'आरन चलाएर परिवार पालेँ, तिघ्रा–पाखुरा चलुञ्जेल काम गर्छु'

 असोज २, २०८० मंगलबार १२:३८:५५ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – म्याग्दीको बेनी नगरपालिका–४, थामडाँडाका ८० वर्षीय हर्कबहादुर विश्वकर्माकाे धेरै समय आरनमै बित्छ । सानै उमेरदेखि उहाँले आरनको काम गर्न थाल्नुभएको हो । आफ्नो बाबुबाजेले गर्दै आएको  पुर्ख्याैली पेसा भएकाले उहाँले पनि यसैलाई निरन्तरता दिनुभयाे । 

हर्कबहादुरको आरनमा फलामबाट बन्न सक्ने सबैखाले सामानहरु बन्छन् । नयाँ सामान बनाउने र पुरानालाई मर्मतसम्भार गर्ने काम पनि हर्कबहादुरले आरनमै गर्नुहुन्छ । उहाँसँग फलामबाट बन्ने हँसिया, कुटो, कोदालो, बन्चरो, दाबे, ताप्के, झाङ्गा र सिल्टेबाट बन्ने दिउरी, ताउलीलगायत सामानहरु बनाउने सिप छ । थामडाँडामा बस्ने घर भए पनि उहाँले आङ्गेबगरको छेउमा आरन चलाउनुहुन्छ । उहाँको आरनमा दैनिकजसो फलामका सामानहरु बनाउन र तिखार्न मानिसहरु आउने गर्छन् । 

हर्कबहादुरले आरन चलाएरै सातवटी छोरी र दुईवटा छोरा हुर्काउनु भयाे। उहाँले पहिले–पहिले गाउँ घरबाट अन्नपात लिएर आरनको काम गर्ने गरेको भए पनि अहिले भने ज्याला (पैसा) लिएर काम गर्नुहुन्छ । फलामबाट बन्ने सामानहरु हँसिया, कुटो, कोदालोलगायत अर्जाबेको (तिखार्ने काम) ठूलो–सानो सामान हेरेर न्यूनतम ३० रुपैयाँदेखि ७० रुपैयाँसम्म लिने गरेको उहाँले बताउनु भयाे  । नयाँ बनाएको हँसिया खरिद गर्दा सानो तीनसय र ठूलो एकहजार रुपैयाँ पर्ने गर्छ । यसैगरी कोदालो र दाबे छ–छ सय रुपैयाँ, झाङ्गा सातसय र बन्चरोको मूल्य दुईहजार रुपैयाँ पर्दछ ।

पहिलेको समयमा आरनमा फलाम र सिल्टेका सामान बनाएको वार्षिक रुपमा १०–१२ मुरी अन्न सङ्कलन गर्ने हर्कबहादुरले अहिले पनि धान, गहुँ र मकै गरेर तीनचार मुरी अन्न उठाउनुहुन्छ । अहिले फलामजन्य सामान नयाँ बनाउनुका साथै पुरानो सामानको मर्मतसम्भार गरेर मासिक १५–२० हजार रुपैयाँ कमाउने गरेको उहाँले बताउनुभयो । पहिलाको समयमा सामान बनाएको अन्नपात लिएर काम गर्नुभन्दा अहिले ज्याला लिँदा आफूलाई धेरै फाइदा भएको उहाँले बताउनु भयाे । 

मानिसलाई चाहिने दैनिक उपभोग्य सामानहरु बनाउन निकै खप्पिस हर्कबहादुरले सामुदायिक वनबाट गोल किन्ने गर्नुभएको छ । थामडाँडा क्षेत्रमा आरन चलाउने आफूहरु तीनजना रहेको बताउँदै उहाँले साथीभाइ मिलेर संयुक्त रुपमा गोल बनाउने गरेको बताउनुभयो । आरनमा फलामका सामान बनाउन र तिखार्न काठको गोल चाहिन्छ । प्रति रुख हजार–पन्ध्रसय रुपैयाँमा किनेको रुख पोलेर गोल बनाउने गरिन्छ।

आरन पेसामै जिन्दगी बिताउनुभएका हर्कबहादुरले भन्नुहुन्छ, ‘तिघ्रा–पाखुरा चलुन्जेल काम गर्ने हो, अनि छोड्छु ।’ ‘अब बिस्तारै आरनको काम गर्न छोड्ने सोच बनाएको छु । अब उमेर ढल्कँदै गएकाले समान बनाउन सकिँदैन’ उहाँले भन्नुभयो ।  

अन्तिम अपडेट: चैत ३०, २०८०

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया