विश्व जलवायु सम्मेलन 'कोप–२९' जलवायु वित्तको नयाँ लक्ष्य निर्धा...
मंसिर ८, २०८१ शनिबार
‘ए ममी...ममी हो....कता हो क्या.... यता हेर्नु न’ तीज मान्न सहरबाट गाउँ फर्केकी छोरी हातमा मोबाइल बोकेर आमा खोज्दै गोठमा पसिन् । नयाँ मान्छे देखेर गाईबाच्छाले कान ठाडो पारे, पुच्छर हल्लाए ।
भकारो सोहोर्दै गरेकी आमाले छोरीतिर हेर्दै भनिन्, ‘कति कराउन सकेकी छोरी, एकछिन बस्दै गर न, म यति घाँसभकारो गरेर आइहाल्छु ।’
‘अरेली काँडा भन्या के हो चिनाइदिनुस् न’ छोरीले मोबाइल हेर्दै आमालाई सोधिन् ।
‘किन चाहियो अरेली काँडा ? घाँस काट्न जान लागेकी हो र ? बाख्राले त खान्छ, गाईले खाँदैन । फेरि काटेर ल्याउनै गाह्रो हुन्छ, तैले काट्न पनि सक्दिनस्, बोक्न पनि सक्दिनस् ।’ आमालाई लाग्यो छोरीले काम सघाउन खोजेको होला ।
‘घाँस काट्न जान लाग्या हैन के, तीजमा नि कसले घाँस काटोस्, त्यसमाथि आफूले घाँस काट्न पनि बिर्सिसकेँ’ छोरीले ढुक्कसँग जवाफ फर्काइन् ।
‘अनि किन चाहियो त अरेली काँडा ? बरु दतिवन खोज्न जा न बारीमा । पञ्चमीमा चाहिन्छ’ घाँसभकारो सकाएर आमा आँगनमा आइन् ।
‘आ अहिले सक्दिनँ क्या....अरेली काँडा चिनाइदिनुस् न’ छोरीले ढिपी गरिन् ।
‘अरेली काँडा ! अरेली काँडा, मोबाइलमा कहाँ हुन्छ ? वनमा पो हुन्छ त । किन चाहियो अरेली काँडा ?’
‘यी यहाँ हेर्नु न गीत’ छोरीले मोबाइल देखाइन् ।
महँगा गरगहना र लुगाफाटामा सजिएका दिदीबहिनीहरु कोही घरभित्रै कोठामा, कोही भव्य होटल र पाटी प्यालेसमा जम्मा भएर उफ्रँदै गरेका –
‘छैनन् नि साइँली हाम्रो नि कमको
घुमाउरो जुँगा मेरो प्रियतमको
अरेली काँडाले मलाई च्वास्सै....च्वास्सै
......
आइया नि बाबै लाजैले मरेँ
गाउँभरी हल्ला चलेको छ रे
अरेली काँडाले च्वास्सै....च्वास्सै’
‘हैन यस्तो गलैँचा नै गलैँचा ओछ्याएको ठाउँमा जम्मा भएर नाच्नेहरुलाई अरेली काँडाले कसरी च्वास्स बनाउँछ भन्या ? नचाहिने कुरा । खै हामीलाई दिनदिनै अरेली काँडाले घोच्छ, तै पनि च्वास्स हुँदैन त । नचाहिने ढासा’ मोबाइलको गीत हेर्दै आमा एकोहोरो बोलिन् ।
‘पहिले गाउँमा घाँस काट्न जाँदा घोचेको थियो होला नि’ छोरीले भनिन् ।
‘अनि पहिले घोच्या कुरा अहिले उफ्रँदै भन्नुपर्छ त ! अरेली काँडाले चाहिँ हैन, त्यही प्रियतमको घुमाउरो जुँगाले चाहिँ घोचेको होला । घुमाउरो जुँगा मेरो प्रियतमको भन्या छन् नि गीतमा ।’
‘आ उता जानुस्, ममी पनि के के भन्नुहुन्छ ! गीत हो क्या ममी गीत..। बरु अरेली काँडा चिनाइदिनुन क्या, पर्सि सहर फर्केपछि साथीहरुलाई भन्नुपर्छ’ छोरीले फेरि कर गरिन् ।
‘अरेली काँडा भनेको लज्जावती झारजस्तै पात, फूल र काँडा भएको बुट्यान हुन्छ क्या । भोलि मसँग घाँस काट्न हिँड चिनाइदिन्छु ।’
‘तीजको दिन पनि कोही घाँस काट्न जान्छ ? तपाईं पनि जाने होइन नि । आमाछोरी भएर रमाइलो गर्नुपर्छ’ छोरीले आमालाई मोबाइलमा अरु गीत देखाउन थालिन् ।
‘दैला मुनि घिरौँलाको बतिलो, पकाउन जाने पो पाक्छ लपक्कै.......’ यो गीतमा त केटाहरु पो धेरै नाच्दैछन् ।
‘ममी घिरौँलाको बतिलो भनेको चाहिँ के हो नि ?’
‘चिचिला भनेको होला नि । भर्खरै फूल खेल्दै गरेको कलिलो घिरौँला भनेको । बतिलो त के पकाउनु ? अलि छिप्पिन दिनुपर्छ नि । अचम्म अचम्मका कुरा गर्छन्’ आमालाई फेरि गीत मन परेन ।
‘गीत हो क्या आमा गीत । फेरि सिरियस हुनु भो ।’
‘के हो फेरि सिरेस कि फिरेस भनेको ?’
‘सिरेस हैन क्या आमा सिरियस भनेको, गीतलाई लिएर धेरै चिन्ता नगर्नुस्, गम्भीर नहुनुस् भनेको । मैले अरेली काँडा र बतिलो नबुझेजस्तै ममीले सिरियस बुझ्नु भएन । ल भइगो, अरु गीत पनि हेर्नुस् ल....’
छोरीको मोबाइलमा अर्को गीत बज्यो,
‘कानैमा झुम्का, हातैमा चुरा
मनका रहर गर्ने हो पूरा
नाच्ने हो गाउने हो
कमाउने नि हो रमाउने नि हो....’
‘यिनीहरुको कमाइ होला र पो रमाउन सके । आफ्नो त कमाइ छैन, कमाउन सके पो रमाउने’ आमा फेरि गम्भीर बनिन् ।
‘आ.... आमा फेरि निराश हुन थाल्नुभयो, ल गीत हेर्नुस् गीत’
‘मीठो मीठो गर्थ्याै बात मायालु
क्यारी काटौँला र रात मायालु
हाहै मेरो बलमा.......’
‘बीस वर्ष पाखुरी माइतीलाई दिएको कसले देख्यो र
बाँकी यो जिन्दगी अर्कैलाई दिएको कसले बुझ्यो र...’
‘ल पुग्यो गीत अहिलेलाई...अब दरको सुरसार गर्नुपर्छ' छोरीलाई तरकारी केलाउँदै गर भन्दै आमा भित्र पसिन् ।
जमाना नयाँ आयो भन्छन्, तर आमाको दिनचर्या अझै पुरानो छ । गाउँमा धेरैले गाईबस्तु पाल्न र खेतीकिसानी गर्न छाडे । हुर्केबढेका छोराछोरी गाउँमा बस्दैनन्, सबै लाखापाखा लागिसके । आमा पनि घरमा एक्लै, छोराछोरी कोही सहरमा छन् कोही विदेशमा । साथी भनेको गोठका गाईबाख्रा । तिनैसँग कुराकानी गरेर दिन सुरु हुन्छ, दिनकै हेरचाह गरेर दिन बित्छ । खेतबारीको डिल कान्लाका घाँसले मात्रै गाईबाख्रालाई पुग्दैन । वनपाखा पनि कुद्नुपर्छ ।
वनपाखामा घाँस काट्न सजिलो छैन । एकातिर अक्करिलो भीर र पहरो, अर्कातिर थरीथरीका काँडा र झार बुट्यान । काँडा पनि कति हुन् कति । अरेली काँडा, बयरका काँडा, सुँगरे काँडा, लज्जावती झारको काँडा । घाँस काट्न जाँदा त्यस्ता काँडाले कति घोचे घोचे । तर काँडाले घोचेको वास्तै भएन । अरेली र बयरका भन्दा पनि घोच्ने काँडा अरु धेरै छन् ।
बैँसमै छोडेर गएका श्रीमानको यादले घोच्छ । छोराछोरी हुर्काउँदा गर्नुपरेको सङ्घर्षले घोच्छ । घरमा एक्लै बस्नुपर्दाको व्यथाले घोच्छ । रोग र भोकले घोच्छ । महँगी र अभावले घोच्छ । आफ्ना छोराछोरीजस्तै लाखौं युवा विदेशिनुपरेको दृश्यले घोच्छ । हुनेखानेलाई खातैखात, हुँदा खानेलाई सधैँ पुर्पुरामा हात भएको वास्तविकताले घोच्छ । घोच्ने कुरा कति हुन् कति !
घरभित्र पसेकी आमा बाहिर निस्किन् । तरकारी केलाउँदै गरेकी छोरीको मोबाइलमा अर्को गीत बज्दै रहेछ –
‘जेलैमा हो जेलैमा चरी जेलैमा, मै छोरी रुँदै रुँदै बेसी मेलैमा ।....... हो मै छोरी रुँदै रुँदै बेसी मेलैमा ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।