराह्न १ बजेदेखि साँझ ५ बजेसम्म केन्द्रीय कार्यालय ललितपुरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । 

कार्यक्रममा राजनीतिक दलका नेता, मन्त्रिपरिषद्का सदस्य, सांसद, संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका राष्ट्रसेवक, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति एवं व्यवसायी, पेशागत एवं बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानव अधिकारकर्मी, सञ्चार गृह, पत्रकार, गैरआवासीय नेपालीका सङ्घ–संस्थाका प्रमुखलगायतका विशिष्ट महानुभाव, कांग्रेसका सदस्य एवं शुभेच्छुकको सहभागिता रहने प्रवक्ता शर्माले बताउनुभयो । 

हरेक वर्ष विजया दशमी कोजाग्रत पूर्णिमाका दिन आयोजना हुने कांग्रेसको चियापान कार्यक्रम यस वर्ष पार्टीका नेता चक्रप्रसाद बास्तोलाको निधनको १३औँ दिन नपुगेका कारण कात्तिक १६ गते सारिएको हो । नेता बास्तोलाका गएको असोज २७ गते निधन भएको थियो । 

कांग्रेसले  २०७३ मा तत्कालीन पार्टी सभापति सुशील कोइरालाको निधनको वार्षिकी भएकाले र २०७४ मा निर्वाचनका कारण चियापान कार्यक्रम आयोजना गर्न सकेको थिएन ।

यसअघि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) ले गएको शनिबार चियापान कार्यक्रम आयोजना गरेको थियो । नेकपाले चियापान कार्यक्रममा झण्डै ५० हजार व्यक्तिलाई निमन्त्रणा पठाएको थियो । चियापानको नाममा अनावश्यक खर्च गरेको भन्दै नेकपा नेतृत्वको जनस्तरबाट आलोचनासमेत भएको थियो । ने क पाले भन्दा बढीलाई निमन्त्रणा पठाएपछि कांग्रेसको समेत आलोचना हुन थालेको छ ।
 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया