कांग्रेसको जलपानमा प्रवक्ता शर्माले भने : हामी सबै आयोजक, जे छ त्यही लिउँ है !

 कात्तिक १६, २०७५ शुक्रबार १८:३९:३० | उज्यालो सहकर्मी

काठमाडौं – नेपाली कांग्रेसले शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा जलपान कार्यक्रम आयोजना गर्यो । दसैँ, तिहार तथा छठ पर्व र नेपाल सम्वतको अवसर पारेर दिउँसो एक बजेदेखि शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रम सुरु भएको थियो । 

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरु, सरकारका मन्त्रीहरु, सांसदहरु, संवैधानिक निकायका प्रमुखहरुका साथै सर्वसाधारणको बाक्लो उपस्थिति रह्यो ।  

पार्टी कार्यालयदेखिको सर्वसाधारण तथा नेता कार्यकर्ताको लाइन बल्खु पुलसम्मै देखिन्थ्यो । जलपानका लागि कार्यालयको पछिल्लो द्वारबाट प्रवेश र मुख्यद्वारबाट बाहिरिने व्यवस्था मिलाइएको थियो । 

कार्यक्रममा आउने सहभागीले कांग्रेसका शीर्ष नेताहरुसँग शुभकामना आदान–प्रदानका साथै उनीहरुसँगै सेल्फी लिइरहेको देखिन्थ्यो । जलपानका लागि आएका सहभागीलाई कांग्रेसले समोसा, नमकिन, जेरी र चियाको व्यवस्था गरेको थियो ।  

एक बजेदेखि सुरु भएको जलपानमा ३ नबज्दै समोसा र जेरी सक्कियो । कार्यक्रममा आउने पाहुनालाई खुवाउने व्यवस्था पाएको बसुन्धरामा रहेको दियालो फुडल्याण्डले जेरी र समोसा बनाउन ढिलाई गर्दा केही बेर होहल्ला नै भयो । समोसा र जेरी नबनुन्जेल कार्यक्रममा पुगेकाहरुले नमकिनमै चित्त बुझाउन पर्‍याे ।  

जलपानमा पुगेकाले तोकिएको मेनु अनुसारको खानेकुरा नपाएपछि केही बेर खाजा लिने ठाउँमा भिडभाड नै हुन पुग्यो । भिडभाड र होहल्ला नै बढ्न थालेपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा नै सम्झाउन जानुपर्‍याे ।  

मानिसहरुको घुइँचो लाग्न थालेपछि प्रवक्ता शर्माले ‘हामी सबै आयोजक, जे छ त्यही लिऔँ है’ भन्दै भिड कम पार्ने प्रयास गर्नुपर्‍याे।  लाइनमा उभिएकाहरुले ‘खानेकुराकाे के चिन्ता ? ठूलाे कुरा त शुभकामना हाे नि’ भन्दै शर्मासँग हात मिलाइरहेका थिए ।

खुवाउने व्यवस्था लिएको दियालो फुडल्याण्डले समयमा जेरी र समोसा बनाउन नसक्दा  केहीबेर कांग्रेसले आयोजना गरेको जलपान नै अव्यवस्थित बनेको हो कि जस्तो देखिन्थ्यो ।  

सहभागी धेरै हुँदा ताजा समोसा र जेरी बनाउन केही समय लागेको भए पनि केही समयपछि सामान्य अवस्थामा फर्केको थियो ।  

आगन्तुकहरुलाई पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइरालालगायतले स्वागत गर्नुभएको थियो ।  

२०३३ सालमा जननायक विपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि कांग्रेसले २०३५ सालदेखि हरेक वर्ष जलपान तथा शुभकामना आदान–प्रदान कार्यक्रम गर्दै आएको छ ।

यसअघि नेकपाले आयोजना गरेको आफ्नो चियापानमा ५० हजारलाई निम्ता पठाएको थियो भने कांग्रेसले शुक्रबारको चियापानमा झण्डै एक लाखलाई जलपानको निम्तो पठाएको थियो ।
 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया